नेपाललाई टी-२० विश्वकप पुर्‍याउन सक्ने यी चार क्रिकेटर – Nepal Press

नेपाललाई टी-२० विश्वकप पुर्‍याउन सक्ने यी चार क्रिकेटर

काठमाडौं । ओमानमा जारी आईसिसी टी-२० विश्वकपको विश्वस्तरको छनोटअन्तर्गत सेमिफाइनलमा नेपालले मंगलबार अपरान्ह यूएईसँग खेल्दै छ ।

नेपाली समयअनुसार पौने ४ बजे सुरु हुने खेलमा जित हात पार्ने टोली अस्ट्रेलियामा आयोजना हुने विश्वकपका लागि छनोट हुने छ ।

नेपाल समूहका सबै तीनवटै खेलमा जित हात पार्दै सेमिफाइनल पुगेको हो । यूएई भने तीनमध्ये दुई वटा खेल जितेर समूह उपविजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको छ । प्रतियोगितामा नेपालको बलिङ र यूएईको ब्याटिङ शसक्त देखिएको छ।

नेपालले समूहगत चरणमा ओमानलाई ७८, फिलिपिन्सलाई ८२ र क्यानडालाई ८० रनमा सिमित गरेको थियो। यता यूएईले जारी ओमान भ्रमणका क्रममा टेस्ट मान्यताप्राप्त आयरल्यान्डलाई दुईपटक पराजित गरेको छ ।

छनोटअघि आयोजित चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले यूएईसँग २५ रनको हार ब्यहोरेको थियो ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोलीले यूएईलाई हराउन सके दोस्रोपटक टी-२० विश्वकपमा स्थान बनाउने छ । यसअघि सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकप पनि नेपालले खेलेको थियो ।

नेपालसँग भिडिरहँदा चार जना खेलाडी यूएईको निशानामा रहने पक्का छ। ब्याटिङतर्फ कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा बलिङतर्फ सन्दीप र कमलसिंह ऐरी यूएईका लागि टाउको दुखाई बन्न सक्नेछन् ।

दीपेन्द्र अलराउन्ड प्रदर्शन गरिरहेका छन् । जारी छनोटमा प्रारम्भिक ब्याट्सम्यान कुशलले एक सतकसहित तीन खेलमा एक सय ४३ रन बनाएका छन् । क्यानडाविरुद्ध सोमबार उनी ३४ रनमा अविजित रहेका थिए ।

दोस्रो खेलमा फिलिपिन्सविरुद्ध पनि एक सय ४ रनमा अविजित रहेका थिए । दीपेन्द्रले तीन खेलमा एक अर्धसतकसहित एक सय २१ रन बनाएका छन् । जारी प्रतियोगितामा उनी सर्वाधिक रन जोड्ने ब्याट्सम्यानको सूचीमा पाचौँ स्थानमा छन् । दीपेन्द्रले फिलिपिन्सविरुद्ध ८३ रन बनाएका थिए भने क्यानडाविरुद्ध २७ रनमा अविजित थिए ।

यता बलिङतर्फ ओपनर बलरका रुपमा भूमिका देखाइरहेका कमलको प्रदर्शन शानदार रहेको छ। उनले दुई खेलमा पाँच विकेट लिएका छन् । उनको बलिङ इकोनोमी केवल ५.१६ रहेको छ ।

सन्दीपले तीन खेलमा ८ विकेट लिएर सर्वाधिक विकेट लिने बलरको सूचीमा दोस्रो स्थानमा छन् । उनको बलिङ इकोनोमी ३.४१ रहेको छ । फिलिपिन्सविरुद्ध ९ रन खर्चिएर तीन विकेट लिएका सन्दीपले क्यानडाविरुद्ध पनि १२ रन खर्चिएर तीन विकेट हात पारेका थिए  ।

दीपेन्द्रले तीन खेलमा तीन विकेट लिएका छन् । भने उनको बलिङ इकोनोमी पाँच रहेको छ ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यूएइसँग नेपालले हालसम्म चारवटा खेल खेलेकोमा दुई जित र दुई हारको नतिजा निकालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर