दीपेश र रशिलालाई भक्तपुर खुला ब्याडमिन्टनको उपाधि – Nepal Press

दीपेश र रशिलालाई भक्तपुर खुला ब्याडमिन्टनको उपाधि

काठमाडौं । राष्ट्रिय च्याम्पियन एपीएफका दीपेश धामी र आर्मीकी रशिला महर्जनले प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन च्याम्पियनसिपको उपाधि जितेका छन् ।

पुरुष एकल तर्फ राष्ट्रिय च्याम्पियन धामीले रिभाईभ लिजर पार्कका विश्व जुनियर नम्बर एक खेलाडी प्रिन्स दाहाललाई २१–१५, १२–२१, २१–१२ को अन्तरमा पराजित गर्दै उपाधि उचालेका हुन् । तृतीय स्थानमा पुलिसका जीवन आचार्य र विष्णु कटुवाल रहे । सेमिफाइनलमा जीवन दीपेश सँग र विष्णु प्रिन्स सँग पराजित भएका थिए ।

भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको च्याम्पियनसिपको महिला एकल तर्फ राष्ट्रिय च्याम्पियन आर्मीकी रशिला महर्जनले उपाधि हात पारिन् । विश्व जुनियर युगल तर्फ उच्च ७ मा रहेकी उनले आर्मीकै अनुमाया राईलाई २१–९, २१–१९ ले पराजित गर्दै उपाधि हात पारेकी हुन् ।

तृतीय स्थानमा आर्मीकी अमिता गिरी र पुलिसकी निता लम्साल रहे । गिरी आर्मीकै रशिला सँग र निता अनुमाया सँग पराजित भएकी थिइन् ।

करिब ब १६ लाख ८६ हजार ५ सय रुपैयाँ लागत रहेको च्याम्पियनसिपमा यु–१५ पुरुष/महिला सिंगल्समा शीर्ष स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे । पुरुष/महिला सिंगल्सका विजेताले ३५ हजार, उपविजेताले २० हजार र तेस्रोले १२ हजार ५ सयका दरले नगद पुरस्कार हात पारे ।

भेट्रान ४५ वर्षमाथि डबल्स र पुरुष डबल्समा पहिलो हुनेले ३० हजार, दोस्रोले १५ हजार र तेस्रोले ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।

चार दिने च्याम्पियनसिपमा सातै प्रदेशका जिल्ला र तीन विभागीय टोली (आर्मी/प्रहरी/एपीएफ) बाट २ सय खेलाडीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर