लगानी बोर्ड र महासंघबीच लगानी बढाउन सहकार्य गर्ने समझदारी – Nepal Press

लगानी बोर्ड र महासंघबीच लगानी बढाउन सहकार्य गर्ने समझदारी

काठमाडौं । लगानी बोर्डको कार्यालय र उद्योग वाणिज्य महासंघबीच स्वदेशी पुँजी जुटाउने र विदेशी लगानी भित्र्याउने बिषयमा सहकार्य गर्ने सम्बन्ध समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत शुशील भट्ट र उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा उपस्थित लगानी बोर्डको उपाध्यक्षसमेत रहेका अर्थमन्त्री शर्माले ठुला परियोजनामा लगानी जुटाउनु आवश्यक रहेको बताउँदै प्रतिफल योग्य परियोजना छनौट गर्न सुझाव दिए । उनले लगानी प्रतिबद्धता हुने तर नआउने प्रवृत्तिलाई सुधार गर्न बोर्डको संरचना, ऐन, कानुन, काम गर्ने व्यवहारलगायतमा संशोधन गर्नुपर्ने बताए । ठुला परियोजनाका लागि पुँजी जुटाउन स्वदेशमै पर्याप्त पैसा भएको भन्दै जनताको विश्वास जित्ने परियोजना छनौट गर्नुपर्ने उनको भनाइ छ ।
‘अहिले कुनै कम्पनीले प्राथमिक सेयर निष्काशन (आइपिओ) गर्यो भने माग भन्दा धेरै ठुलो रकमको आवेदन भइरहेको देखिन्छ । यो भनेको नेपालीसँग पैसा त छ तर प्रतिफल दिने उपयुक्त परियोजना नहुँदा लगानी जुटिरहेको छैन भन्ने हो’ उनले भने, ‘त्यसैले स्वदेशबाटै पुँजी जुटाउन पनि जनताले प्रतिफल दिन सक्छ भन्ने विश्वासयोग्य परियोजना छनौटतर्फ ध्यान दिनुहोला ।’
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत शुशील भट्टले ३ खर्बको परियोजना निर्माण प्रक्रियामा गएको र केहीले उत्पादनसमेत दिन थालेको जानकारी दिए । उनले बुझाइमा एकरुपता र सोचमा स्पष्टता कायम गराएर लगानीकर्तासँग सहकार्य गर्ने बताए । अहिले परियोजनाबारे अध्ययन गर्ने र थप सहजीकरण गर्ने समय छोट्याएको जानकारी दिए ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बोर्ड र निजी क्षेत्रको सहकार्य ऐतिहासिक भएको बताए । उनले चाँडै भारत र चीनमा लगानी सम्मेलन हुन लागेको र त्यहाँ उपस्थित भएर नेपालमा लगाानीका लागि आह्वान गर्ने जानकारी दिए । ‘बिदेशी लगानी सहज बनाउन हामीले गर्नुपर्ने प्रयास गर्नेछौं । सरकारले बारम्बार भोग्दै आएको शोधानान्तर घाटा र तरलता अभावको समस्याालाई सम्बोधन गर्नेगरी बिदेशी लगानी भित्र्याउन यो एमओयूले थप सहज बनाउने’ गोल्छाले भने ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *