पीएनजीलाई हराउँदै टी-२० सिरिजमा नेपालको विजयी सुरुवात – Nepal Press

पीएनजीलाई हराउँदै टी-२० सिरिजमा नेपालको विजयी सुरुवात

काठमाडौं । राजधानीमा जारी त्रिदेशीय टी—२० सिरिजमा नेपालले विजयी सुरुआत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपालले उत्कृष्ट बलिङ प्रदर्शनमा पपुवा न्यूगिनि (पीएनजी)लाई १५ रनले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको पीएनजी १९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६८ रनमा मात्रै बनाउन सफल भयो ।

जितसँगै नेपालले दुई अंक जोडेको छ । डबल राउन्ड रोविनका आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले टोलीले फाइनल खेल्नेछन् ।

नेपालको बलिङमा कप्तान सन्दीप लामिछाने र करण केसील उत्कृष्ट प्रदर्शन गरे । सन्दीपले चार ओभरमा २२ रन खर्चे र तीन विकेट लिए । भने, करणले ४ ओभरमा ४४ रन खर्चेर तीन विकेट लिएका थिए । अविनास बोहराले दुई तथा सोम्पाल कामीले एक विकेट लिए ।

पीएनजीको ब्याटिङमा नोरमान भानुवाले अर्धसतकीय इनिङ खेले । उनले २९ बलमा ५ चौका र ४ छक्कासहित ५२ रनको योगदान गरे । सेसे बाउले ३० रनको योगदान गरे । उनले २४ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गरे । चाल्स अमिनि २२, लेगा सियाका २१ र चाड सोपर १३ बाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको नेपालका लागि ओपनर कुशल भुर्तेल ११ बलमा तीन चौका र १ छक्कासहित २० रन बनाए । आसिफ शेखले रोहित पौडेलसँग दोस्रो विकेटका लागि ८० रनको साझेदारी गर्दै सर्वाधिक ४३ रन बनाए । उनले ३५ बलमा ५ चौका र एक छक्का प्रहार गरे । रोहितले २६ बलमा २ चौका र एक छक्कासहित ३४ रन बनाए ।

दिपेन्द्रसिंह ऐरी ४ रनमा आउट हुँदा कुशल मल्लले ११ रन बनाए लोकेश बम ५ रनमा पभेलियन फर्किएका थिए । करण केसी १४ रन बनाएर आउट हुदा आरिफ शेखले २१ बलमा ३ चौका र २ छक्कासहित ३१ रन बनाए । अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

पीएनजीको बलिङमा चाल्र्स अमिनि, ऐली नाओ र चाड सोपेरले समान दुई विकेट लिए भने, रिले ह्याकुरे र नोरमान भानुवाले समान एक विकेट लिए ।

भोलि हुने दोस्रो खेलमा पीएनजी र मलेसिया प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर