भन्सार विभागमा ई पेमेन्टबाट पहिलो महिनामै ७ अर्ब संकलन – Nepal Press

भन्सार विभागमा ई पेमेन्टबाट पहिलो महिनामै ७ अर्ब संकलन

काठमाडौं । भन्सार विभागले माघ मसान्तसम्म ७ अर्ब ४ करोड बराबरको डिजिटल माध्यमबाट राजस्व संकलन गरेको छ । उक्त डिजिटल संकलनको व्यवस्था १ पौष २०७८ देखि सुक्खा बन्दरगाह विरगञ्ज भन्सार कार्यालयबाट सुरुवात गरी गत माघ महिनाबाट देशभरीका सबै भन्सार कार्यालयहरुमा कार्यान्वयन गरिएको हो ।

एनसीएचएल तथा बैंक वित्तीय संस्थाका विभिन्न च्यानलहरुसँग जोडी विद्युत्तिय माध्यमबाट संकलनको सुरुवात भएसँगै ई पेमेन्ट मार्फत विद्युत्तिय राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ । यसले आयतकर्ताहरुलाई पनि भुक्तानी गर्न निकै सहज भएको छ ।

नेशनल पेमेन्ट स्वीचअन्तर्गत भन्सार विभागको भुक्तानी संकलनलाई रियल टाईम तथा नन् रियल टाईम दुवै माध्यमबाट संकलन गरिने व्यवस्था भएको हो । माघ मसान्तसम्म रिटेल पेमेन्ट स्वीच मार्फत रियल टाईममा ३ अर्ब ४ करोड रुपैयाँ र एनसीएचएल–आईपिएस मार्फत नन् रियल टाईममा ४ अर्ब रुपैयाँ बराबरको संकलन भएको छ ।

भुक्तानी गर्न भन्सार एजेन्ट वा आयातकर्ताले भन्सारको अनलाइन प्रणालीबाट रजिष्ट्रेशन वर्ष, रजिष्ट्रेशन नम्बर, भन्सार विभागको कोड तथा प्रज्ञापनपत्र नं. प्राप्त गरी उपलब्ध कुनैपनि च्यानलमा सो विवरण दाखिला गरी अनलाइन भुक्तानी गर्नसक्दछन् ।

यसरी भुक्तानी गर्दा कारोबार सीमा भने छनोट गरिएको प्रणाली अनुसारको हुन्छ । भन्सार एजेन्ट तथा आयातकर्ताले सोझै आफ्नो बैंक खाताबाट कनेक्ट आइपिएस, कर्पोरेट पे तथा बैंक वित्तीय संस्थाको शाखाबाट भुक्तानी गर्नसक्दछन् ।

यो सेवा एनसिएचएलका विभिन्न सदस्य बैंक वित्तीय संस्थाका मोबाइल ÷ ईन्टरनेट बैंकिङ्ग तथा सदस्य भुक्तानी सेवा प्रदायक (वालेट)हरुमा पनि चाढै नै उपलब्ध हुनेछ । भन्सार विभागका सम्पूर्ण भुक्तानीहरु पहिले नगद वा चेक मार्फत हुने गरिन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *