धरधरी रुँदै पुजाले भनिन्- हामीमाथि बज्रपात पर्याे (भिडिओ) – Nepal Press

धरधरी रुँदै पुजाले भनिन्- हामीमाथि बज्रपात पर्याे (भिडिओ)

काठमाडौं । आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर कार्यक्रममा नायिका पुजा शर्मा धरधरी रोएकी छन् । चलचित्रका नायक पल शाहविरुद्ध जाहेरी परेपछि उनी कार्यक्रममा उपस्थित हुन नसक्दा पुजा भावुक बनेकी हुन् ।

थुप्रै कलाकारहरुको भिडभाड रहेको प्रिमियर कार्यक्रममा पुजा सुरुदेखि मलिन अनुहारमा थिइन् । फिल्म हेरिसकेपछि सबै अतिथि कलाकारले प्रशंसा गरे । यस फिल्मले नेपाली दर्शकलाई फेरि हलमा फर्काउने आशा धेरैले व्यक्त गरेका छन् । तर, सबैको सुखद प्रतिक्रियाले पनि पुजाको अनुहारमा उत्साह थिएन ।

सञ्चारकर्मीसँगको कुराकानीमा पुजाले पल शाहको नाम नलिइकन आफ्नो फिल्मको टिमलाई बज्रपात गरेको बताइन् ।

भक्कानिँदै उनले भनिन्, ‘जोडी मनकामना जानुहुन्न भन्ने बुढापाकाले भन्थे । हामी रियल जोडी त होइनौं, तर रिल जोडी हौं । हाम्रो लागि यो भनाइ सत्य भएको छ । आज हाम्रो टिमलाई बज्रपात परकोे छ ।’

पुजाले अगाडि थपिन्, ‘राम्रो फिल्म बनाउन कोशिष गर्दा यस्तो होला भन्ने कहिले पनि सोचिएन । राम्रो मनले फिल्म बनाएका थियौं । त्यही बेला लकडाउन भयो । हाम्रो सपना चकनाचुर बन्यो । त्यसपछि हल खुल्यो र फेरि बन्द भयो । अब १३ गते फिल्म रिलिज हुने भनेर उत्साहित थियौं । तर खोई के हुन्छ थाहा छैन ।’

‘राम्रो फिल्म बनाएका छौं, तपाईंहरुको साथ भयो भने बाँच्छौं । तर, यदि आँखा लागेकै हो भने सायद म यो इन्डष्ट्रीबाट आउट नै हुनुपर्छ जस्तो लाग्छ ।’

यद्यपि, आफूले हिम्मत नहारिसकेको पुजाले बताइन् ।

उनले भनिन्, ‘यति संघर्ष गरेँ । जहिले पनि मिठाई खान्छु भन्दा ढुंगा परेको हुन्छ । तर, हिम्मत हारिसकेको छैन ।’

 

कार्यक्रममा बोल्ने अरु कलाकारहरुले पनि पललाई सम्झिएका थिए । निर्देशक सुदर्शन थापाले पल शाहको विषयमा कुरा गर्दै कानूनले निस्पक्ष भएर न्याय दिने आशा व्यक्त गरे ।

फिल्मको प्रिमियरका क्रममा एक जोडी प्रहरी पल शाह खोज्दै हलभित्रै छिर्दा स्तब्धता छाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *