यूएईसँग नेपाल पराजित, विश्वकपको ढोका बन्द – Nepal Press

यूएईसँग नेपाल पराजित, विश्वकपको ढोका बन्द

काठमाडौं । नेपाल यसै वर्ष अस्ट्रेलियामा आयोजना हुने आईसिसी टी-२० विश्वकपमा छनोट हुन असफल भएको छ ।

ओमानमा जारी आईसीसी टी-२० विश्वकपको छनोटअन्तर्गत सेमिफाइनलमा यूएईसँग ६८ रनले पराजित हुँदै नेपाल बाहिरिएको हो । एक सय ७६ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ४  बलमा सबै विकेट गुमाएर १ सय ७ रन जोड्यो ।

नेपालका दीपेन्द्रसिंह ऐरी ३८, ज्ञानेन्द्र मल्ल २० र आरिफ शेखले ११ रन बनाएर आउट भए। माथिल्लोक्रममा आसिफ शेख र लोकेश बमले खाता खोल्न सकेनन्। कुशल भुर्तेल ७ रन जोडेर आउट भए ।

यूएईको घातक बलिङसामु नेपाली ब्याट्सम्यानहरु कमजोर देखिए । अहमद रजाले ५ र जुनाइद सिद्धिकीले ३ विकेट लिए । रोहत मुस्ताफा र जहुर खानले पनि एक-एक विकेट हात पारे । सिद्धिकीले चार ओभरमा २६ रन खर्चिए । रजाले ४ ओभरमा १९ रन दिए ।

सिद्धिकीले पारीको पहिलो ओभरमै लगातार बलमा दुई विकेट लिएका थिए । लगातार दुई वाइड बलपछि उनले आसिफ र लोकेशलाई आउट गरेका थिए। सिद्धिकीले तेस्रो ओभरमा अर्का नेपाली ओपनर कुशललाई आउट गरेका थिए ।

दीपेन्द्र र ज्ञानेन्द्रले नेपाललाई सम्हाल्ने प्रयाश गरेपनि रजाले लगातार बलमा उनिहरु दुवैलाई आउट गरेका थिए । १३ औँ ‌ओभरमा आउट हुनुअघि दीपेन्द्र र ज्ञानेन्द्रले पाचौँ विकेटका लागि ३३ रनको साझेदारी गरेका थिए । रजाले १५ औं ओभरमा पनि २ विकेट लिएका थिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ७५ रन जोडेको थियो ।

यूएईका मुहम्मद वासिमले ७० र भित्र्या अरविन्दले ४६ रन बनाए। सुरुका २ ओभरमा एक विकेट गुमाएर ६ रन जोडेको यूएईका लागि वासिम र अरविन्दले शानदार ब्याटिङ गरेका हुन् ।

वासिमले ४८ बलमा चार छक्का र चार चौका प्रहार गरे। उनले ३२ बलमा अर्धसतक पुरा गरेका थिए । यस्तै १९ वर्षीय अरविन्दले २३ बलमा ३ छ्क्का र ५ चौका प्रहार गरे । यूएईले दोस्रो विकेटका लागि ६६ र तेस्रो विकेटका लागि ७४ रनको साझेदारी गरेको थियो ।

यूएईले तेस्रो ओभरमा १८ तथा त्यसपछिका लगातार चार ओभरमा समान १३ रन जोडेको थियो । आठौँ ओभरको तेस्रो बलमा सन्दीपले अरविन्दलाई बोल्ड आउट गरेका थिए । १७ औँ ओभरमा अविनाशले वासिमलाई आउट गरे। उक्त ओभरमा उनले दुई विकेट लिएका थिए ।

जितेन्द्र मुखियाले दोस्रो ओभरमा विकेट लिएर गतिलो सुरुवात दिलाएपनि यूएईका ब्याट्सम्यान नेपाली बलरमाथी हावी बनेका थिए। सुरुको ११ ओभरमा २ विकेट गुमाएर एक सय २ रन जोडेको यूएईलाई त्यसपछि सन्दीप, दीपेन्द्र र अविनाशले नियन्त्रणमा लिने प्रयाश गरेका थिए ।

अविनाश बोहरा र जितेन्द्र मुखियाले ३र३ विकेट हात पारे। नेपाललाई हराएसँगै यूएई विश्वकपका लागि छनोट भएको छ । नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकप खेलेको थियो । त्यसयता छनोट हुन सकेको छैन।

समूहगत चरणमा नेपालले तीनवटै खेल जितेको थियो भने यूएई अन्तिम खेलमा बहराइनसँग पराजित भएपछि उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर