पल प्रकरणमा मुछिएका दुर्गेश र सरोज ! यस्तो छ दुवैको बयान – Nepal Press

पल प्रकरणमा मुछिएका दुर्गेश र सरोज ! यस्तो छ दुवैको बयान

काठमाडाैं । पल शाहविरुद्ध जाहेरी परेसँगै उनका फ्यानहरुको तारो बनिरहेका दुई पात्र हुन् गायकद्वय दुर्गेश थापा र सरोज वली । उनीहरुले नाबालिग गायिकालाई उक्साएर पलविरुद्ध षडयन्त्र रचेको भन्दै फ्यानहरु आक्रोशित छन् ।

आफू पक्राउ पर्नुअघि पल स्वयमले दुर्गेश र सरोज लगायतलाई आरोपित गरेका थिए । उनीहरुले आफूविरुद्ध षडयन्त्र रचेको प्रमाण भन्दै पलले केही अडियोहरु पनि सार्वजनिक गरेका थिए । उक्त अडियोमा दुर्गेश, सरोज लगायतले नाबालिग गायिकासँग कसरी पललाई विहेका लागि वाध्य पार्ने भनेर रणनीति बनाइरहेका सुनिन्छन् ।

पल पक्राउ परेसँगै प्रहरी अनुसन्धानमा सरोज र दुर्गेश पनि स्वभाविकरुपमा तानिए । यद्यपि, उनीहरु दुवैसँग प्रहरीले बयान लियो । तर, दुवैले घटनाबारे कुनै नयाँ रहस्योद्घाटन गरेका छैनन् । नाबालिगले सुनाएका आधारमा मात्रै आफूहरुले न्यायका लागि लड्न सल्लाह दिएको भनाइ उनीहरुको छ ।

नवलपुर जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगपत्रमा सरोज र दुर्गेशको बयान पनि समेटिएको छ । उक्त बयानमा उनीहरुले जबरजस्ति करणी र आर्थिक बार्गेनिङ लगायतका विषयमा जानकारी नरहेको बताएका छन् ।

‘तामा पितलु’ गीतको सुटिङपछि आफू लगायतको सुटिङ युनिट गैंडाकोट रिसोर्टमा आएको र दिनभरको कामले थाकेको हुँदा आफू सरासर कोठामा गई सुतेको दुर्गेशले बताएका छन् । उनको भनाइ अनुसार गायिका आफूलाई बुकिङ गरेको कोठामा सुत्न गएकी थिइन् भने पल लायतका व्यक्तिहरु मादक पदार्थ सेवन गरी बाहिर बसिरहेका थिए ।

‘निजहरु कुन कोठामा सुते मलाई थाहा भएन,’ दुर्गेशले भनेका छन् ।

अर्को दिन काम विशेषले आफू काठमाडौं फर्किएको उनले बताएका छन् । आफूलाई पलका म्यानेजर बताउने कृष्ण जोशीले प्रतिवादी र पीडितको सम्वन्धको बारेमा जानकारी गराएको उनको भनाइ छ । पीडितले पनि जबरजस्ति करणी गरेको भनि बताएको हुँदा आफू लगायत सम्राट चौलागाईं, सरोज वली, योगेश काजी लगायतले कानूनी कारवाहीको सुझाव दिएको दुर्गेशले बताएका छन् ।

‘अन्य आर्थिक कुराको बार्गेनिङका बारेमा मलाई केही जानकारी भएन,’ उनलाई उद्वृत गर्दै अभियोगपत्रमा भनिएको छ ।

यस्तै सरोज ओलीले पनि प्रतिवादी तथा पीडितको सम्बन्धको विषयमा आफूलाई कृष्ण जोशीले नै बताएको उल्लेख गरेका छन् ।

‘पीडित गायिका डिप्रेसनमा गएको र मर्छ भनेर कृष्ण जोशीले मलाई २०७८ सालको असारमा बताएका थिए,’ उनले भनेका छन् । पछि पिडितले पनि आफूहरुसँग प्रतिवादीले यौन शोषण र ह्यारेसमेन्ट गरेको बताएको सरोजले जानकारी दिएका छन् ।

‘प्रतिवादीले पीडितलाई वास्ता नगरेपछि पीडित रुंदै हिँडेको र पीडितलाई बिभिन्न वहाना बनाई गाली गरेर बेईजत गर्दिन्छु भनि ह्यारेशमेन्ट समेत गर्दा रहेछन्,’ वलीले भनेका छन्, ‘पछि पीडितले सहन नसकी आफ्ना साथीहरुलाई उक्त पीडा सुनाएकी रहेछिन ।’

त्यसपछि आफूहरुले कानूनी कारवाही गर्दा राम्रो हुन्छ भनि सल्लाह दिएको सरोजको भनाइ छ ।

दुर्गेश र सरोज दुवै पहिले पलसँग सन्निकट थिए । दुर्गेशलाई पलकी बहिनीले भाइटिकासमेत लगाइदिएकी थिइन् । सरोजले निर्देशन गरेका थुप्रै म्युजिक भिडियोमा पलले काम गरेका छन् । तर पछिल्लो समयमा विभिन्न कारणले उनीहरुबीच दुरी बढेको थियो ।

दुर्गेश थापाको बयानः

म बिगत १०/१२ बर्षदेखि म्युजिक भिडियो समेतमा काम गर्दै आईरहेको छ । कामको शिलशिलामा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाह र पीडित परिवर्तित नाम २०७८ गैडाकोट ५ (क) सँग चिनजान भएको थियो ।

म प्राय म्युजिक भिडियो सुटिङको लागि हिँडिरहने भएकोले म काठमाडौंबाट मिति २०७७।१२।०७ गते चितवन जिल्लाको सौराहा भन्ने स्थानमा आई प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाह तथा पीडितसँग भेट भई ‘तामा पित्तलू गीतको भिडियो सुटिङ सकेर हामीलगायत पीडित समेतको सुटिङ्ग युनिट बेलुका गंैडाकोट रिसोर्टमा आई दिनभरी सुटिङको कामले थाकेको हुँदा म कोठामा गई सुतेको हो । पीडित आफुलाई बुकिङ गरेको कोठामा सुत्न गएकी हुन् । काजीश श्रेष्ठ, पल शाह भन्ने पूर्णविक्रम शाह समेतका व्यक्तीहरु मादक पदार्थ सेवन गरी वाहिर बसिरहेका थिए ।

निजहरु कुन कोठामा सुते मलाई थाहा भएन । अर्को दिन ८ गते बिहान म काम विशेषले काठमाडौं गएको हो । २०७८ सालको अषाढ महिनामा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहको म्यानेजर कृष्ण जोशीले प्रतिवादी र पीडितको सम्बन्धको वारेमा जानकारी गराएकोमा सो सम्बन्धमा पीडितसँग बुझ्दा मलाई प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले विवाह गर्छ भनि फकाई फुल्याई सुटिङको समयमा अन्यत्र गएको अवस्थामा समेत जवरजस्ती करणी गरेको भनि बताएकी हुँदा म सम्राट चौलागाई, सरोज ओली, योगेश काजी समेतले हामी न्यायको पक्षमा छौं । तिमीलाई निजले जवरजस्ती करणी गरेको भए कानूनी कारवाही गर्दा राम्रो हुन्छ भनि सल्लाह दिएको मात्र हो । अन्य आर्थिक कुराको बार्गेनिङको बारेमा मलाई केही जानकारी भएन ।

सरोज वलीको बयान

प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाह र पिडित नाम परिवर्तित २०७८ गैडाकोट ५ (क) मेरो कम्पनीले उत्पादन गरेको म्युजिक भिडियो तथा गीतहरुमा अभिनय तथा स्वर दिएका छन् । यसै क्रममा प्रतिवादी तथा पिडितको सम्बन्धको बिषयमा मिडियाहरुमा हल्ला चलेको थियो । पीडित गायिका डिप्रेशनमा गएको र मर्छ भनि कृष्ण जोशीले मलाई २०७८ सालको अषाढमा बताएका थिए ।

केही दिनमा कृष्ण जोशी, सम्राट चौलागाई, र पिडित अनामनगरको सिलौटो रेष्टुरेन्टमा बसेका रहेछन् । उक्त स्थानबाट कृष्ण जोशीले मलाई फोन गरी हामी पिडितसँगै छौं । दुर्गेश थापालाई लिएर हामी भएको ठाउँमा आउनु, पिडितलाई समस्या परेको रहेछ भनि बोलाएकोले म र दुर्गेश थापा सोही स्थानमा गई निजहरुलाई भेटी कुराकानी हुँदा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले पीडितलाई काठमाडौंमा १÷२ दिनमा हुने सुटिङलाई काठमाडौंबाहिर कहिले पोखरा कहिले नवलपरासी (पूर्व) मा लगि हेरचाह र ख्याल गरेजस्तो गरी आफुमाथि यौन शोषण गरेको भनि पीडितले बताएकी थिइन् ।

प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले पीडितलाई वास्ता नगरेपछि पीडित रुंदै हिँडेको र पिडितलाई बिभिन्न वहाना बनाई गाली गरेर बेईजत गर्दिन्छु भनि ह्यारेशमेन्ट समेत गर्दा रहेछन् । पछि पीडितले सहन नसकी आफ्ना साथीहरुलाई उक्त पीडा सुनाएकी रहेछिन् । त्यसपछि हामीले कानुनी कारवाही गर्दा राम्रो हुन्छ भनि सल्लाह दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *