प्राथमिकताका क्षेत्रलाई सम्बाेधन गर्नेगरी बजेट ल्याउन निजी क्षेत्रको माग – Nepal Press

प्राथमिकताका क्षेत्रलाई सम्बाेधन गर्नेगरी बजेट ल्याउन निजी क्षेत्रको माग

काठमाडौं । निजी क्षेत्रका प्रतिनिधिहरूले प्राथमिकताका क्षेत्रलाई उचित सम्बोधन गर्नेगरी आगामी वर्षको बजेट आउनुपर्ने धारणा राखेका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा उनीहरूले आगामी वर्ष आकारमा भन्दा पनि प्राथमिकताका क्षेत्रलाई उचित सम्बोधन हुनेगरि बजेट आउनुपर्ने बताएका हुन् ।
बैठकमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चुस्त दुरुस्त बजेट ल्याउनुपर्ने सुझाव दिए । ठुलो आकारको बजेट ल्याएर पटक पटक सच्चाउनुपर्ने अवस्था आउन नहुने र बजेटमा डुप्लिकेशन हुन नहुने उनको भनाई छ ।
त्यस्तै उनले विकास खर्च समयमा नसकिँदा समस्या देखिने गरेको भन्दै वर्तमान सरकारले यसअघिको कमी कमजोरीलाई सच्याउँदै बजेट ल्याउनुपर्ने बताए । उनले भारतीय पर्यटकलाई मध्यनजर गर्दै भारु ५ सय र २ हजारका नोट नेपालमा चल्ने व्यवस्था गर्न सुझाव दिए ।
त्यस्तै बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सन्दीप अग्रवालले नेपालमा भारतीय पर्यटकको सहजताका भारतीय नोटको कारोबारलाई नेपालमा वैध बनाउनुपर्ने बताए । त्यस्तै उनले कृषिमा आयकर पूर्ण छुट दिनुपर्ने, आयातलाई बढावा हुने गरी उचित व्यवस्था हुनुपर्ने उल्लेख गरे ।
त्यस्तै होटेल संघ नेपालका अध्यक्ष सिर्जना राणाले पर्यटकलाई आकर्षित गर्न सरकारले आवश्यक नीति ल्याउनुपर्ने बताइन् । कोरोना प्रभावित होटेल व्यवसायलाई उकास्न सहयोग पुग्ने प्रकारको बजेट सरकारले ल्याउनुपर्ने उनले बताइन् ।
त्यस्तै नेपाल चेम्बर आफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले विदेशी मुद्राको सञ्चिती हेर्दा आर्थिक गतिविधि गर्न समस्या भएको भन्दै यसमा विशेष ध्यान दिनुपर्ने बताए । समितिले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका लागि निजी क्षेत्रबाट सुझाव लिएको हो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *