विश्वकप लिग-२ : यूएईसँग भिड्दै नेपाल, लगातार हार टार्ने चुनौती
काठमाडौं । आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो खेलमा नेपालले सोमबार घरेलु टोलीसँग खेल्दैछ ।
नेपाली समयअनुसार सवा ११ बजे सुरू हुने खेलमा नेपालसामु लगातार हार टार्ने चुनौती रहने छ । पहिलो खेलमा पपुआ न्युगिनी (पीएनजी) लाई २ विकेटले हराएको नेपालले दोस्रो खेलमा १६९ रनको लक्ष्य पूरा गर्न नसक्दा यूएईसँग ४८ रनको हार व्यहोरेको थियो ।
आफ्नो तेस्रो खेलमा नेपालले फेरि यूएईसँग खेल्न लागेको हो । शृंखलाअन्तर्गत हरेक टोलीले प्रत्येकसँग २/२ खेल खेल्नुपर्ने छ । यूएईले पहिलो खेलमा पीएनजीलाई ७ विकेटले र दोस्रो खेलमा नेपाललाई हराएको थियो । तेस्रो खेलमा भने पीएनजीसँग पराजित भएको थियो । यूएईले शृंखलाको अन्तिम खेलमा नेपालसँग खेल्न लागेको हो ।
प्रतियोगितामा १७ खेलबाट २० अंक भएको यूएई दोस्रो स्थानमा छ । १० खेलबाट १० अंक भएको नेपाल सहभागी ७ टोलीमध्ये छैटौँ स्थानमा रहेको छ ।