यौनकर्मलाई तुच्छ नजरले नहेरौं, म भए ‘पीर’ को भिडिओ हटाउने थिइनँः सुरक्षा पन्त(भिडिओ) – Nepal Press

यौनकर्मलाई तुच्छ नजरले नहेरौं, म भए ‘पीर’ को भिडिओ हटाउने थिइनँः सुरक्षा पन्त(भिडिओ)

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तले यौनकर्मीलाई तुच्छ दृष्टिले हेर्न नहुने बताएकी छन् । नेपालमा धेरैजसो यौनकर्मी महिला बाध्यतावश यो पेशामा लागेको आफूले पाएको उनको भनाइ छ ।

गायक प्रकाश सपूतको ‘पीर’ गीतका विषयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन् । सुरक्षाले पीर गीतले यौनकर्मलाई देखाउनु गलत नभएको तर्क गरिन् ।

उनले भनिन्, ‘म आफैंले नेपालका यौनकर्मीको बारेमा अध्ययन गरेको थिएँ । करिब ४० देखि ६० हजार महिला र पुरुषहरू यस व्यवसायमा हुनुहुन्छ । उहाँहरूले बाध्यतावस यो पेशा अंगाल्नुभएको हो । यसलाई हेय दृष्टिकोणले हेरिनु हुँदैन ।’

गीत-संगीतले समाजको चित्रण गर्ने भएकाले ‘पीर’ गीतमा यौनकर्म देखाउनु कुनै आपत्तिजनक नभएको उनको भनाइ छ ।

‘यो पेशा नेपालमा अवैध छ । तर, अवैध कुराहरूलाई कलाकारितामा उठान गर्नुपर्ने आवश्यक हुन्छ,’ उनले भनिन् ।

आफू प्रकाश सपुतको ठाउँमा भएको भए ‘पीर’ गीत सम्पादन नगर्ने उनले बताइन् ।

सुरक्षाले भनिन्, ‘सर्जकले आफ्नो कुरा अरुलाई सुनाउने मात्र होइन, अरुको कुरा पनि सुन्नुपर्छ । त्यही अनुसार प्रकाश सपूतले गीतको भीडिओ सम्पादन गर्नुभएको हो । तर, म उहाँको ठाउँमा भएको भए पुरानो भिडियो हटाउने थिइनँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *