उद्योगहरुमा आलोपालो विजुली, लोडसेडिङ ब्यूँतिएको भन्दै चिन्तामा उद्योगी – Nepal Press

उद्योगहरुमा आलोपालो विजुली, लोडसेडिङ ब्यूँतिएको भन्दै चिन्तामा उद्योगी

काठमाडौं । विश्व बजारमा विद्युतको मूल्यवृद्धिसँगै नेपाल विद्युत प्राधिकरणले भारतसँग बिजुली किन्न नसकेपछि ठूला उद्योगहरूमा विजुली कटाैति हुन थालेकाे छ । तर, लोडसेडिङ सुरू भएको पत्र भने दिन नमिल्ने सम्बन्धित जिल्लाका विद्युत प्राधिकरणले उद्याेगीलाइ बताएका छन् ।

पञ्चकन्या स्टिलका महाप्रबन्धक देवेन्द्र शाहले बिहानबाट बत्ती नभएको कारणले उद्योग नै बन्द भएको बताए ।

उनले भने, ‘उद्योगमा एकपटक बत्ती झ्याप्प हुँदा १० लाखभन्दा धेरैको क्षति हुन्छ । मैले आज बिहान प्राधिकरणको मणिग्राम कार्यालयललाई बत्ती जानुको कारबारे सोध्दा विद्युत अभाव भएको भने । तपाईंहरूले लोडसेडिङ सुरु गर्नु भएको छ । हामीलाई लिखित रूपमा नै लोडसेडिङ सुरु भयो भनेर पत्र दिनुस् भन्दा उहाँले सरकारले नै लोडसेडिङ मुक्त घोषणा गरेकाले लिखित दिन मिल्दैन ।’

उद्योगीहरूले बत्ती जानेआउने समय थाहा भए पूर्वतयारी गर्न सजिलो हुने बताएका छन् । शाहले भने, ‘१ हप्तामा कति दिन बत्ती दिने हो त्यो कुरा प्रष्ट हुनुपर्छ । ५ दिन मात्रै दिए पनि नियमित हुनुपर्‍यो । यसरी लोडसेडिङ गर्नु भन्दा दिनमा यती घन्टा बत्ती आउछ भनेर हामीलाई भन्दिए सहज हुने थियो ।’

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेशलाल श्रेष्ठले पनि विभिन्न जिल्लाबाट लोडसेडिङ सुरू भएको भन्दै फोन आउन थालेको बताए ।

उनले भने, ‘उद्योगमा बत्ती काटेर हैरानी पारिरहेको छ भन्ने हामीलाई जिल्लाहरूबाट खबर आउन थालेको छ । उद्योगमा बत्ती कटिएको बारेमा हामीले प्राधिकरणसँग छलफल गरिरहेका छौं ।’

वीरगञ्ज, भैरहवा, हेटौंडा, बुटवल, विराटनगरलगायतका औद्योगिक सहरमा ठूला उद्योगको बत्ती काटिएको उपाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
एभरेष्ट रोलिङ मिल्सका महाप्रवन्धक अरुण गोहिकले हिजोदेखि गएको बिजुली आज दिउँसो १ बजे मात्रै आएको बताए ।

उनले भने, ‘हिजोबाट उद्योग बन्द भएको छ । आज दिउँसो १ बजे त आयो तर भोल्टेज एकदम कम छ । उद्योगलाई चाहिने जति पठाइएको छैन ।’

कोरोना महामारी र लकडाउनले थला परेको उद्योगमा अहिले प्राधिकरणले पीडा थपेको उद्योगीहरूले बताएका छन् ।

के भएर आयो समस्या ?

नेपालले भारतसँग प्रतियुनिट ४ देखि ८ रूपैयाँमा विजुली किन्ने गर्थ्यो । तर, अहिले एकैपटक बढाएर २० रूपैयाँ पुर्‍याएको प्राधिकरणको भनाइ छ । नेपालले महंगो मूल्य तिर्न तयार भए पनि भारतले हिजो बिजुली दिएको छैन ।

प्राधिकरणका अनुसार हिजो १० रूपैयाँ भारु थपेर ९४ वटा ब्लकमा विद्युत खरिद गर्न आवेदन गरिए पनि भारतले मागेजति दिएन ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भारतबाट नेपालमा बिजुली किन्न नसकेकाले उद्योगलाई आलोपालो गरेर विद्युत दिएको बताए ।

उनले भने, ‘युक्रेन र रुसको युद्धको कारण विश्व बजारमा नै हिजोबाट एक्कासी विजुलीको मूल्यवृद्धि भएको हो । हामीले प्रतियुनिट ३ भारुदेखि धेरैमा २० भारुमा विद्युत खरिद गर्ने गरेका छौं । त्योभन्दा धेरै पैसा तिरेर विद्युत किनेको छैन ।’

भोलिसम्ममा भारतसँग विद्युत खरिद हुने र सबै समस्या सामाधान हुने उनले बताए ।

विश्व बजारमा पेट्रोलियम पदार्थ र कोइलाको मूल्यवृद्धिपछि भारतीय बजारमा बिजुलीको मूल्यवृद्धि भएको हो । तर, भारु २० रुपैयाँ अर्थात नेपाली ३२ रुपैयाँ प्रतियुनिटमा बिजुली किनेर प्राधिकरणले सर्वसाधारणलाई १० रुपैयाँ प्रतियुनिट बिक्री गरिरहेको छ । भने उद्योगलाई त्यो भन्दा धेरैमा विद्युत बिक्री गर्ने गरेको छ ।

ऊर्जामन्त्री पम्फा भुसालले भने नेपालको मागअनुसार विद्युत रहेको भन्दै विद्युतीय चुलो प्रयोग गर्न आग्रह गर्दै आएकी छिन् । अधिकांश सार्वजनिक कार्यक्रममा मन्त्री विदेशबाट आउने ग्यासभन्दा स्वदेशमा नै उत्पादन भएको विद्युत खपत वृद्धि गर्न पर्ने बताउने गरेकी छिन् । तर, उद्योगहरूले विद्युत नभएको भन्दै उद्योग सञ्चालन गर्न नसकेको बताइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *