पार्टटाइम बलर ज्ञानेन्द्र मल्ल- चाहना की आवश्यकता ? – Nepal Press

पार्टटाइम बलर ज्ञानेन्द्र मल्ल- चाहना की आवश्यकता ?

काठमाडौं । ज्ञानेन्द्र मल्ललाई बलिङ गरिरहेको देख्नु क्रिकेट हेरिरहेकालाई अनौठो लाग्न सक्छ ।

नेपाली क्रिकेट टोलीका सबैभन्दा अनुभवी यी क्रिकेटर अक्सर अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा की त फिल्डरका रुपमा देखिएका थिए की ब्याट्सम्यानका रुपमा । तर आजकल उनी बलिङ गर्न थालेका छन् ।

विश्वकप लिग-२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक शृंखलाअघि श्रीलंकामा भएको अभ्यास खेलहरुमा ज्ञानेन्द्रले बलिङ गरेका थिए र विकेट पनि लिएका थिए ।

शृंखलाको पहिलो खेलमा बुधबार पपुआ न्युगिनीविरुद्ध ज्ञानेन्द्रलाई कप्तान सन्दीप लामिछानेले बलिङ गर्न पठाएका थिए । दुई ओभर बलिङ गरेका ज्ञानेन्द्रले एक विकेट पनि लिए ।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ज्ञानेन्द्रले यसअघि बलिङ गरेको देखिएको थिएन । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि उनले हालसम्म बलिङ गरेका छैनन् । लिस्ट एमा उनले एक खेलमा बलिङ गरेका थिए । त्यस खेलमा २ ओभर बलिङ गरेका ज्ञानेन्द्रले एक विकेट लिएका थिए । तरपनि उनले आफुलाई बलरको रुपमा उतार्न चाहेनन् ।

प्रश्नहरु स्वभाविक छन्, ज्ञानेन्द्रले अब बलर पनि हुने इच्छा गरेका हुन् या उनलाई बलिङ गर्न पठाइएको हो ? यदि बलर बन्ने उनको इच्छा हो भने त्यस्तो के आईपर्‍यो की उनले बलर बन्न सोचे ?

नेपाली क्रिकेट टोलीका ब्याट्सम्यानहरुलाई हेर्ने हो भने प्रायः बलिङ पनि गर्न सक्ने क्षमता राख्छन् । नियमित वा पार्टटाइम बलरका रुपमा उनीहरुले विकेट पनि लिएका छन् । पारस खड्का नियमितजसो बलिङ पनि गर्थे । शरद भेषावकरले पनि बलिङ गर्दै निर्णायक भूमिका खेलेका नतिजाहरु पनि छन् ।

पछिल्लो समय दीपेन्द्रसिंह ऐरी नियमित बलरजस्तै बनेका छन् । प्रायः नियमित बलरहरुले विकेट लिन नसकिरहेको अवस्थामा पार्ट टाइम बलरलाई उतार्ने गरिन्छ । कहिलेकाहीँ ब्याटिङ जम्न सकेन भनेपनि बलिङमार्फत पार्ट टाइम बलरले आफ्नो भूमिका देखाउन सक्छन् टोलीमा ।

अलराउन्ड प्रदर्शन गर्न सक्ने क्षमता भयो भने टोलीमा स्थान बनाउन पनि सजिलो हुन्छ । त्यसो त पछिल्लो समय नेपालमा तल्लोक्रमसम्म बलिङ अलराउन्डरहरु देखिन थालेका छन् ।

करन केसी, सोमपाल कामी, सन्दीप लामिछानेजस्ता बलरहरु माथिल्लोक्रमका ब्याट्सम्यानहरु जम्न नसकेको अवस्थामा पनि टोलीलाई सम्हाल्ने गरि अघि सरेको देखिन्छ । अलराउन्डरका रुपमा रहेका आरिफ शेख पनि राम्रो लयमा छन् ।

करिब १५ वर्ष सिनियर अन्तर्राष्ट्रिय क्रिकेट खेलि सकेका ज्ञानेन्द्रको नजर किन बलिङतिर गयो ? यो त उनैलाई थाहा होला । तर एउटा तथ्य भने स्थापित गरेका छन्- उनी बलिङ गरेर विकेट पनि लिन सक्ने क्षमता राख्न सक्छन् । एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन र अर्धसतक बनाउने ब्याट्सम्यानका रुपमा रहेका ज्ञानेन्द्रबाट भने पर्याप्त रनको अपेक्षा रहने नै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर