युक्रेन-रुस युद्ध प्रभाव : खानेतेलको मूल्यमा व्यापारीको मनाेमानी – Nepal Press

युक्रेन-रुस युद्ध प्रभाव : खानेतेलको मूल्यमा व्यापारीको मनाेमानी

प्रतिलिटर ४० रुपैयाँ बढ्यो

काठमाडौं । विश्व बजारको उतारचढवको नेपालमा तत्काल देखिने गरेको छ । नेपालका उत्पादन तथा आयातकर्तालाई बहाना भए पुग्छ, दैनिक उपभोग्य वस्तुको मूल्य छुनै नसकिने गरी बढाउने गरेका छन् । अहिले खाने तेलमा पनि त्यस्तै भएको छ ।

युक्रेन र रुस युद्ध सुरुपछि नेपालमा खाने तेलको मूल्य ह्वात्तै बढेको छ । विदेशबाट वस्तु आयातकर्ताले विदेशमा कुनै वस्तुको मूल्य घट्दा घटाउन चाहाँदैनन् तर मूल्यवृद्धिको सम्भावना देखिनेवित्तिकै नेपालमा विदेशबाट आउने वस्तुको मूल्य ह्वात्तै बढ्ने गरेकाे छ ।

युक्रेन र रुसको युद्ध सुरु हुनुभन्दा पहिले नै विदेशबाट तेल उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ आयात भएको थियो । युद्ध सुरुहुनुभन्दा पहिले प्रतिलिटर २४० मा विक्री भइरहेको सनफ्वार तेल अहिले प्रतिलिटर २८० रुपैयाँ पुगेको छ ।

त्यस्तै भटमासको तेलको मूल्य पनि आकासिएको छ । प्रतिटिर २२० देखि २३० रुपैयाँ प्रतिलिटरमा विक्री भइरहेकोमा अहिले मूल्यवृद्धि भएर २६० प्रतिलिटर पुगेको छ । करिब २ हप्ता अघि ३४० प्रतिलिटर भुटेको तोरीको तले पाइन्थ्यो । अहिले मूल्यवृद्धि भएर ३८० पुगेको खुद्रा व्यापारीहरु बताउँछन् ।

युक्रेनमा कच्चा पदार्थको मूल्यवृद्धि भएको भन्दै नेपालमा तेल उत्पादकले आफू खुसी मूल्य वृद्धि गरेका हुन् । युक्रनबाट नेपालमा तेल उत्पादन गर्ने कच्चा पदार्थ आयात हुने गरेको छ । युद्ध चलिरहेको देश युक्रेनबाट नेपालमा कच्चा पदार्थ आउन करिब ३ महिना लाग्छ । तर युक्रेन र रुसको यद्ध सुरु भएको ११ दिन भएको भएको छ ।

११ दिन मात्रै युद्धको क्रास देखाएर नेपाली बजारमा खाने तेलको मूल्य आफू खुसी वृद्धि गरिरहेका छन् । राजनीतिक संरक्षण नै पाएर तेल उद्योगले बजारमा आफूखुसी मूल्यवृद्धि गरिरहेका हुन् । चुनाव नजिकिदै गएकाले राजनीतिक दललाई पैसा दिनुपर्ने भएर नै तेलको मूल्यवृद्धि गरेको आरोप पनि छ ।

नेपालमा कोरोनाको संक्रट सुरु भएपछि मूल्यवृद्धिको श्रींखला सुरु भएको हो । अघिल्लो वर्षपनि अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्य बढेको भन्दै खाने तेलमा धेरै नै मूल्य वृद्धि भएको थियो ।

अहिले पनि विश्वबजारको अवस्था देखाउँदै व्यापारीहरुले आफ्नो दादागिरी सुरु गरेका छन् । तर तेल उद्योगीलाई कानूनी कारवाही गर्न सरकार तयार देखिन्न ।

नियमन गर्ने निकायको उदासीनता र देशको प्रशासनिक कमजोरीले नै तेल उद्योगीहरुले आफूखुसी तेलको मूल्यवृद्धि गरिरहेका छन् ।

खुद्रा व्यापार संघका सचिव अमुलकाजी तण्डुकारले ठूला व्यापारीको कारण खुद्रा व्यापारीलाई समस्या परेको बताए ।

उनले भने, ‘हामीले जुनसुकै तेल पनि जति मूल्यवृद्धि भएपनि ५ रुपैयाँ मात्रै नाफा पाउने हो । हामीलाई मूल्यवृद्धि भएर नाफा वृद्धि हुने हैन । तर उपभोक्ताले भने तेल किन्न आउँदा किन यसरी मूल्यवृद्धि गरेको भनेर धेरै लागि गरिरहेका छन् । हामीले मूल्यवृद्धि गर्ने होइन । ठूला व्यापारीहरुले युक्रेनमा कच्चा पदार्थको मूल्यवृद्धि भयो भनेर पहिले नै ल्याएको वस्तुको समेत मूल्यवृद्धि गरेको छ । नियमक निकाय बोल्दैन हामी मात्रै बोलेर केही हुदैन ।’

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता हरि पंगेनीले युक्रेनमा युद्ध सुरु हुनसाथ तेल उद्योगीलाई बोलाएर युक्रेनबाट नेपालमा कच्चा पदार्थ आउन कति समय लाग्छ भनेर सोध्दा ३ देखि ४ महिना लाग्ने जानकारी पाएको बताए ।

उनले भने, ‘हामीले तेल उद्योगीहरुलाई युक्रेनबाट कच्चा पदार्थ नआइ मूल्यवृद्धि नगर्न आग्रह गरेका थियौं । उहाँहरुले पनि हुन्छ भनेका थिए । तर बजारमा तेलको मूल्यवृद्धि भएको भन्ने मौखिक जानकारी मात्रै आएको छ । कारवाही गर्न लिखित निवेदन आवश्यक पर्छ । हामीले बजार अनुगमन पनि गरिरहेको छौं । त्यसरी मूल्यवृद्धि गरेको भटिएमा हामी कारवाही गर्ने छौं ।’

खुद्रा व्यापारी राम श्रेष्ठले अंकित मूल्य (एमआरपी) परिर्वतन भएको बताए । उनले भने, ‘पहिले २४० एमआरपी भएको ठाउँमा अहिले २६० भएर आएको छ । यो एमआरपी उत्पादकले नै राख्ने हो । एमआरपी बराबर मूल्य हामीले नै तिरेका छौं । अब कतिमा हामीले बिक्री गर्ने ? एमआरपीमा बिक्री गर्ने नसकिने अवस्था आएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *