विदेश पुर्‍याएर नेपाली अलपत्र पार्नेलाई इन्टरपोलको सहयोगमा कारबाही गर्छौं : श्रममन्त्री श्रेष्ठ (भिडिओ) – Nepal Press

विदेश पुर्‍याएर नेपाली अलपत्र पार्नेलाई इन्टरपोलको सहयोगमा कारबाही गर्छौं : श्रममन्त्री श्रेष्ठ (भिडिओ)

आबुधावी । श्रममन्त्री कृष्णकुमार श्रेष्ठले कानूनले तोकेको प्रकृयाबाहिरबाट विदेश लगेर नेपाली अलपत्र पार्नेलाई कारबाही गर्न अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को सहयोग मागिने बताएका छन् । मन्त्री श्रेष्ठ यतिखेर संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा छन् ।

मंगलबार आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित अन्तरक्रियामा उनले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने अभियान अघि बढाइएको बताए । नक्कली मागपत्र बनाउने, झूटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर गैरकानुनी काम गर्ने नेपाली विदेशी भूमिमा पनि नजोगिने उनको भनाइ छ ।

‘नेपाली नागरिकलाई यूएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्ने तपाईंहरू सुझाव दिनुस् । त्यहीअनुसार काम गर्न तयार छु’, मन्त्री श्रेष्ठले आश्वस्त पारे ।

उनले इन्टरपोलबाट ‘रेड कर्नर नोटिस’ जारी गरेर दलालको खोजी गरी कारबाहीको दायरामा ल्याउन लागिएको बताए । त्यसको लागि सजिलो होस् भनेर भ्रमण टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपीलाई पनि सहभागी गराएको श्रेष्ठले बताए ।

अलपत्र परेका नेपालीको समस्या समाधानमा सहयोग गर्न आफूले यूएई सरकारसँग पनि आग्रह गरेको उनले जानकारी दिए ।

श्रेष्ठले भने, ‘अलपत्र परेका नेपालीलाई यूएईमै रोजगारीको अवसर प्रदान गर्ने, भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रूपमा बस्नुपर्ने बाध्यता भएकालाई आममाफी दिने तथा उद्दार गर्नुपर्नेलाई नेपाल फिर्ता गर्न युएई सरकारसँग सहयोगको आग्रह गरेका छौं ।’

कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल, यूएईका लागि नेपाली राजदुत कृष्णप्रसाद ढकाल, श्रममन्त्रालय तथा दूतावासका कर्मचारीसहित नेपाली संघ-संस्थाका प्रतिनिधि, गैरआवासीय नेपाली संघका प्रतिनिधि र श्रमिक सहभागी थिए ।

उनीहरूले नेपाली श्रमिकले यूएईमा भोगेको समस्याबारे मन्त्री नेतृत्वको टोलीलाई जानकारी गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर