बार्सिलोनाको रङ फेरेका यी तीन ‘आगन्तुक’ हरू – Nepal Press

बार्सिलोनाको रङ फेरेका यी तीन ‘आगन्तुक’ हरू

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गतको एल क्लासिकोमा बार्सिलोनाले सोमबार बिहान रियल म्याड्रिडलाई ४-० गोलले हरायो । रियल म्याड्रिडको मैदानमा भएको खेलमा पायर एमरिक औबामेयाङले दुई तथा फेरान टोरेस र रोनाल्ड अराउजोले एक-एक गोल गरे ।

एल क्लासिकोमा रियल म्याड्रिडसँग लगातार पाँच खेलको हारपछि बार्सिलोनाले पहिलो जित हात पारेको हो । सन् २०१८ को सेप्टेम्बर २८ तारिखमा बार्सिलोनाले रियल म्याड्रिडलाई ५-१ गोलले हराएयता एल क्लासिकोमा कुनै एक टोलीले सबैभन्दा बढी गोल गरेको हो । घरेलु लिगमा २८ खेलबाट ५४ अंक जोडेको बार्सिलोना तालिकाको तेस्रो स्थानमा रहेको छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको २९ खेलबाट ६६ अंक छ । सेभिलको २९ खेलबाट ५७ अंक छ ।

बार्सिलोना १२ खेलयता अपराजित छ । गत जनवरी २२ तारिखमा कोपा डेल रेमा एथलेटिको विल्वाओसँग ३-२ गोलले पराजित भएयता बार्सिलोनाले ९ जित र ३ बराबरीको नतिजा निकालेको छ । पछिल्ला लगातार तीन खेल जितेको छ ।

युरोपियन च्याम्पियन्स लिग र कोपा डेल रेको प्रिक्वाटरफाइनल तथा स्पेनिस सुपर कपको सेमिफाइनलबाटै बाहिरिएपछि बार्सिलोनाको यो लय देखिएको छ । खासगरी बार्साको पछिल्लो लयमा तीन व्यक्ति जोडिएका छन् । प्रशिक्षक जाभी तथा प्ले मेकर फेरान टोरेस र स्ट्राइकर पायर एमरिक औबामेयाङ ।

सिजनको मध्यतिर जाभी प्रशिक्षकका रूपमा भित्रँदा बार्सिलोना घरेलु लिगमा नवौँ स्थानमा रहेको थियो। उनी आएपछि नै बार्सिलोना तीन प्रतियोगिताबाट बाहिरिए पनि जाभीले बार्सालाई पुरानै लयमा फर्किरहेका छन् । यसै सिजनको बीचमा भित्र्याइएका औबामेयाङ र टोरेसले बार्सिलोनाको रङ बदलिरहेका छन् । खेल जित्ने, धेरै गोल गर्ने , अपराजित यात्रामा रहनेजस्ता बार्साका पुराना दिनहरू फर्किएका छन् । इङ्लिस क्लब आर्सनलबाट भित्रिएका औबामेयाङले गत फेब्रुअरी ६ तारिखमा बार्साका लागि डेब्यू गरेका थिए । त्यसयता स्पेनिस क्लबका लागि उनले घरेलु लिगमा ७ खेलमा ७ गोल र एक असिस्ट गरेका छन् ।

युरोपा लिगमा २ खेल खेल्दै २ गोल गरेका छन् । बार्सिलोनाका पछिल्ला तीन खेलमा औबामेयाङले लगातार गोल गरिरहेका छन् ।

भ्यालेन्सियाविरुद्ध भएको ला लिगा खेलमा उनले ह्याट्रिक गरेका थिए । फ्रान्समा जन्मिएर गाबोनका लागि अन्तर्राष्ट्रिय फुटबल खेलिरहेका ३२ वर्षीय औबामेयाङले बार्सिलोना आउनुअघि आर्सनलका लागि पाँच सिजन खेल्दै १ सय ६३ खेलमा ९२ गोल गरेका थिए । बोरुस्सिया डर्टमन्डका लागि पनि पाँच सिजन खेलेका उनले बुन्डेस लिगा क्लबका लागि २ सय १३ खेलमा एक सय ४१ गोल गरेका थिए ।

यता टोरेसले पनि बार्सिलोनामा गत जनवरी २ तारिखमा डेब्यु गरेका थिए । जाभीले बार्सिलोना सम्हालेपछि उनले म्यानचेस्टर सिटीबाट खेलिरहेका २२ वर्षीय स्पेनिस प्ले मेकरलाई भित्र्याएका हुन् । टोरेसले ला लिगामा ८ खेल खेल्दै ४ गोल र ३ असिस्ट गरेका छन् । युरोपा लिगमा एक गोल र दुई असिस्ट तथा कोपा डेल रेमा एक गोल गरेका छन् । टोरेसले पछिल्ला तीन खेलमा ३ गोल र दुई असिस्ट गरेका छन् ।

सोमबार बिहान रियल म्याड्रिडविरुद्ध उनले एक गोल र एक असिस्ट गरेका थिए । मार्च १६ तारिखमा गलासतारेविरुद्ध भएको युरोपा लिग भिडन्तमा उनले एक गोल असिस्ट गरेका थिए । मार्च १३ तारिखमा उनले ला लिगाअन्तर्गत ओसासुनाविरुद्ध २ गोल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर