सुर्खेत उद्योग वाणिज्य चुनावमा खड्का पक्ष विरुद्ध शेखर, एमाले र समाजवादीको गठबन्धन ! – Nepal Press

सुर्खेत उद्योग वाणिज्य चुनावमा खड्का पक्ष विरुद्ध शेखर, एमाले र समाजवादीको गठबन्धन !

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको आगामी चैत २६ गते तोकिएको निर्वाचनमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का प्यानलको विपक्षमा कांग्रेस नेता शेखर कोइराला निकट व्यवसायी, नेकपा एमाले र समाजवादीका व्यवसायीहरूको गठबन्धन बन्ने सम्भावना देखिएको छ ।

निर्वाचनमा नेपाली कांग्रेसको संस्थापन इतरको प्रजातान्त्रिक व्यवसायी समूह, नेकपा एकीकृत समाजवादीको नेपाल राष्ट्रिय उद्योग व्यवसायी संघ र नेकपा एमालेको नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ, निर्वाचनमा एक भएर निर्वाचनमा होमिने संकेत गरेका हुन् ।

वीरेन्द्रनगरमा आज पत्रकार सम्मेलन गर्दै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत, पूर्व अध्यक्ष टेकबहादुर भण्डारी, एमाले निकट व्यवसायी महासंघका डम्बरप्रसाद तिवारी र समाजवादी निकट संघका कृष्णप्रसाद सुवेदीद्वारा सामुहिकरुपमा हस्ताक्षरित विज्ञप्तिमा संघलाई सम्पूर्ण व्यापारी व्यवसायीहरूको साझा र छाता संस्था बनाउन र तोकिएको मितिमा निर्वाचन गर्न सामूहिक ऐक्यबद्धता जाहेर गरेका छन् ।

‘संघले पार्टीले आदेश दिए अवज्ञा गर्छौँ । व्यवसायीहरूले नै नेता र पार्टी पालेको हो । पार्टी र नेता रिसाउँदा पनि आफूहरूलाई कुनै फरक पर्दैन ।’ अध्यक्ष रावतले भने ।

संघको तोकिएको निर्वाचन कुनै पनि हालतमा नरोकिने भन्दै निर्वाचन गर्नका लागि आवश्यक सम्पूर्ण डकुमेन्टहरू निर्वाचन समितिलाई बुझाइसकेको उनको भनाई थियो ।

संघमा असन्तुष्ट पक्षहरूबाट लगाइएको ताला नखुल्दा पनि निर्वाचन नरोकिने अध्यक्ष रावतले प्रस्ट पारे ।

उनले आगामी चैत १० गतेसम्म संयुक्त व्यवसायी समूहका सबै उम्मेदवारहरूको नाम सार्वजनिक हुनेसमेत जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *