गीतकार दर्पण राई पक्राउ, ४८ लाखभन्दा धेरै ठगीको आरोप – Nepal Press

गीतकार दर्पण राई पक्राउ, ४८ लाखभन्दा धेरै ठगीको आरोप

काठमाडौं । ४८ लाखभन्दा बढी रकम ठगीको आरोपमा गीतकार दर्पण राई पक्राउ परेका छन् । उनलाई भैंसेपाटीबाट प्रहरीले पक्राउ गरेर महाराजगन्ज वृत्तमा पुर्‍याइएको छ । उनीमाथि ४८ लाख रुपैयाँको चेक बाउन्सको उजुरी परेको थियो ।

महानगरीय प्रहरी वृत्त, महाराजगन्जमा पाँच महिनाअघि बर्सु गुरुङले १३ लाख रुपैयाँको चेक बाउन्सको उजुरी हालेकी थिइन् । त्यस्तै डेढ महिनाअघि छेवाङ लामाले ३५ लाख रूपैयाँको चेक बाउन्सको उजुरी हालेका थिए । राईले दिएको चेक नसाटिएपछि दुवै पीडित प्रहरीसमक्ष पुगेका थिए । नेपाल इन्भेस्टमेन्ट बैंकले पर्याप्त रकम नरहेको भन्दै चेक बाउन्स गरिदिएको थियो ।

उजुरी परेपछि फरार राईलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । पीडितहरूका अनुसार राईले अन्य धेरैलाई लाखौं ठगेका छन् । ४० लाख ठगिएका एक पीडितले भोलि राईविरुद्ध अर्को उजुरी हाल्ने तयारी गरिरहेको स्रोतले बताएको छ ।

पीडितहरुका अनुसार राईले बानेश्वर चोक, एभरेस्ट बैंकपछि घर भएको, चक्रपथमा शेर्बो सहकारी र म्यानपावर कम्पनी भएको र कतारमा क्यापिटल पेन्टिङ ग्रुप पनि आफ्नो स्वामित्वमा रहेको बताउँदै ठग्ने गरेका थिए । आफूहरु ठगिएको थाहा पाएपछि खोज्दै जाँदा राईले भनेको कम्पनी र घरको ठेगाना सबै झूटो पाइएको पीडितहरूको गुनासो छ ।

राईले आफूलाई व्यवसायी र गीतकारको रुपमा चिनाउने गरेका थिए । उनका ‘तिम्ले बाटो फेर्यौ अरे’ बोलको गीतको भाग एक र भाग दुई चर्चित छन् ।

उजुरीबारे बुझ्दा राईले नेपाल प्रेससँग भने, ‘कारोबार गरियो, मैले गरेकै हो । तर, खाएरै हिँड्ने भन्ने होइन । ढिलो छिटो भएको मात्रै हो । केही समयका लागि मैले माफ माग्दै आएको हो । मैले म्यानेज गरिरहेकै थिए । तर, उहाँहरूले उजुरी हाल्नुभएछ ।’

राईको ‘तिम्ले बाटो फेर्‍यौ अरे’ भाग एक र भाग दुई गीत चर्चित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *