धर्म श्री विजेताले दश लाख प्राप्त गर्ने (भिडिओ) – Nepal Press

धर्म श्री विजेताले दश लाख प्राप्त गर्ने (भिडिओ)

काठमाडौं । खेलकुद क्षेत्रमा नेपालकै सबैभन्दा पुरानो संस्था नेपाल व्यायाम मन्दिरले आयोजना गर्ने १६ औँ धर्म श्रीका विजेताले नगद १० लाख प्राप्त गर्ने भएका छन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले उक्त जानकारी गराएका हुन् । खेलकुदको क्षेत्रमा व्यक्तिगत विधा तर्फको यो नै सर्वाधिक पुरस्कार राशि रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । यस अघिको संस्करणमा पुरस्कार राशि ५ लाख रहेको थियो ।

२०१० मा स्थापित व्यायाम मन्दिरले संस्थापक एवं सहिद धर्मभक्त माथेमाको सम्मानमा २०४२ साल देखि धर्म श्री प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । पहिलो र दोस्रो संस्करणमा तौल समूहको आधारमा प्रतियोगिता गर्दै आईरहेकोमा तेस्रो संस्करणबाट प्रत्येक तौल समूहका विजयी खेलाडीहरूको अन्तिम प्रतिस्पर्धामा विजयीलाई धर्म श्री विजेताको रूपमा पुरस्कृत र सम्मान गर्ने परम्पराको थालनी भएको हो ।

शारीरिक सुगठनको ईतिहासमा नै अति नै प्रतिष्ठित प्रतियोगिता रहेको धर्म श्रीमा १६ औँ संस्करणमा नयाँ बिधालाई पनि थप गरिएको छ । जसमा महिला तथा पुरुष फिजिक्स बिदालाई थप गरिएको समेत आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

२०७९ बैशाख २३ र २४ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने प्रतियोगिताको ‘प्रि–जजिङ राउन्ड’ वैशाख २३ गते हुनेछ । फाइनल चरणका खेल वैशाख २४ गते हुनेछ । प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५, ८० र ८० भन्दामाथि केजी तौल समूहमा ४ सय खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।

प्रत्येक विधामा प्रथम स्थान हासिल गर्ने खेलाडीहरूको विचमा अन्तिम प्रतिस्पर्धा गराई विजयी हुनेलाई धर्म श्रीको उपाधि सहित सम्मान गरिने छ । प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले पाँच लाख, तेस्रो हुनेले दुई लाख पुरस्कार पाउनेछन् ।

यसै गरी प्रतियोगितामा चौथो हुने खेलाडीले एक लाख ५० हजार, पाँचौँले एक लाख, छैटौँले ९० हजार र सातौँ हुनेले ८० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रत्येक तौल समूहका उपविजेतालाई ४० हजार र तेस्रोलाई २५ हजार रुपियाँ प्रदान गरिनेछ । महिला फिजिक्स तर्फको विजेतालाई दुई लाख, उपविजेतालाई एक लाख र तेस्रो हुनेलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न ९० लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर