८ महिनामा ११ खर्ब बढी व्यापार घाटा, करिब २ खर्बको पेट्रोलियम पदार्थ आयात – Nepal Press

८ महिनामा ११ खर्ब बढी व्यापार घाटा, करिब २ खर्बको पेट्रोलियम पदार्थ आयात

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ८ महिनामा मुलुकको वैदेशिक व्यापार १४ खर्ब ५६ अर्ब ४८ करोड बराबर पुगेको छ । गत आर्थिक वर्षको पहिलो ८ महिनामा १० खर्ब २४ अर्ब ७६ करोड रुपैयाँ रहेको वैदेशिक व्यापार चालु आवको ८ महिनामा ४२.१३ प्रतिशतले बढेको हो ।

भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार मुलुकको व्यापार घाटा अघिल्लो आवको पहिलो ८ महिनाको तुलनामा चालु आवमा ३४.५० प्रतिशतले बढेर ११ खर्ब ६० अर्ब रुपैयाँभन्दा धेरै पुगेको छ । गत आवको फागुन मसान्तसम्म यस्तो घाटा ८ खर्ब ६३ अर्बमाथि थियो ।

त्यस्तै २०७७/७८ को पहिलो ८ महिनाका तुलनामा चालु आवको निर्यात ८२.९० प्रतिशतले बढेको छ । गत आवको फागुन मसान्तसम्म ८० अर्ब ७७ करोड बराबरको निर्यात भएकामा चालु आवको समीक्षा अवधिमा १ खर्ब ४७ अर्ब बढीको निर्यात भएको छ ।

चालु आवको ८ महिनाका अवधिमा नेपालको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थको आयात धेरै छ । यस आवको फागुन महिनासम्म मुलुकमा ८७ अर्ब ८३ करोड रुपैयाँ मूल्यभन्दा धेरैको डिजेल भित्रिएको छ । त्यस्तै एलपी ग्यास ४० अर्ब ६४ करोड बराबरको तथा पेट्रोल ३९ अर्ब ८५ करोड बढीको भित्रिएको विभागले जनाएको छ ।

त्यस्तै नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ । विभागको तथ्याङ्कअनुसार ४१ अर्ब ४० करोड मूल्यभन्दा बढीको भटमासको तेल निर्यात भएको छ । सो अवधिमा ३५ अर्ब ३३ करोड मूल्य बराबरको पाम तेल निर्यात भएको छ ।

भारतबाट ८ खर्बको बस्तु आउँदा १ अर्बको मात्रै निर्यात

चालु आवको फागुनसम्म नेपालले भारतबाट करिब ७ खर्ब ९७ अर्ब मूल्य बराबरका वस्तु आयात भएको छ । भने १ खर्ब १८ अर्ब मूल्य बरोबरका वस्तु निर्यात भएको छ । जसअनुसार नेपालको व्यापार घाटा भारतसँग मात्रै ६ खर्ब ७८ अर्बभन्दा धेरै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *