प्रकाश सपूतको विवशता कि चतुर्‍याइँ ? – Nepal Press

प्रकाश सपूतको विवशता कि चतुर्‍याइँ ?

काठमाडौं । एक हप्तामै करोड भ्यूजको रेकर्ड राखेको गीत ‘पीर’ को भिडिओलाई गायक प्रकाश सपूतले हिजो अचानक ‘प्राइभेट’ गरिदिए । उनले दृष्य सम्पादनसहित नयाँ भिडिओ अपलोड गरेका छन्, तर मौलिक भिडिओ हटाउनु उनको बाध्यता हो या चतुर्‍याइँ भन्ने प्रश्न उब्जेको छ ।

तीन करोडभन्दा कम जनसंख्या भएको देशको एउटा सर्जकले सात दिनमै एक करोड भ्यूज पाउनु चानचुने सफलता होइन । विश्वव्यापी दर्शक भएका अंग्रेजी र हिन्दी भाषाका चर्चित गीतहरूले पनि करोड भ्यूजका लागि केही दिन कुर्नुपर्छ । योभन्दा पहिले विष्णु माझीको ‘चरी जेलैमा’ ले १२ दिनमा करोड भ्यूज पाउँदाखेरि त्यसलाई आश्चर्यजनक उपलब्धी मानिएको थियो । तर, ‘चरी जेलैमा’ को उक्त रेकर्डलाई ‘पीर’ ले सहजै निलिदिएको छ ।

अपलोड गरिएको भोलिपल्टैदेखि गीत निरन्तर नेपाल ट्रेण्डिङको शीर्षस्थानमा थियो । भ्यूज मात्र होइन, गीतमा आएका लाइक्स र कमेन्टहरूको संख्या पनि कीर्तिमानी थिए । साता दिनमा ३८ हजारभन्दा बढी प्रतिक्रिया आउनु पनि अविश्वसनीय हो । भिडिओ प्राइभेट गरिएसँगै दर्शकका ती सबै प्रतिक्रिया ओझेल परेका छन् । दृष्य सम्पादनसहित नयाँ अपलोड गरिएको गीतले ६ लाखभन्दा बढी भ्यूज पाएको छ भने चार हजारभन्दा बढी कमेन्ट आएका छन् । यसअघिजस्तै अहिले आएका कमेन्टहरू पनि प्रकाश सपूतको पक्षमा नै छन् ।

यति धेरै रुचाइएको भिडिओलाई प्राइभेट गर्ने तीतो निर्णय गायक सपूतले किन लिए त ? गीत पुनः अपलोड गर्ने क्रममा फेसबुकमा स्टाटस लेख्दै उनले कुनै दबाब वा प्रभावमा यो निर्णय नलिएको दाबी गरेका छन् ।

छोटो समयका लोकप्रियताको शिखरमा पुगेका गायक सपूतलाई ‘पीर’ ले नयाँ उचाइ दिएको छ । उनका हरेक सिर्जना जबरजस्त हुन्छन् भन्ने मान्यता थप बलियोसँग स्थापित बनेको छ । यो उनका लागि चुनौती पनि हो । सपूतका आगामी सिर्जनाहरूबाट पनि निकै ठूलो अपेक्षा राखिनेछ ।

सपूतले लेखेका छन्, ‘नियोजितरूपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषयहरू विषयान्तर भैरहने जस्तो भयो । त्यसैले कुनै दबाब र प्रभावले नभएर यो बीचमा आएका तपाईंको प्रतिक्रिया, अग्रज स्रष्टा सर्जकहरूको सुझाव, लेखक, पत्रकार, समिक्षकहरूको समीक्षा र सम्बन्धित समूहको आत्मसम्मानलाई मनन गर्दै त्यो दृश्य सम्पादन गरिएको छ र नयाँ भिडिओ रि- अपलोड गरिएको छ ।’

यद्यपि, निकटस्थहरूका अनुसार सपूतले यो निर्णय लिनुमा उनलाई आएको दबाब र थ्रेट नै प्रमुख कारण हो । दोस्रो कारण चाहिँ कसैलाई दु:खी नतुल्याउने उनको भित्री चाहना ।

गीत अपलोड भएलगत्तै माओवादी जनयुद्धलाई विद्रूपीकरण गरेको भनेर सो पार्टीका केही नेता-कार्यकर्ताले सार्वजनिक आलोचना गरेका थिए । आलोचना मात्रै होइन, कतिले घुमाउरो धम्की नै दिए । दुई दिनपछि माओवादीनिकट जनसंगठनहरूले संयुक्त विज्ञप्ति जारी गरी गीतमाथि आपत्ति जनाए । तर, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गीतलाई लिएर उत्तेजनामा आउनुपर्ने कारण नभएको भन्दै नरम अभिव्यक्ति दिए । प्रचण्डको अभिव्यक्तिपछि विवाद साम्य भएको जस्तो देखिएको थियो ।

यति धेरै रुचाइएको भिडिओलाई प्राइभेट गर्ने गर्ने तीतो निर्णय गायक सपूतले किन लिए त ? गीत पुनः अपलोड गर्ने क्रममा फेसबुकमा स्टाटस लेख्दै उनले कुनै दबाब वा प्रभावमा यो निर्णय नलिएको दाबी गरेका छन् ।

बाहिरीरूपमा विवाद साम्य भएको देखिए पनि गायक सपूतलाई भित्रभित्र ‘थ्रेट’ जारी रहेको बुझिएको छ । विभिन्न माध्यमबाट उनलाई गीत हटाउन चेतावनी आइरहेपछि सपूतले दृष्य सम्पादन गर्ने निर्णयमा पुगेका हुन् । गीतको भिडिओबाट यौनकर्मीको दृष्य हटाइएको छ । अरू दृष्यहरू यथावत छन् ।

सर्प मर्‍यो, लठ्ठी भाँच्चिएन !

लिरिक्सका आधारमा यो कुनै राजनीतिक गीत होइन । शब्दहरूले यस्तो भिडिओको माग पनि गरेका थिएनन् । तर, गीतसँगै भिडियोले छुट्टै कथा भन्ने शैली सपूतले विकास गरेका छन् । भिडियोमा उनले माओवादी जनयुद्धमा ज्यानको बाजी लगाएर लडेकाहरू अहिले कस्तो दुरावस्थामा छन् भन्ने चित्रित गरिदिएका थिए । बहस सिर्जना भएको भिडिओले हो, गीतले होइन ।

यस गीतलाई लिएर माओवादीका पूर्वनेता डा. बाबुराम भट्टराईले भने गीतलाई लिएर सकारात्मक प्रतिक्रिया दिएका थिए । तर, माओवादी केन्द्रका कतिपय नेता-कार्यकर्ताले गीतलाई पचाउन सकेनन् । देहव्यापारको दृष्यले जनयुद्ध लडेका महिला कार्यकर्ताहरूको अपमान भएको बुझाइ उनीहरूको थियो । यो भिडियोले सन्निकट चुनावमा माओवादीलाई क्षति पुर्याउन सक्ने चिन्तासमेत उनीहरूमा थियो । कतिले त माओवादीलाई चुनावमा हराउने ग्राण्ड डिजाइनअनुरूप सपूतको काँधमा राखेर बन्दुक चलाइएको समेत दाबी गरे ।

गीतको दृष्य सम्पादन गरेर सपूतले एकप्रकारले ‘सेफल्यान्डिङ’ गरेका छन् । उनी नचाहिँदा स्क्यान्डलमा रमाउने गायक होइनन् । चर्चाका लागि उनले स्क्यान्डलको सहारा लिनु पनि पर्दैन, सिर्जनशीलता नै काफी छ । ‘पीर’ विवादमा आउँदा उनी साँच्चै पिरोलिएका थिए, भलै दर्शक/स्रोताको अधिकतम समर्थन उनलाई थियो । उनले विवादबाट फाइदा लिनेभन्दा पनि बाहिर निस्किनु ठीक ठाने ।

सपूतले गीतको भिडिओ सम्पादन गरेपश्चात माओवादीहरू उनीसँग खुसी भएका छन् । उनीहरूले ‘जित’ को महसुस गरेका छन् । खासमा यो प्रकाश सपूतकै जित हो । एक कदम व्याक भएर उनले उत्पन्न विवादलाई साम्य गरे भने गीतलाई थप प्रचारमा ल्याउन सफल भए ।

त्यसो त व्यवसायिकरूपमा उनलाई अझै पनि घाटा छैन । एक हप्तामा करोड भ्यूज जाँदा गीतले युट्यूवबाट मात्रै अनुमानित १५ लाख रूपैयाँ आम्दानी गरिसकेको छ । नयाँ भिडिओ अपलोड भएपछि फेरि गीतले नयाँ रफ्तार लिइसकेको छ । दोस्रो भिडिओ पनि केही दिनमा करोड भ्यूज पुग्नेमा शंका छैन । टिकटकमा यो गीत उधुम भाइरल छ । त्यताबाट जेनेरेट हुने अम्दानीको बेग्लै पाटो हुन्छ । यसप्रकार पीरले पैसा छापेको छ भन्दा फरक पर्दैन । करोड भ्यूज गइसकेको गीतबाट आउने पैसा र फेरि नयाँ भिडिओ राख्दा आउने पैसाको हिसाबकिताबमा सपूतलाई अलिकति घाटा लागेको हुन सक्छ । तर, त्यो ठूलो कुरा होइन ।

कलाकार सबैको साझा हुन चाहन्छन् । एउटा राजनीतिक दलसँग वैरभाव बोकेर हिँड्नु कुनै पनि कलाकारका निम्ति सुखद कुरा हुँदैन । त्यस हिसाबले सपूतले सुरक्षित अवतरण गर्न चाहेका हुन् । उनले दिन खोजेको सन्देश गइसकेको पनि छ । युट्यूवका अधिकांश नेपाली दर्शकले भिडिओ कम्तीमा एकपटक हेरिसकेका थिए । देहव्यापारको दृष्य हटाइए पनि माओवादी जनयुद्ध लडेकाहरूको दुरावस्थाबारे नयाँ भिडिओले पनि प्रशस्त चित्रण गरेकै छ ।

सपूतले गीतको भिडिओ सम्पादन गरेपश्चात माओवादीहरू उनीसँग खुसी भएका छन् । उनीहरूले ‘जित’ को महसुस गरेका छन् । खासमा यो प्रकाश सपूतकै जित हो । एक कदम व्याक भएर उनले उत्पन्न विवादलाई साम्य गरे भने गीतलाई थप प्रचारमा ल्याउन सफल भए ।

छोटो समयका लोकप्रियताको शिखरमा पुगेका गायक सपूतलाई ‘पीर’ ले नयाँ उचाइ दिएको छ । उनका हरेक सिर्जना जबरजस्त हुन्छन् भन्ने मान्यता थप बलियोसँग स्थापित बनेको छ । यो उनका लागि चुनौती पनि हो । सपूतका आगामी सिर्जनाहरूबाट पनि निकै ठूलो अपेक्षा राखिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *