७ महिनामा एक लाख ४२ हजार बढीले लिए सहुलियतपूर्ण कर्जा – Nepal Press

७ महिनामा एक लाख ४२ हजार बढीले लिए सहुलियतपूर्ण कर्जा

काठमाडौं । चालू आर्थिक वर्षको सात महिनाको अवधिमा एक लाख ४२ हजार भन्दा बढीले सहुलियतपूर्ण कर्जा लिएका छन् ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको एक रिपोर्ट अनुसार चालू आर्थिक वर्ष २०७८÷०७९ को माघ मसान्तसम्ममा एक लाख ४२ हजार ३ सय ४४ ऋणीले सहुलियतपूर्ण कर्जा लिएका हुन् ।

उनीहरुलाई २ सय १४ अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह गरिएको राष्ट्र बैंकले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै महिला उद्यमशील कर्जा अन्तर्गत ८१ हजार २ सय २७ ऋणीले ७४ अर्ब १९ करोड कर्जा लिएका छन् भने दोस्रोमा कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ५८ हजार २ सय ६९ ऋणीले १ सय ३६ अर्ब ८३ करोड कर्जा लिएका छन् ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत २ हजार ८ सय ४८ ऋणीलाई तीन अर्ब ७६ करोड कर्जा प्रवाह गरिएको जनाइएको छ ।

सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ अनुसार नौ प्रकारको कर्जा प्रवाह गर्दै आएको छ । जसमा व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा पाँच करोड रूपैयाँसम्म, शिक्षित युवा स्वरोजगार कर्जा सात लाख रूपैयाँसम्म, विदेशबाट फर्केका युवा परियोजना कर्जा दश लाख रूपैयाँसम्म, महिला उद्यमशील कर्जा पन्ध्र लाख रूपैयाँसम्म, दलित समुदाय व्यवसाय विकास कर्जा दश लाख रूपैयाँसम्म, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा पाँच लाख रूपैयाँसम्म प्रदान गर्दै आएको छ ।

यस्तै भूकम्प पीडितको निजी आवास निर्माण कर्जा तीन लाख रूपैयाँसम्म, कपडा उद्योग सञ्चालनको लागि पाँच करोड रुपैयाँसम्म, प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिम आदिको लागि दुई लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *