दुई महिनादेखि दिल्लीमा अलपत्र महिलाको श्रममन्त्री श्रेष्ठको पहलमा उद्धार – Nepal Press

दुई महिनादेखि दिल्लीमा अलपत्र महिलाको श्रममन्त्री श्रेष्ठको पहलमा उद्धार

काठमाडौं । दुई महिनादेखि भारतको नयाँ दिल्लीमा अलपत्र एक महिलाको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा उद्धार भएको छ । पैसा कमाउने लोभले दलाललाई दुई लाख २० हजार रुपैयाँ बुझाएर भारतको नयाँदिल्ली हुँदै खाडी मुलुक युएई जान हिंडेकी मोरङ सुन्दरहरौंचाकी ३२ बर्षीया महिलाको दुई महिनापछि उद्धार भएको हो ।

उर्जेन लामा नाम गरेका व्यक्तीले वैदेशिक रोजगारीको प्रलोभनमा भारतको नयाँदिल्ली पुर्याएको र त्यहाँबाट भिजिट भीसामा दुबई लैजाने बताए पनि झण्डै दुई महिनासम्म अलपत्र पारेपछि उनले उद्धारका लागि श्रममन्त्रीको सचिवालयमा रहेको गुनासो सेन्टरमा खवर गरेकी थिइन् । उनले लामो समय बन्धकजस्तै भएको र उपचार समेत नपाएको गुनासो गरेकी थिइन् ।

मन्त्री श्रेष्ठले नयाँ दिल्लीस्थित नेपाली दुतावास तथा प्रहरीको सहयोगमा उद्धारका लागि पहल गरेका थिए । स्थानीय बिचौलीया शम्भु लामालाई प्रहरीले नयाँदिल्लीमा पक्राउ गरी उनको रकम फिर्ता पनि गराएको छ । दिल्ली महिला आयोगको सहयोगमा बेचबिखन विरुद्ध कार्यरत संस्था ‘आफन्त नेपाल’ले उनलाई उद्धारपछि सेल्टरमा राखेको थियो । उद्धार गरिएकी महिलाले सोमवार मन्त्री श्रेष्ठलाई भेटी दलाललाई कारवाही गर्न मागसमेत गरेकी छन् । प्रहरीले लामाको खोजी गरिरहेको छ ।

२०७२ सालमा नेपाली महिलालाई घरेलु कामदारका रूपमा खाडी मुलुक जान रोक लगाइएपछि दलालले ग्रामीण भेकका अशिक्षित महिलालाई विभिन्न प्रलोभनमा भारत पुर्याउने र त्यहाँबाट खाडीलगायत देशमा पठाउने गरेको पाइएको छ । अहिले लाखौं महिला भारतीय बाटो हुँदै विदेशिन बाध्य छन् । महिलालाई विदेश पुग्ने क्रममा हुने दुःख र उत्पीडनबाट जोगाउन विद्यमान नीतिमा परिवर्तन जरुरी देखिएको मन्त्री श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *