पक्राउ पर्नुअघि प्रहरीसँग पलको आग्रह- एकपटक फिल्म हेर्न दिनुहोला (भिडिओ) – Nepal Press

पक्राउ पर्नुअघि प्रहरीसँग पलको आग्रह- एकपटक फिल्म हेर्न दिनुहोला (भिडिओ)

काठमाडौं । जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका नायक पल शाहको पक्राउ पर्नुअघिको भिडिओ सार्वजनिक भएको छ । फेसबुकमा सार्वजनिक भएको भिडिओमा पलले आफ्नो घर व्यवहार मिलाउनु परेकाले पक्राउ दिन ढिलाइ भएको बताएका छन् ।

पलले भनेका छन्, ‘म घरको एक्लो गार्जियन हो । घर-व्यवहार मिलाउनु थियो । प्रहरीमा सरेन्डर गरेपछि घरमा जे पनि अवस्था आउन सक्छ । घरमा बुवा, मम्मी र बहिनी मात्र छन् । त्यसैले सबै मिलाउनुपर्दा प्रहरीमा उपस्थित हुन ढिलाइ भएको हो । यसका लागि माफी चाहन्छु ।’

पलले आफू अभिनित नयाँ चलचित्रले राम्रो व्यापार गरेको भन्दै खुसी व्यक्त गरेका छन् । साथै यो चलचित्र एकपटक दर्शकसँग बसेर हेर्ने मौका दिन उनले प्रहरीलाई आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘नेपाली फिल्म दर्शकसँग बसेर हेर्ने तीन-चार वर्षदेखिको सपना थियो । मैले सुने अनुसार शुक्रबार र शनिबार फिल्मले राम्रो व्यापार गरेको छ रे । त्यसमा खुसी लागेको छ । मेरो एउटा इच्छा छ । अब सम्भव हुन्छ कि हुँदैन । एकचोटि दर्शकसँग बसेर ‘म यस्तो गीत गाउँछु’ हेर्न चाहन्छु । सम्भव भयो भने एकचोटिलाई यो मौका मिलाइदिनु होला ।’

पलले आफूलाई सुरुदेखि फसाउँदै यहाँसम्म पुर्याइएको बताए । आफूसँग भएको सबै प्रमाण अदालतलाई दिने उनको भनाइ छ ।
पलले आजै तनहुँ प्रहरीमा गिरफ्तारी दिइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *