विराजको दुर्भाग्य- करिअरको उत्तरार्धमा कप्तानी गरेकै क्लब रेलिगेसनमा – Nepal Press

विराजको दुर्भाग्य- करिअरको उत्तरार्धमा कप्तानी गरेकै क्लब रेलिगेसनमा

काठमाडौं । विराज महर्जनका लागि पछिल्ला केही वर्षहरु कठिन रहे । राष्ट्रियस्तरमा उत्कर्षमा रहेको खेलाडी नयाँ पुस्ताले विस्थापन गर्नै लाग्दा आईपर्ने समस्याहरु विराजले पनि भोगे ।

उनलाई राष्ट्रिय टोलीबाहिर रहन कम्ता सकस परेन । एक वर्षअघि घरेलु मैदानमा आयोजित त्रिदेशीय आमन्त्रण फुटबल उनका लागि अन्तर्राष्ट्रिय खेलाडी जीवनबाट सन्यास घोषणा गर्ने अवसर बन्यो ।

व्यवसायीक फुटबललाई भने च्वाट्टै छाडिहाल्न उनी तत्पर देखिएनन् । उनको कप्तानीमा मच्छिन्द्र फुटबल क्लबले भर्खरै मात्र शहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जितेको थियो ।

विराज एन्फा एकेडेमीका उत्पादन हुन् । उनीसँगै हुर्किएको एन्फा एकेडेमी ब्याचको एक समय सिनियर राष्ट्रिय टोलीमा बलियो प्रभाव थियो ।

सन् २००७ मा थ्रीस्टारबाट व्यवसायीक फुटबल खेल्न थालेका डिफेन्डर बिराजले त्यसको एक वर्षपछि सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए ।

कप्तान सागर थापासहित राष्ट्रिय टोलीका महत्वपूर्ण केही खेलाडीलाई म्याच फिक्सिङको मुद्दा लागेपछि संकटमा परेको नेपाली टोलीलाई विराजले केही समयमै नेतृत्व गर्ने अवसर पाए ।

नेपालले सन् २०१६ मा बंगबन्धु गोल्डकप र सोलिडारिटी कप जित्दै सिनियर अन्तर्राष्ट्रिय फुटबलमा करिब दुई दशकभन्दा बढी समयपछि उपाधि खडेरी टारेको थियो । थ्रीस्टारमा ९ वर्षको बसाईपछि सन् २०१६ मा उनी मनाङ मर्स्याङ्दीतिर सरेका थिए ।

त्यसयता उनले नेपाली फुटबलका केही उल्लेख्य सफलता हात पारे । नेपालका लागि सर्वाधिक सिनियर अन्तर्राष्ट्रिय खेल खेल्ने फुटबलर बने भने तीन फरक क्लबलाई घरेलु लिगको उपाधि जिताउने दुर्लभ सौभाग्य प्राप्त गरे । मनाङमा पनि उनी कप्तान थिए ।

‘हरेक खेलाडीलाई खेलिरहन मन लाग्नु स्वभाविक हो । आर्थिक पक्षको पनि यसमा सम्बन्ध रहला । तर एउटा उचाईमा पुगेको खेलाडी करियरको अन्त्यतिर आउँदा यसमा अलिक गम्भिर हुनुपर्छ, किनभने लय र समय सँधैभरि उस्तै रहँदैन’, नेपाली फुटबल टोलीका एक पूर्वकप्तान भन्छन् ।

मच्छिन्द्रलाई उपाधि जिताएपछि विराज ललितपुरे क्लब च्यासलमा आबद्ध भए । उनलाई क्लबले कप्तानीको जिम्मेवारी पनि दियो । बी डिभिजन च्याम्पियन हुँदै २०७३ सालमा ए डिभिजनमा उक्लिएको च्यासलमा विराजको आबद्धतापछि अपेक्षा बढ्नु अस्वभाविक थिएन ।

तर दुर्भाग्य के भयो भने च्यासल ए डिभिजनमा टिकिरहन सकेन, बी डिभिजनमा घटुवा भयो । १३ खेलमा केवल एउटा मात्र जितेको च्यासल ६ अंकसहित १४ औँ अर्थात सबैभन्दा पुछारमा रहेको हो ।

प्रतियोगितामा च्यासलले यसपटक ३ बराबरी र ९ हार ब्यहोरेको थियो ।

५ गोल मात्र गर्न सक्दा विपक्षीले उसको पोष्टमा २२ गोल छिराए । प्रतियोगितामा च्यासल सबैभन्दा कम गोल गर्ने र दोस्रो सर्वाधिक गोल व्यहोर्ने क्लब बनेको थियो ।

व्यवसायीक फुटबल खेल्न थालेको १५ वर्षपछि व्यहोरेको यो खराब नतिजापछि विराजले अब के निर्णय गर्छन् हेर्न बाँकी छ । मिडियासँग उनी पछिल्लो समय बोल्न कम रुचाउने गरेको देखिएकाले यत्ति भन्न सकिन्छ– उनी आफ्नो पछिल्लो समयप्रति त्यति सन्तुष्ट छैनन् ।

‘खेलाडीले खेल्न छाडेपछि के गर्छु भन्ने पनि सोचेर बेलैमा निर्णय लिनुपर्छ । उच्चस्तरका खेलाडीका लागि यो अझै महत्वपूर्ण हुन्छ,’ राष्ट्रिय टोलीका ती पूर्वकप्तान भन्छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर