ओपनिङ ब्याटिङमा नेपाललाई निराश बनाएका आसिफ – Nepal Press

ओपनिङ ब्याटिङमा नेपाललाई निराश बनाएका आसिफ

काठमाडौं । गत वर्ष नेपालमा आयोजित त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाले एउटा आशा जगाएको थियो- नेपालले ब्याटिङको ओपनिङ जोडि गतिलो पाएको छ ।

कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई शृंखलाका प्रायः खेलमा गतिलो सुरुवात दिलाएका थिए । भुर्तेल र आसिफको जोडीले नेदरल्यान्ड्सविरुद्ध भएको पहिलो खेलमा एक सय १६ रनको साझेदारी गरेका थिए ।

दोस्रो खेलमा पनि मलेसियाविरुद्ध पहिलो विकेटका लागि एक सय २ रनको साझेदारी भएको थियो । नेपालले उक्त शृंखलाका अन्तिम तीन खेलमा लगातार २ सय भन्दा बढी रन बनाएको थियो ।

तर भर्खरै ओमानमा सम्पन्न आईसिसी टी-२० विश्वकपको विश्वस्तरको छनोटमा नेपालको माथिल्लोक्रमको ब्याटिङ प्रायः संकटमा देखियो । आसिफसँगै तेस्रो नम्बरमा उतारिएका ब्याट्सम्यानको प्रदर्शन पनि निराशाजनक रह्यो ।

छनोटको पहिलो खेलमा नेपालले १२ रन जोड्दा दुवै ओपनरलाई गुमाएको थियो । दोस्रो खेलमा फिलिपिन्सविरुद्ध आसिफ शेख खाता नखोली आउट हुँदा नेपालले ९ रनमा पहिलो विकेट गुमाएको थियो ।

समूहको तेस्रो तथा अन्तिम खेलमा नेपालले क्यानडाविरुद्ध २२ रन जोड्दा पहिलो विकेट गुमाएको थियो । आसिफ १७ रन जोडेर आउट भएका थिए । सेमिफाइनलमा नेपालले यूएईविरुद्ध ३ रन जोड्दा दुई विकेट र १४ रन जोड्दा दुवै ओपनरलाई गुमाएको थियो । आसिफ यसपटक पनि शुन्यमै आउट भए ।

ओमान भ्रमणमा सुरुमा खेलिएको चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय शृंखलामा भने आसिफले औसत प्रदर्शन गरेका थिए । उनले ओमानविरुद्ध १४, यूएईविरुद्ध ३४ र आयरल्यान्डविरुद्ध २३ रन बनाएका थिए । तर उनले विश्वकप छनोटका सेमिफाइनलसम्मका ४ खेलमा जम्मा २१ रन मात्र बनाए, दुईपटक शून्यमै आउट भए ।

विकेटकिपरका रुपमा विनोद भण्डारीको ठाउँ लिन सक्ने खेलाडीका रुपमा हेरिएका आसिफको पछिल्लो लयले निराश बनाउनु अस्वभाविक छैन । लय बाहिर रहेपछि टिमबाहिर रहेका विनोद आसन्न विश्वकप लिग-२ अन्तर्गतको शृंखलाका लागि २० सदस्यीय बन्द प्रशिक्षण टोलीमा बोलाइएका छन् । ब्याटिङ नसुधारेको अवस्थामा आसिफलाई टोलीमा स्थान बनाइरहन सजिलो हुने छैन ।

तेस्रो नम्बर पनि टिकेनन्

‌ओमान भ्रमणका बेला नेपाली टोलीबाट तेस्रो नम्बरमा ब्याटिङ गर्ने ब्याट्सम्यानमा पटकपटक समस्या देखियो । चार देश सम्मिलित शृंखलाको पहिलो खेलमा तेस्रो नम्बरमा उतारिएका ज्ञानेन्द्र मल्लले १३ रन जोडेका थिए ।

दोस्रो खेलमा यूएईविरुद्ध दीपेन्द्रसिंह ऐरीले ४१ रन बनाएका थिए । तेस्रो खेलमा आयरल्यान्डविरुद्ध लोकेश बम ६ रनमात्र जोडेर आउट भएका थिए । विश्वकप छनोटको पहिलो खेलमा ओमानविरुद्ध ज्ञानेन्द्र मल्लले १५ रन जोडेका थिए ।

दोस्रो खेलमा फिलिपिन्सविरुद्ध कुशल मल्लले १२ रन जोडेका थिए । तेस्रो खेलमा क्यानडाविरुद्ध कुशल मल्ल शून्य रहन मै आउट भए ।

सेमिफाइनलमा यूएईविरुद्ध लोकेश बमले पनि खाता खोल्न सकेनन् । नेपालले विश्वकप छनोटमा दोस्रो विकेटका लागि ओमानविरुद्ध ६, फिलिपिन्सविरुद्ध २७ र क्यानडाविरुद्ध एक रनको साझेदारी गरेको थियो भने यूएईविरुद्ध साझेदारी नै हुन सकेको थिएन ।

कुशल सन्तोषजनक, आरिफ र दीपेन्द्र लयमा

ओमान भ्रमणमा नेपालको ब्याटिङ सुरुवात र समग्र प्रदर्शन राम्रो रहन नसकेपनि अहिले तीन जना ब्याट्सम्यान लयमै देखिन्छन् । कुशल भुर्तेलले चार देश सम्मिलित शृंखलाका सुरुका दुई खेलमा आराम गरेका थिए । तेस्रो खेलमा उनले‍ आयरल्यान्डविरुद्ध १५ रन जोडे ।

उनले विश्वकप छनोटका खेलमा ओमानविरुद्ध ५, फिलिपिन्सविरुद्ध अविजित एक सय ४, क्यानडाविरुद्ध अविजित ३४ र यूएईविरुद्ध ७ रन जोडेका थिए । तेस्रो स्थानका लागि ओमानविरुद्ध भएको खेलमा उनले अविजित ५५ रन जोडेका थिए ।

कुशलले ११ टी-२० अन्तर्राष्ट्रिय खेलमा एक सतक र ५ अर्धसतकसहित ४ सय ९८ रन बनाएका छन् । उनले चार देश सम्मिलित शृंखलाअन्तर्गत ओमानविरुद्ध २५ र यूएईविरुद्ध ११ रन बनाएका थिए भने आयरल्यान्डविरुद्ध टोलीमा थिएनन् ।

विश्वकप छनोटका खेलमा उनले ओमानविरुद्ध ३८ रन जोडेका थिए भने त्यसपछि फिलिपिन्स र क्यानडाविरुद्धका खेलमा ब्याटिङमा आउनै परेन । सेमिफाइनलमा यूएईविरुद्ध ११ रन बनाएका आरिफ तेस्रो स्थानका लागि भएको ओमानसँगको खेलमा २१ रनमा अविजित रहे । दीपेन्द्र सबैभन्दा बढी लयमा देखिएका ब्याट्सम्यान हुन् ।

चार देश सम्मिलित शृंखलाअन्तर्गत ओमानविरुद्ध अविजित ७३, यूएईविरुद्ध ४१ र आयरल्यान्डविरुद्ध २८ रन बनाएका दीपेन्द्रले विश्वकप छनोटअन्तर्गत ओमानविरुद्ध ११, फिलिपिन्सविरुद्ध ८३ र क्यानडाविरुद्ध अविजित २७ रन बनाएका थिए । उनले यूएईविरुद्ध भएको सेमिफाइनलमा ३८ रन जोडेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर