तीनै तहको निर्वाचनमा गठबन्धन कायम रहन्छ : माधव नेपाल – Nepal Press

तीनै तहको निर्वाचनमा गठबन्धन कायम रहन्छ : माधव नेपाल

रुपन्देही । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन तीनै तहको निर्वाचनसम्म कायम रहने बताएका छन् ।

गठबन्धन कायम नै रहने उल्लेख गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले गठबन्धनबाट नै एमाले नराम्रोसँग पछारिने बताए ।

नेकपा एमालेमा सूर्य ग्रहण लागिसकेको बताउँदै नेता नेपालले एमालेभित्रका अहङ्कारी नेताहरूकै कारण अहिलेको अवस्था आएको तर्क गरेका छन् ।

आज गुल्मीको तम्घासमा एकीकृत समाजवादी पार्टीको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी ओलीको अहङ्कारी सोचका कारण पार्टीमा सूर्य ग्रहण लागेको बताएका हुन् ।

ओलीले नेतृत्व गरेको पार्टीमा विचार, सिद्धान्त केही नभई ओलीका आसेपासेहरू मात्र रहेको आरोप लगाउँदै उनले एमाले कहिल्यै पनि जनताको पार्टी बन्न नसक्ने जिकिर गरे । हुँदा खादाको झन्डै दुई तिहाइको सरकारमा हुँदा व्यक्तिवादी सोचका कारण सत्ताबाट बाहिर रहनुपरेको बताउँदै एमाले अब धुलोमा मिल्ने समेत उनले दाबी गरे ।

नेता नेपालले नेकपा एमाले पार्टी आफूले निर्माण गरेको दाबी गर्दै अहिले ओलीले कब्जा जमाएको समेत बताए । पार्टी निर्माणमा आफ्नो भूमिका रहेको भन्दै तानाशाही तवरले पार्टी चलाउन खोजेकाले आफूहरू नयाँ पार्टी निर्माणमा लागेको समेत उनले दाबी गरे ।

ओलीको व्यक्तिवादी र अतिवादी सोचका कारण नै सिंहदरबारबाट बालकोट जानुपरेको, सरकारमा रहँदा सत्ता र शक्तिको समेत दुरुपयोग गरी भ्रष्टाचारमा लिप्त रहेको उनले आरोप लगाए ।

सम्बोधनकै क्रममा नेता नेपालले गुल्मेली जनताले जिताएर पठाएका नेता गफाडी भएको आरोप लगाएका छन् ।

कसैको नाम नलिई अध्यक्ष नेपालले गुल्मीबाट संसद्मा प्रतिनिधित्व गर्ने नेकपा एमालेका नेताहरू प्रदीपकुमार ज्ञवाली र गोकर्ण विष्टप्रति लक्षित गर्दै भने, ‘अहिले जितेर गएका नेताहरू केबल जनतालाई झुट्टा आश्वासन मात्रै दिने नेता भएका छन् ।’

‘म गुल्मी आएपछि यहाँबाट जितेर गएका नेताको बारेमा सोधेँ, तिनीहरू त आफैले पढेको स्कुल भवन जीर्ण हुँदासमेत बजेट माग नगर्ने,चुनावको समयमा झुटा आश्वासन दिने नेता पो रहेछन्’, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर