ए मेरो हजुर ४ को ट्रेलर लन्च : ९०० करोडको फिल्मसँग भिड्न अनमोल तयार ! (भिडिओ) – Nepal Press

ए मेरो हजुर ४ को ट्रेलर लन्च : ९०० करोडको फिल्मसँग भिड्न अनमोल तयार ! (भिडिओ)

काठमाडौं । अनमोल केसीको फिल्म यसै पनि प्रतीक्षित हुन्छ । त्यसमाथि सुनिल कुमार थापाको हिट सिरिज ‘ए मेरो हजुर’ को सिक्वेल । आम दर्शकको चासो हुने नै भयो । आउँदो वैशाख १ गते प्रदर्शनमा आउन लागेको यो फिल्मले कस्तो व्यापार गर्ला त ?

निर्माता सुनिल भने केही नर्भस देखिएका छन् । ए मेरो हजुर ४ सँगसँगै एउटा भारतीय चलचित्र पनि रिलिज हुने कुराले उनलाई भित्रभित्रै अत्त्याएको रहेछ । उनको यस्तो मनोदशा हिजो आयोजित ट्रेलर रिलिज कार्यक्रममा पनि प्रकट भयो । उनले ९ सय करोडको फिल्मसँग ३ करोडको फिल्मले प्रतिस्पर्धा गर्नुपर्ने भएको गुनासो गरे । यति मात्र होइन, उनले यसलाई नेपाल र भारतबीचको फुटबल म्याचसँग तुलना समेत गरे ।

‘अरू त केही छैन, तर मलाई एउटै डर छ । ९०० करोडमा बनेको चलचित्र नेपालमा ३ करोडमा बनेको चलचित्रसँग भिड्दै छ । मलाई यस्तो लाग्दै छ, नेपाल र इन्डियाको फुटबल म्याच हुँदै छ १ गते,’ थापाले भने ।

उनले थपे, ‘हाम्रै रङ्गशालामा फुटबल भयो भने हामी कसरी जान्छौँ नेपाली झण्डा बोकेर, नेपाली मन लिएर । त्यो (भारत) बलियो भए पनि एक गोल त छिराउँछु छिराउँछु भनेर जान्छौँ नि । त्यही गर्ने आँट छ मलाई । तपाईँहरूको साथ र सहयोगको अपेक्षा गरेको छु ।’

सुनिलले यसो भने लगत्तै अनमोलले माइक मागे र उनलाई हौसला दिए । आफू अभिनीत चलचित्र ‘क्याप्टेन’ को मुख्य पात्र ईशान खड्कालाई उनले सम्झिए ।

अनमोलले सुनिललाई भने, ‘दाइ फुटबल म्याचजस्तो भयो भने पनि डराउनु पर्दैन, किनभने तपाईँसँग नेपालको टिमबाट खेल्न क्याप्टेन ईशान खड्का छ ।’

अनमोलले ए मेरो हजुर ४ एउटा उत्कृष्ट चलचित्र बनेको भन्दै दर्शकले नाक खुम्च्याउन नपर्ने बताए ।

सार्वजनिक गरिएको ट्रेलरमा चलचित्र प्रेम (अनमोल) र आर्या (सुहाना) को प्रेम छचल्किएको छ । चलचित्रमा आर्यालाई नेवारी समुदायकी पात्रको रूपमा चित्रण गरिएको छ । ट्रेलर अनुसार चलचित्रले अन्तरजातीय प्रेममा आइपर्ने चुनौतीहरूलाई देखाउन खोजेको अनुमान गर्न सकिन्छ ।

ट्रेलरमा देखाइएको कोको नामक कुकुर र प्रेम पात्रले आर्याको बुवालाई झपारेको दृश्यहरू हेर्दा बलिउड चलचित्र ‘मैने प्यार किया’ र ‘कबिर खान’को सिनबाट प्रभावितजस्तो देखिन्छ ।

तस्बिरहरु : उमेश कार्की

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *