पत्रकार जीवन पराजुलीले ल्याए चलचित्रसम्बन्धी पुस्तक ‘क्लोज–अप’ – Nepal Press

पत्रकार जीवन पराजुलीले ल्याए चलचित्रसम्बन्धी पुस्तक ‘क्लोज–अप’

काठमाडौं । चलचित्र पत्रकार जीवन पराजुली गैर आख्यान पुस्तक ‘क्लोज–अप’ लिएर पाठकमाझ आएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको थियो ।

पुस्तकलाई अभिनेत्री करिश्मा मानन्धर, निर्देशक तथा अभिनेत्रीद्वय दीपाश्री निरौला र झरना थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, निर्देशक नारायण पुरी, कवि एवं फिल्म निर्देशक राजेन्द्र शलभ लगायतले संयुक्त रूपमा विमोचन गरेका हुन् ।

फिल्म निर्देशक तथा समीक्षक दीपेन्द्र लामाले सम्पादन गरेको पुस्तक ३ सय ६३ पृष्ठको छ । ‘अनि सुरु भयो नेपाली चलचित्र उद्योग’, ‘राजेश हमालः युगदेखि युगसम्म’, ‘भारतबाट नेपाली चलचित्र: सिमानाले अलग, भाषा र सिर्जनाले एक’, ‘साँघुरो छ आधा आकाश’, ‘चलचित्र निर्देशनमा चौथौँ अंग’ र ‘अन्त्यमा’ गरी ६ खण्डमा विभाजित पुस्तकमा विभिन्न कालखण्ड र ती कालखण्डका चलचित्रकर्मीहरूको अनुभव, भोगाई र संघर्षलाई समेटिएको छ ।

कार्यक्रममा निर्देशक राजेन्द्र शलभले पुस्तकमाथि टिप्पणी गरेका थिए । उनले ‘क्लोज–अप’ एउटा राम्रो दस्ताबेज भएको बताउँदै नेपाली चलचित्रलाई नजिकबाट जान्न र बुझ्न चाहनेहरूका लागि उपयोगी हुने धारणा राखे ।

उनले पुस्तकको अर्को भाग पनि आउन आवश्यक रहेको र छुटेका अन्य पात्रहरूका अनुभवलाई समेट्न लेखकलाई सुझाएका छन् ।

कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धरले डिजिटल युगमा धेरै कुराहरू इन्टरनेटबाट थाहा पाउन सकिने भए पनि किताबमा जस्तो विश्वास आफूलाई अरुवा नलाग्ने बताइन् ।

‘किताबको आफ्नै महत्त्व छ । आजका दिनमा पनि म विश्व सिनेमाको बारेमा जान्न किताब नै खोज्ने गर्छु । किनकि, किताबमा म वास्तविकता भेट्छु । ‘क्लोज–अप’ले पनि नेपाली चलचित्रलाई थप नजिकबाट चिनाउनेछ भन्नेमा विश्वस्त छु,’ उनले भनिन् ।

कार्यक्रममा लेखक पराजुलीले पुस्तकमा धेरै पाटो र पात्रहरू समेटिन छुटेको भए पनि चलचित्रको इतिहास झल्किने घटना र सम्बन्धित पात्रका व्यक्तित्वलाई समेट अरू पुस्तकहरू पनि क्रमशः लेख्दै जाने बताए ।

उनले भने, ‘मैले लेखनको एउटा तिर्खा मेटाउन चलचित्र क्षेत्रको केही अंशलाई मात्रै टिपेर पुस्तकको आकार दिएको छु । यो एउटा सुरुवात मात्र हो । त्यस्ता धेरै व्यक्तित्वहरू हुनुहुन्छ, जसले नेपाली चलचित्रलाई आजको स्थानसम्म पुर्‍याउन योगदान दिनुभएको छ । उहाँहरूका बारेमा लेख्न बाँकी नै छन् ।’

ठुलोपर्दा मिडियाले प्रकाशन गरेको पुस्तकलाई किताब यात्राले अनलाइन बजार व्यवस्थापन गरेको छ ।

युरोपका विभिन्न देशहरू र थाइल्यान्ड, भारत, दक्षिण कोरिया, अस्ट्रेलिया लगायतका देशहरूमा पनि सार्वजनिक गर्ने तयारी गरिएको कार्यक्रममा बताइयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *