विकास र समृद्धिका सारथी इन्जिनियरलाई हौसला दिन किन कन्जुस्याइँ ? – Nepal Press
विचार

विकास र समृद्धिका सारथी इन्जिनियरलाई हौसला दिन किन कन्जुस्याइँ ?

मुलुकमा भएका विभिन्न चरणका आन्दोलन र ७० वर्ष लामो संघर्षबाट देश संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीकरण को नयाँ राजनीतिक युगमा प्रवेश गर्‍यो । तर, विकास र समृद्धिको हिसाबले हामी धरै पछाडि छौं । हरेक सरकारले ‘समृद्ध नेपाल’ को नारा लिएर अगाडि बढेको हुन्छ । तर, समृद्धि कसरी आउँछ ? कसले बनाइदिन्छ ? समय कति लाग्छ ? के भएपछि सुखी हुन्छौं ? यी प्रश्नहरू धेरैमा कौतुहोलता र अनुत्तरित पनि छ ।

समृद्ध नेपाल निर्माणको महत्वपूर्णमध्येको एक आयाम पूर्वाधार विकास महत्वपूर्ण भन्नेमा दुईमत हुन सक्दैन । सुशासन राजनैतिक तथा प्रशासनिक नेतृत्व दिर्घकालीन योजनाहरू र यसको कार्यान्वयन उपलब्ध स्रोत साधन र तीनको प्रयोगजस्ता विषयहरूले समृद्धिका लागि विशेष भूमिका निभाउँछ ।

र, यही पूर्वाधार निर्माणका सारथी इन्जिनियरहरूको भूमिका र वर्तमान परिपेक्षमा इन्जिनियरहरूले भोगेका समस्याहरू तथा सुखी नेपालीसम्म पुग्ने कठिन यात्रामा इन्जिनियरहरूको भूमिकाको केही पक्षहरू यस लेखमा समेट्ने कोसिस गरिएको छ ।

क. कार्य संस्कार

समृद्धिको यात्रा तय गर्दैगर्दा हामीले कस्तो संस्कार, कार्यपद्दतिको विकास गर्ने भन्नेमा स्पष्टता हुन आवश्यक छ । देशमा मुख्य दुईथरीका व्यक्तिहरू देखिन्छन् एकथरी वास्तविक मैदानमा गएर दु:ख गर्ने, मिहिनेत गर्ने, जोखिम लिने परिणाम निकाल्ने र अर्कोथरी किनारामा बसेर ताली बजाउने, कुरा काट्ने, तर्क-बितर्क गर्ने, यो भएन भन्ने, यसो किन नगरेको, उसो किन नभएको भन्ने आदी । पत्रपत्रिका तथा सामाजिक सञ्जालमा हुने पहुँचको साथै जनतालाई दिग्भ्रमित गर्ने कलाको कारणले दोस्रो पक्ष सधैँ चर्चाको शिखरमा रहन्छन् । पहिलो पक्ष भने सधैँ दु:ख पनि पाइरहन्छ साथै बदनाम पनि भैरहन्छ ।

हाम्रो देशमा समग्रमा काम गर्नेका भन्दा कुरा गर्नेका दिनहरू सुखमय, कम जोखिमयुक्त, प्रशंसनीय र जागिरमा पनि वृत्तिविकास अनुमानयोग्य र सहज रहेको छ । आज विभिन्न आयोजनाहरू निर्माणमा अथक प्रयास गर्ने इन्जिनियरहरू जानी-नजानी विभिन्न समस्याहरू उत्पन्न भई सजायको भागी हुनु परेको छ । काम गर्दा नै समस्या आउने हो र केही विषय पटक-पटकको असफलताबाट सफलता हासिल गर्ने हो । त्यसैले, हाम्रो समाजमा रहेको कार्य संस्कार र सोच रातारात परिवर्तन गर्न सकिँदैन र यसले समग्र परिणाम वा प्रतिफल प्राप्तीमा असर पर्ने भएकोले यस तर्फ सबै सचेत भइ आजैबाट लाग्न जरुरी देखिन्छ।

ख. दिर्घकालीन लक्ष प्राप्तीमा इन्जिनियर

हामी १४औं योजना सम्पन्न गरी १५‍औं योजना कार्यान्वयन गर्ने चरणमा छौं । १० वर्षमा १० हजार मेगावाट सवै नेपालीलाई विद्युत ऊर्जा, विद्युतीय सवारीसाधनहरूको विकास, भरपर्दा सडक सञ्जाल, द्रुत मार्ग, रेल्वे, अन्तर्राष्ट्रिय विमानस्थलहरू, दिगो शहरी विकास, अन्तरजलाधार जलस्थानान्तरण बहुउद्देश्यीय जलस्रोत आयोजनाहरू, सबैलाई भरपर्दो खानेपानी तथा सरसफाइ आदि जस्ता लक्षहरू राखी अगाडि बढेका छौं । यस्ता लक्ष हासिल गर्न इन्जिनियरहरूको कति भूमिका छ भन्ने कुरा सायद कसैलाई बताइरहनु नपर्ला । कति पूर्वाधार निर्माण गर्ने र कति जनशक्ति आवश्यक छ, कसरी व्यवस्थापन गर्ने र कस्ता संरचनाहरूको निर्माण गर्ने भन्नेमा स्पष्टता र योजना पनि त्यत्तिकै जरुरी छ ।

आज यसको ठीक विपरीत इन्जिनियरहरूको दरबन्दी यथेस्ट मात्रामा राख्न कन्जुस्याइँ गर्ने, राम्रोसँग काम गरिरहेका संरचनाहरू खारेज गर्ने र इन्जिनियरहरूको मनोबल कमजोर पार्ने कार्य मात्र भैरहेको छ । विभिन्न ठाउँमा सही नियतका साथ काम गर्नेहरूलाई अपमान गर्ने यर परिपाटीबाट दिर्घकालीन लक्ष्यमा ठेस पुग्ने निश्चित प्राय: छ । नेपालको समृद्धि यात्राका मुख्य सारथी इन्जिनियरहरू नै हुन् यसैले यसतर्फ राज्यले सोच्न ढिला गर्नु हुँदैन ।

ग. सुखी नेपालीको लागि इन्जिनियर

नेपालको पूर्वाधार विकासमा इन्जिनियरहरूको भूमिका अपरिहार्य छ । इन्जिनियरिङ विधाको विकास, क्षमता अभिवृद्धि र बिस्तारै-बिस्तारै भैरहेको छ । हिजो पूर्वाधार निर्माणमा सबै विदेशी जनशक्ति चाहिन्छ भन्ने हामी आज धेरै क्षेत्रहरूमा हामी नेपालीले नै बनाउन सक्छौं भनेका छौं । इन्जिनियरिङ जनशक्तिको क्षमता प्रदर्शनमा देशमा रहेका इन्जिनियरिङ शिक्षण संस्थाहरू, सारकारी निकाय, परामर्शदाता, निर्माण व्यवसायीको त हात नै हुन्छ तर त्यसभन्दा पनि माथि कार्य वातावरण वा संस्कारको भूमिका रहेको हुन्छ । यदि इन्जिनियरहरूलाई उच्च मनोबलका साथ कार्य गर्न नदिने हो भने समृद्धिको सपना अधुरै रहन सक्छ ।

अन्य धेरै कुराको अलावा घरमा कत्तिको भरपर्दो बिजुली आउँछ, धारामा कति घण्टा पानी आउँछ, बिहान घरबाट निस्किएपछि कस्ता सडकहरू भएर यात्रा गर्दछौं, कति घण्टा जाममा बस्नु पर्दछ, सार्वजनिक सवारीसाधनमा कत्तिको सहज यात्रा गर्न सकिन्छ, किसानको खेतमा कति समय सिँचाइको लागि पानी आउँछ, हवाईजहाजमा जाँदा विमानस्थलमा कति समय जहाज कुर्नु पर्दछ, ढलहरूको व्यवस्थापन कत्तिको छ, शहरी विकास कत्तिको राम्रो छ आदि जस्ता विषयले नै सुखी नेपाली भए नभएको आभास दिलाउँछ । यी सबैमा इन्जिनियरहरूले अझ मिहिनेत गर्नुपर्ने आवश्यकता छ र हाम्रो भूमिका महत्वपूर्ण छ ।

घ. वाह्य वातावरण र इन्जिनियरिङ क्षेत्र

समग्र देशभित्रका अवयवहरूभन्दा भिन्न इन्जिनियर हुनुपर्छ भनेर हामीले सोचेका छौं भने गलत हुन्छ र त्यो असम्भव नै छ । नेपालको राजनैतिक प्रणाली कस्तो छ, समाज, सरोकारवालाहरू कस्तो छ, अन्य संगठनहरु कसरी चलेका छन् यावत् विषयले इन्जिनियर र इन्जिनियरिङ क्षेत्र प्रभावित छ । एउटा आयोजना राजनैतिक दलका नेता, कार्यकर्ता, स्थानीय जनता, पत्रकार, र अन्य पक्षबाट कति आक्रान्त हुन्छ यो कसैलाई बुझाउनुपर्ने विषय होइन ।

आज आयोजनालाई कसैले पनि निस्वार्थ साथ सहयोग गर्नुको सट्टा कसरी आफ्नो फाइदामा प्रयोग गर्न सकिन्छ भन्ने बाहेक सोचेका छैनन् । यस्तो वातावरणको बीचमा पनि प्राविधिकहरूले जति गरेका छन् त्यति नै वास्तवमा धेरै छ । तसर्थ विकास निर्माण र पूर्वाधार विकासलाई नयाँ ढंगले सोच्न जरुरी छ, समग्र देशको वातावरण विकासमुखी बनाउन जरुरी छ ।

ङ. सांगठनिक विकास र क्षमता अभिवृद्धि

सांगठनिक विकासक्रम र प्राविधिक क्षमता अभिवृद्धि बिस्तारै हुने कुरा हो । सिँचाइ विभाग, सडक विभागजस्ता संस्था अर्को तुरुन्त बनाउँछु र ठूला संरचना बनाउने व्यक्ति आजै तयार गर्छु भनेर भनेर आजको भोलि बन्दैन । प्रदेशमा किन यस्तो बनेनन् ? किन प्रदेश सरकार प्राविधिक कर्मचारीको अभावमा विकास भएन ? भनिएको छ । सांगठनिक पुन:संरचना गर्दा हामीले बनेका त्यस्ता संरचनाहरू भत्काउने, बिगार्ने मात्र काम गर्‍यौं त्यसलाई सक्षम र सुदृढ बनाउनेतर्फ कहिल्यै सोचेनौं । अनि कसले कसरी बनाइदिन्छ पूर्वाधार ?

हिजोसम्म सिक्टा सिँचाइ आयोजना हामी नेपालीले बनायौं भनेर गर्व गर्ने हामी आज त्यही कार्य गरेवापत सजायको भागी भएका छौं । बडो गर्वसाथ नयाँ-नयाँ संरचनाको शिलान्यास र उद्घाटन गर्छौं र फलानोको पहल नेतृत्व भनेर प्रचार-प्रसार हुन्छ । तर, केही संरचना भत्किँदा र समयमा सम्पन्न हुन नसक्दा समग्र इन्जिनियरिङ पेशा र सम्बन्धित इन्जिनियरमाथि नै प्रश्न उठाउँन पछि पर्दैनौं । तर, हामी सम्पूर्ण पूर्वाधारको क्षेत्रमा साना पूर्वाधारबाट बिस्तारै सिक्दै ठूला पूर्वाधार निर्माणको यात्रा तय गरेका छौं र द्रुत गतिमा सिप र प्रविधिको विकास गर्दैछौं ।

च. जोखिम र प्रतिफल

भनिन्छ ‘पानीजहाज बन्दरगाहामा सुरक्षित हुन्छ तर त्यो त्यसको लागि होइन’, समुद्रमा कैयन जोखिमहरू हुन्छन् तर यात्रा तय गर्नै पर्छ त्यस्तै इन्जिनियरहरू पनि मन्त्रालय, विभागमा काम नगरिकन बस्यो भने सुरक्षित त हुन्छ । तर, फिल्डमा नै खटिएर पूर्वाधारका प्रतिफल निकाल्ने हो । हामीले जोखिम र प्रतिफलको सम्बन्ध हेर्‍यौं भने पनि जति जोखिम लिन सक्छौं त्यति बढी प्रतिफल प्राप्त गर्न सक्छौं ।

इन्जिनियर र जोखिम पर्यायवाचीजस्तै हो । प्रत्येक डिजाइनमा केही न केही अनुमान वा मानेर गरेका हुन्छौं, अझ हाम्रो जस्तो देश जहाँ डाटा उपलब्ध हुँदैन त्यसमा डिजाइन गर्ने कार्य आफैंमा चुनौतीपूर्ण छ । केही जोखिम लिएर डिजाइन गर्‍यौं भने किफायती हुन्छ अन्यथा लगानीको यथोचित वितरण नहुन पनि सक्छ । असल नियतले गरिएका डिजाइनहरू पनि कहिलेकाँहि फेल हुन्छन त्यसैले सबैलाई बदमासीको रूपमा बुझ्नु हुँदैन । अन्तरिक्षमा हुने उडानमा कयौंपटकको असफलतापछि एक सफलता हात पर्छ । यदि त्यस्ता असफलतामा हतोत्साही बनाउने हो भने त्यसपछि प्राप्त गर्ने सफलताको परिकल्पना पनि नगरे हुन्छ । अत: इन्जिनियरलाई जोखिम लिने वातावरण र सही नियतले भएका असफलताहरूमा समेत ढाडस र प्रोत्साहान दिने वातावरण बनेमा मात्र पूर्वाधार निर्माणले गति लिन सक्छ ।

छ. सकारात्मक सोचको आवश्यकता

देशले आज सकारत्मक सोचको आवश्यकता महसुस गरेको छ । हाम्रो समाजले, परिवारले इन्जिनियर कुन सोचका साथ उत्पादन गर्दै छ ? गलत तरिकाले सम्पत्ति आर्जन गर्न सकिन्छ र भौतिक सुख प्राप्त हुन्छ भन्ने उद्देश्यबाट हामी अझै ग्रसित छौं अत: हाम्रो प्रस्थान बिन्दुमा नै समस्या देखिन्छ र इन्जिनियरहरू सबै भ्रष्ट हुन्छन् भन्ने धारणाबाट मुक्त हुनु पर्दछ । इन्जिनियरिङ कार्य जोखिमयुक्त छख । नदीमा काम गर्दा अकस्मात बाढी आएर कार्य गर्दा गर्दै संरचना भत्काउन सक्छ, सुरुङ निर्माण गर्दा विभिन्न समस्या आउन सक्छ । आयोजना निर्माण गर्दा विविध कारणबाट लागत र समय बढ्न सक्छ ।

हाम्रो सामान्य घर बनाउँदा त हाम्रो आवश्यकता तथा विविध कारणले डिजाइन परिवर्तन भएर संशोधन हुन सक्छ भने ठूला संरचना निर्माण गर्दा विविध कारणबाट भेरिएसन हुन्छ। विश्वका धेरै आयोजनाहरूमा पनि लागत र समय वृद्धि, भेरिएसन, समस्याहरू आउने भैरहेका छन् । यी विषय आउनेबित्तिकै ईन्जिनियरले बदमासी गर्यो, भष्टचार गर्‍यो भनेर जसरी आउँछ त्यो नै आज पूर्वाधार निर्माणको एक प्रमुख समस्या हो । राजनीतिक तथा प्रशासनिक नेतृत्व सधैँ यही स्थायी आरोपसहित सम्पूर्ण प्रावाधिक जनशक्ति नियन्त्रण गर्दै जस लिने अपजस दिने मानसिकता कायम राख्न चाहन्छ ।

साना साना सिँचाई संरचनाबाट आज हामी जलस्थानान्तरण, बहुउद्देश्यीय आयोजना निर्माणमा जुटेका छौं, दुई-चार मेगावाटबाट आज ४५६ मेगावाटको हाईड्रोपावर सम्पन्न गरिसकेका छौं , मेलम्चीजस्तो आयोजना पनि एक हिसाबले सम्पन्न भएको छ, ठूला र गौरव प्रकृतिका पुलहरू, द्रुतमार्ग, रेलवे, सुरुंग मार्गजस्ता संरचना निर्माणको क्रममा छौं ।

यस्ता निर्माणमा कयौं जोखिमहरू लिनुपर्ने र यसबाट पाठ सिक्दै भविष्यमा योभन्दा ठूला र वृहत्तर संरचना निर्माणमा जुट्नुको विकल्प छैन । यस्ता कार्यमा सकारात्मक सोच, हिम्मत र सवै पक्षको साथ सहयोग अपरिहार्य छ । सधैँ एउटा भत्केको पुल देखाएर अनेकन सफल संरचना र विकास भएको प्रविधिलाई ओझेलमा पार्ने नियोजित प्रयास असफल पार्नुपर्छ । यसको अर्थ इन्जिनियरले जे गरे पनि हुन्छ भन्न खोजिएको होइन गलत गर्नेलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ तर सबैलाई एउटै डालोमा हालेर समग्र पेशालाई नै बदनाम गर्ने कुरा खेदपूर्ण छ । यसलाई नसच्याए विकास निर्माणको कुरा कागजी गफमा सीमित हुने निश्चित छ ।

अन्त्यमा,

आज इन्जिनियरहरूलाई समाजमा हेर्ने दृष्टिकोण नराम्रो बनाइएको छ, वृत्तिविकासका अवसरहरू संकुचन गरिएको छ, राम्रो कार्य गरिरहेका संगठनहरु खारेज गरी ध्वस्त पारिएको छ, चारै तिरबाट आक्रमण गरिएको छ, अपमानित गरिएको छ, हौसला कसैले दिएको छैन, जोखिम लिएर कार्य गर्ने वातावरण कत्ति पनि छैन । यस्तो विषम परिस्थितिमा पनि ईन्जिनियरहरुले अनवरत् सेवा दिएर पूर्वाधार निर्माणको कार्यमा जुटेका छन् । यदि देश विकास गर्ने हो भने वास्तविक कार्यक्षेत्रमा गएर दु:ख गर्ने, मिहिनेत गर्ने, जोखिम लिनेका कुरा सुन्नुपर्छ, उनीहरूलाई गाली गलौच होइन हौसला मात्र दिइरहनुपर्छ ।

देशको समृद्धिको अभियानका मुख्य सारथी हामी इन्जिनियरहरू नै हौं र यसको लागि हामी हिम्मत नहारिकन कठिन यात्रा पार गर्नु पर्नेछ । हाम्रो दु:ख र पीडादायी यात्रा, मिहिनेतले देश विकास हुन्छ भने सबैले एकपटक त्याग र साहस गर्नुपर्नेछ, जुन हामी गरिरहेका छौं र गर्छौं पनि । नीति नियम निर्माण तह, नियमनकारी निकायमा बस्नेले पनि यस विषयमा गम्भिरतापूर्वक सोचियोस् र सबै इन्जिनियरलाई सुखी नेपाली बनाउने अभियानमा सफलता मिलोस्, शुभकामना !!

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर