बी डिभिजन लिग : मध्यपुरमाथि बाँसबारीको आधा दर्जन गोल – Nepal Press

बी डिभिजन लिग : मध्यपुरमाथि बाँसबारीको आधा दर्जन गोल

काठमाडौं । राजेश पौडेलको ह्याट्रिकको सहयोगमा बाँसबारी क्लबले राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसियसनमाथि ६-० को फराकिलो जित निकाल्दा अर्को खेलमा बीरगञ्ज युनाईटेड र रानीपोखरी कर्नर टिम (आरसिटी) ले २-२ गोलको बराबरी खेलेका छन् ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा बाँसबारीले मध्यपुरमाथि आधा दर्जन गोल गरेको हो । एक तर्फी जस्तो भएको खेलमा बाँसबारीले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप पाँच गोल गर्न सफल भएको थियो ।

बाँसबारीले २३औं मिनेटमा सञ्जय धिमालले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि ६२औं मिनेटमा दोस्रो गोल गर्दा राजेश पौडेलले ५१औं, ६४औं र ७८औं मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेका थिए । त्यस अघि ७१औं मिनेटमा सुलेमान थापा मगरले गोल गरेका थिए । एकतर्फी जस्तो भएको खेलमा मध्यपुर बाँसबारीविरुद्ध निकै निरिह बनेको थियो ।

जितसँगै बाँसबारीले चार खेलबाट तालिकामा ४ अंक जोड्दा फराकिलो हार भोगेको मध्यपुरको समान चार खेलबाट ३ अंक छ । बाँसबारीले जारी लिगमा पहिलो जित निकाल्दा मध्यपुरले दोस्रो हार भोगेको छ ।

बी डिभिजन लिग अन्तर्गत शनिबार कै अर्को खेलमा बीरगञ्ज युनाईटेड र रानीपोखरी कर्नर टिम (आरसिटी) ले २–२ गोलको बराबरी खेलेका हुन् । बीरगञ्जले पहिलो हाफमा लिएको अग्रतालाई कायम राख्न नसक्दा आरसिटीसँग अंक बाँडेको हो ।

३३ औं मिनेटमा विज्ञान चौधरीले गोल गर्दै बीरगञ्जलाई अग्रता दिलाएका थिए । तर, ४१ औं मिनेटमा अमर डंगोलले गोल गर्दै आरसिटीलाई १–१ गोलको बराबरीमा फर्काएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा बीरगञ्जले कृपाकान्त महतो थारुको गोलबाट पुन अग्रता बनाए पनि ८३ औं मिनेटमा अमरले व्यक्तिगत दोस्रो गोल गर्दै आरसिटीलाई २–२ गोलको बराबरीमा ल्याउदै हारबाट जोगाउन सफल भए । यस बराबरीसँगै आरसिटीले ४ खेलमा ५ अंक जोडेको छ । बीरगञ्जले ४ खेलमा ५ अंक नै जोडेको छ ।

यस्तै तीन खेलबाट तालिकामा शीर्षता कायम गरेको चर्चब्वाईजले शनिबार श्री कुमारी क्लबसँग १–१ गोलको बराबरी खेलेको छ । अघिल्ला तीन खेलमा स्पष्ट जित निकालेको चर्च ब्वाईजले ४७औं मिनेटमा लिएको अग्रता कायम राख्न नसक्दा कुमारीसँग अंक बाँडेको हो ।

चर्चब्वाईजका लागि आशिष चापागाईले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलमा फर्किन प्रयास गरेको कुमारीले ५५औं मिनेटमा बराबरी गोल फर्कायो । निर बहादुर आलेले गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए । बाँकी सयमा थप गोल हुन सकेन र दुबैले अंक बाँडे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर