निजी क्षेत्रसँग अर्थमन्त्रीको छलफल : अहिलेसम्मकै सफल बजेट ल्याउँछौं – Nepal Press

निजी क्षेत्रसँग अर्थमन्त्रीको छलफल : अहिलेसम्मकै सफल बजेट ल्याउँछौं

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक बर्ष ०७९/८० को बजेट निर्माणका लागि उद्योग बाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सका अध्यक्ष तथा प्रतिनिधिलाई बोलाएर सुझाव लिएका छन् ।

मन्त्रालयको आग्रहमा बिहिबार महासंघ अध्यक्ष शेखर गाोल्छा र उपाध्यक्ष रामचन्द्र संघाई, उद्योग परिसंघका अध्यक्ष बिष्णुकुमार अग्रवाल र उपाध्यक्ष कृष्णप्रसाद अधिकारी तथा चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल अर्थ मन्त्रालय आएर मन्त्री शर्मासँग छलफल गरेका हुन् ।

सो छलफलमा मन्त्री शर्माले निजी क्षेत्रलाई बिश्वासमा लिएर सरकार आफ्नो जिम्मेवारी पुरा गर्ने दिशामा अघि बढिरहेको बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गरेर बजेट निर्माण थालेको र यो सरकारलाई जनताको नजरमा अहिलेसम्मकै सफल बनाउने गरी बजेट ल्याउने तयारी भइरहेको बताए।

‘मैले बजेट निर्माण थाल्नुअघि प्रधानमन्त्रीसँग छलफल गरेको थिएँ । त्यसक्रममा प्रधानमन्त्रीको नेतृत्व लिएर बजेट बनाउने हो । यो सरकारलाई अहिलेसम्मकै सफल र जनताको नजरमा लोकप्रिय हुने हिसाबले बजेट बन्छ, कुनै चिन्ता लिनु पर्दैन भनेको छु । वाहाँले पनि ठीक छ, तपाईं अघि बढ्नुस् भनेपछि बजेट निर्माण प्रकृया शुरु गरिएको हो’ उनले भने ।

बजेटमा व्यवसायीको मात्र नभई दुरदराजका सर्वसाधरणको पनि कुरा सुनिने उनले बताए । ‘अहिले तपाईंहरु (निजी क्षेत्र) सँग सुझाव लिएको छु । केही दिनमै कर्णालीदेखी झापासम्मका नागरिकको पनि सुझाव लिन्छौं र यसपटकको बजेट सबैलाई अपनत्व हुने गरी सार्बजनिक गर्छौं’ मन्त्री शर्माले भने ।

शोधानान्तर घाटा, तरलता अभाव र रेमिट्यान्समा भएको कमीलाई सरकारले नियमन गर्न खोजेपनि बाह्य कारणाले गर्दा अप्ठ्यारो परेको उनको भनाई थियो । साथै, व्यवसायीको समस्या अर्थ मन्त्रालयले हल गर्ने बताउँदै जुनसुकै समस्या लिएर आउन पनि अर्थमन्त्रीले उद्योगीलाई आग्रह गरे ।

छलफलमा उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अल्पकालिन, मध्यकालिन् र दीर्घकालिन सुझाव पेश गरे । उनले अहिलेको अर्थतन्त्रमा देखिएको समस्या सरकारको क्षमता भन्दा बाहिरको बिषय भएकाले नियन्त्रण गर्न कठिनाइ भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *