माधव नेपालले गरे झलनाथको आलोचना, प्रेम आलेले भने- एमसीसी फिनिस् – Nepal Press

माधव नेपालले गरे झलनाथको आलोचना, प्रेम आलेले भने- एमसीसी फिनिस्

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसीमाथिको भूमिकालाई लिएर नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खानालको आलोचना भएको छ ।

२५ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको एजेन्डा तय गर्न सोमबार बसेको पोलिटब्युरो बैठकमा खनालको आलोचना भएको हो । एमसीसीमा पार्टी नीति विपरितको भूमिका खेलेको भन्दै अध्यक्ष माधव नेपालले समेत खनालको आलोचना गरेका छन् ।

व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने निर्णय नेकपा (एस) ले गरेको भए पनि खनालले त्यसमा फरक मत राखेका थिए । खनालले संसदको रोष्टममै उभिएर एमसीसी देशका लागि घात भएको भन्दै त्यो पारित गर्न नहुने पक्षमा आफ्ना भनाइ राखेका थिए ।

एमसीसीका नाममा पार्टी विभाजन गर्न खोजेको भन्दै अन्य नेताहरुले पनि खनालको आलोचना गरेका छन् । अध्यक्ष नेपालले एमसीसीमा पार्टीको नीति विपरित किन बोलेको भन्दै खनालको आलोचना गरेका थिए ।

एमसीसी आफूहरुले पास नगरेको भए पनि कांग्रेसले एमालेको साथ लिएर पास गर्ने भन्दै नेपालले आफूहरुले गलत नगरेको बताएका थिए ।

‘एमसीसी हामीले पास नगरेको भए कांग्रेसले केपी ओलीसँग मिलेर पास गर्थ्यो । उनीहरुले गर्दा ठिक, हामीले गर्दा बेठिक हुन्छ ?’ एमसीसीमा खनालको भूमि ठिक नभएको अध्यक्ष नेपालको भनाइ थियो । ‘यो बेला हामीले ठिक गर्‍यौं भन्नुपर्नेमा तपाईंको भूमिका ठिक भएन,’ नेपालले भनेका थिए ।

नेपालको भनाइमा नेता मुकुन्द न्यौपानेले पनि सहमति जनाएका थिए । नेपाललाई साथ दिँदै खनालको गतिविधि ठिक नभएको बताएका थिए ।

बैठकमा पर्यटन मन्त्री समेत रहेका प्रेम आलेले अध्यक्ष नेपाल भन्दा पनि अघि बढेर खनालको आलोचना गरेका थिए । सम्मानित नेता भएकाले त्यही अनुसारकै भूमिकामा बस्न आलेले सुझाव दिएका थिए । ‘तपाईं सम्मानित नेता हो, सम्मानित ठाउँमा बस्नुहोस्,’ आलेको भनाई थियो, ‘हामीले सम्मान गर्ने ठाउँ राख्नुहोस् ।’

नेकपाकालमा एमसीसीको विरोध खनालले गर्दा आफूहरुले साथ दिएको भए पनि अब त्यो सकिएको आलेको भनाइ थियो । ‘नेकपाकालमा तपाईंले नो एमसीसी भन्नुभयो, हामी त्यसको पछि लाग्यौं,’ उनले भनेका थिए,‘अहिले हामीसहित एमसीसी पारित भइसकेपछि अब ‘फिनिस एमसीसी’ ।’

एमसीसीका नाममा विवाद गर्दा केपी ओलीलाई फाइदा पुग्ने भन्दै त्यसो गर्न नहुने आलेको भनाइ थियो ।

फागुन २५–२६ गते बस्ने केन्द्रीय समिति बैठकका लागि अध्यक्ष नेपालले तयार पारेको राजनीतिक प्रतिवेदनमा छलफल समेत भएको थियो ।

प्रतिवेदनमा पार्टीको संगठनात्मक अवस्था, एमसीसी पारित गर्नुपर्नाका कारण, घटनाक्रम र विवरणहरु समेटिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

नेताहरुको सुझावसहित प्रतिवेदन पारित गरिएको बताइएको छ। केन्द्रीय समिति बैठमा अध्यक्ष नेपालले उक्त प्रतिवेदन पेस गर्ने छन् ।

प्रतिक्रिया

One thought on “माधव नेपालले गरे झलनाथको आलोचना, प्रेम आलेले भने- एमसीसी फिनिस्

  1. झलनाथ, जगन्नाथ आदिकाे हैसियत देखियाे । आलेजस्ताेले झलनाथलाई हप्काउने ? झलनाथले ठाउँकाे ठाउँ जवाफ दिनु पर्दैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर