ग्लोबल आइएमई बैंकको मिथिला चित्र अंकित क्यालेन्डर सार्वजनिक – Nepal Press

ग्लोबल आइएमई बैंकको मिथिला चित्र अंकित क्यालेन्डर सार्वजनिक

काठमाडौं । ग्लोबल आईएमई बैंकले नेपालको मौलिक मिथिला संस्कृति झल्कने चित्रलाई समावेश गर्दै २०७९ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सहित बैंक सञ्चालक तथा बैंक उच्च अधिकारीहरूले आइतबार राजधानीमा आयोजित कार्यक्रममा क्यालेन्डर सार्वजनिक गरेका हुन् ।

ग्लोबल आईएमई बैंकले बर्सेनि आफ्नो क्यालेण्डरमा स्थानीय कला, संस्कृतिलाई प्राथमिकता दिँदै आएको छ । चालू वर्ष २०७८ को क्यालेण्डरमा पनि बैंकले नेपालमा रहेका विभिन्न जातजातिका गरगहना र पहिरनलाई क्यालेण्डरमा समावेश गरेको थियो । आउँदो नयाँ वर्षका लागि मध्य तराईको मौलिक संस्कृति मिथिला कलालाई समावेश गरिएको हो ।

कार्यक्रममा बैंकका अध्यक्ष ढकालले नयाँ क्यालेन्डर मार्फत मिथिला चित्रकला प्रवर्द्धन तथा कलाकारको सम्मानमा योगदान पुग् नसक्ने बताए । मुलुकभित्रका मौलिक तर प्रचार हुन नसकेको संस्कृति फैलाउने अभियानमा ग्लोबल आईएमई बैंक स्थापनाकालदेखि नै सक्रिय रहेको उल्लेख गर्दै उनले आउँदा दिनमा पनि सांस्कृतिक क्षेत्रमा बैंकले सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

करिब ३७ वर्षदेखि चित्रकलामा सक्रिय अजितकुमार साह र गीताकुमारी ठाकुरले तयार पार्नुभएको मिथिला संस्कृति झल्काउने चित्रकलालाई क्यालेण्डरमा समाविष्ट गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले जानकारी दिए ।

नेपालको मौलिक मिथिला कला तराईको घरघरमा संस्कृतिका रूपमा रहे पनि मुलुकभर क्यालेन्डर मार्फत फैलाउने तथा कलाकारको योगदानलाई सम्मान गर्ने आफूहरूको प्रयास रहेको उनको भनाइ छ ।

‘छरिएर रहेका मिथिला कलाकृतिलाई एकीकृत गर्ने हाम्रो प्रयास हो’, उनले भने, ‘यसबाट चित्रकला क्षेत्रलाई प्रवर्द्धन हुने र स्थानीय कलाकृति तथा संस्कृति संरक्षण हुने हाम्रो अपेक्षा छ ।’

कार्यक्रममा कलाकार साहले भिडियो सन्देशमार्फत मिथिला कलालाई क्यालेन्डरका निमित्त छनोट गरेकोमा बैंकलाई धन्यवाद दिएका थिए । अर्का कलाकार ठाकुरले आफूहरूको सृजना र संस्कृतिलाई मुलुकभर पुर्‍याएकोमा कृतज्ञता व्यक्त गरे । सो अवसरमा बैंक अध्यक्ष ढकालबाट कलाकारद्वयलाई सम्मानसमेत गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *