आरिफको शान्त इनिङको जगमा बलरहरुको तुफान – Nepal Press
म्याच रिभ्यू

आरिफको शान्त इनिङको जगमा बलरहरुको तुफान

काठमाडौं । ओमानविरुद्धको पहिलो म्याचमा जितसँगै नेपालले टि–२० वल्र्ड कप क्वालिफायरको सुखद सुरुवात गरेको छ । नेपालको जितमा बलरहरुको भूमिका फेरि एकपटक निर्णायक रह्यो ।

ओमान भ्रमणमानेपालको कमजोर कडीका रुपमा फास्ट बलिङलाई लिइएको थियो । तर, त्यहाँको पिचमा नेपालका फास्ट बलरहरु बढी प्रभावकारी देखिएका छन् ।

क्वालिफायरअघि खेलाइएको चारदेशीय प्रतियोगितामा स्पिनरहरु नचल्दा फास्ट बलरहरुले सन्तोषजनक प्रदर्शन गरेका थिए । आजको म्याचमा भने नेपालको फास्ट र स्पिन दुवै बलिङ सन्तुलित र धारिलो देखियो ।

नेपालले आफ्नोटिममा फास्ट बलरलाई महत्व दिएको थियो । एक मात्र विशेषज्ञ स्पिनर सन्दिप लामिछाने रहेकोमा पार्टटाइम स्पिनर दिपेन्द्रसिंह ऐरीले पनि पूरा कोटा बलिङ गरे ।

टि–२० मा १ सय २० भन्दा न्यून स्कोरलाई कमजोर मानिन्छ, चाहे जस्तोसुकै अवस्थाको पिच होस । त्यसैले नेपालले ओमानलाई ११८ रनको लक्ष्य दिँदा जित टाढा देखिएको थियो । तर, जब नेपाल दोस्रो इनिङमा बलिङ गर्न उत्रियो, पहिलो ओभरबाटै बलरहरुले जितको भोक देखाए ।

इनिङको तेस्रोबलमा कमलसिंह ऐरीले ओमानका ओपनर कश्यप प्रजापतिलाई दिपेन्द्रसिंह ऐरीको हातबाट क्याचआउट गराए । त्यसयता नेपालले कहिल्यै पछाडि फर्केर हेर्नु परेन ।

सन्दिपको एकओभरमा ब्याट्सम्यानले २ छक्कासहित हानेको १६ रनलाई बिर्सिने हो भने कुनै पनि क्षणओमानले खेलमा कमब्याकको संकेत गरेन । नेपाली ब्याट्सम्यानहरुलेभने निराश बनाए ।

पिचको अवस्थाका कारणले पनि हुन सक्छ, कुनै पनि ब्याट्सम्यानलेखुलेर खेल्न सकेनन् । सबैभन्दा बढी आशा गरिएको कुशल भुर्तेल र आसिफ शेखकोओपनिङ जोडी फ्लप भयो । मध्यक्रमका खम्बा दिपेन्द्र पनि आज चलेनन् । अनुभवी ज्ञानेन्द्र मल्ल र विष्फोटक लोकेश बमले ‘स्टार्ट’ लिए पनि ‘कन्भर्ट’ गर्न सकेनन् । विवेक यादव र कमल ऐरी पनि सिंगल डिजिट स्कोरमै आउट भए ।

नेपालका लागि सुखद विषय यो मान्न सकिन्छ कि टिममा बढी आशा गरिएका स्टार ब्याट्सम्यानहरु नचल्दा पनि नेपालले खेल जित्यो । नेपाल १ सयभन्दा कम स्कोरमा समेटिन पनि सक्थ्यो, यदि मध्यक्रममा आरिफ शेखले सुझबुझपूर्ण इनिङ नखेलेको भए । उनले पिचलाई बुझेर धैर्यकासाथ ब्याटिङ गरे । उनले ३७ बलमा बनाएको ३८ बल टि–२० अन्तर्राष्ट्रियमा त्यति आकर्षक नलाग्न सक्छ, तर, आजको म्याचमा उनको यही इनिङ नेपालको जितका लागि आधारशीला बन्यो ।

उत्तिकै महत्वपूर्ण रह्यो सन्दिप लामिछानेले खेलेको सर्ट केमियो । उनले ७ बलमा एक छक्का र एक चौकासहित बनाएको १५ रन नेपालको लागि साँच्चै बहुमूल्य थियो । सन्दिपले पछिल्लो समय आफूसँग ठूला सट खेल्ने क्षमता रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रियटिय–२० फ्रेन्चाइज म्याचहरुमा देखाउँदै आएका छन् । यो नेपालका लागि निकै सुखद पक्ष हो ।

समग्रमा सन्दिपले आजको म्याचमा कप्तानी प्रदर्शन गरे, बल र ब्याट दुवैबाट । उनले चार ओभरमा २० रन खर्चेर दुई महत्वपूर्ण विकेट लिए । २० मध्ये १५ रन उनले एउटै ओभरमा खाएका थिए । पाँच बलमा १५ रन खाएपछि उनले छैटौं बलमा ब्याट्सम्यानलाई आउट गर्दै मिठो बदला लिए ।

सन्दिपको कप्तानी पनि आज त्रुटीरहित रह्यो । यसअघि चारदेशीय श्रृंखलामा सन्दिपले अत्यधिक बलरहरुप्रयोग गरेको भनेर आलोचनासमेत भएको थियो । तर, त्यो उनले क्वालिफायरलाई ध्यानमा राखेर बलरको छनोटका लागि गरेका थिए । आज उनले ६ जना मात्रै बलर प्रयोग गरे । आरिफ शेख र विवेक यादवलाई उनले बल दिएनन् । दिने आवश्यकता पनि परेन ।

सन्दिपलाई बलिङमा दिपेन्द्रले गतिलो साथ दिए । दिपेन्द्रमाथि भर गरेर नै नेपालले अर्को स्पिनर टिममा समावेश गरेको थिएन । र, नेपालको रणनीति सही सावित भयो । दिपेन्द्रले ४ ओभरमाकेवल १५ रन खर्चेर दुई विकेट लिएका छन्, जसलाई शानदार आँकडा मान्न सकिन्छ । अब उनी पियोर ब्याट्सम्यानबाट अलराउन्डरका रुपमा आफूलाई स्थापित गराउन सक्षम देखिएकाछन् । एक हिसाबले भन्नुपर्दा पारस खड्काको अनुपस्थिति टिममा जुन स्थान रिक्त भएको थियो, त्यसलाई दिपेन्द्रले पूर्ति गरिदिएका छन् ।

त्यसो त आजकोम्याचलाई हेरेर नेपालको बलिङमाथि भर गरिहाल्ने अवस्था भने छैन । आज बलिङ फ्रेन्डलीपिचलाई दोहन गर्न बलरहरु सफल भए, तर उनीहरुको वास्तविक परीक्षा फ्ल्याट पिचमा हुनेछ । टि–२० क्वालिफायरमा नेपालले विजयी सुरुवात त गरेको छ, तर नेपालको विश्वकपको ढोका खोल्नभने अझै पनि तगाराहरु बाँकी छन् ।

समूह ए मा नेपालसँगै ओमान क्यानाडा र फिलिपिन्स छन् । नेपालका लागि सबैभन्दा बलियो प्रतिद्वन्द्वी ओमान नै थियो, जसलाई पन्छाउन नेपाल सफल भयो । अब क्यानाडा र फिलिपिन्सविरुद्धको म्याचमा नेपालले सहज जितको आशा राखेको छ ।

नेपाल समूह ए बाट सेमिफाइनलमा पुग्ने लगभग पक्का भए पनि त्यो विश्वकप यात्राका लागि पर्याप्त हुँदैन । क्वालिफायर ए र क्वालिफायर बि बाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल जित्दै फाइनलमा पुग्ने दुई टिम अक्टोबर–नोभेम्बरमाअष्ट्रेलियामा हुने विश्वकपका लागि छनोट हुने छन् ।

अर्कोसमूहमा आयरल्यान्ड, युएई, जर्मनी र बहराइन रहेका छन् । तीमध्ये आयरल्यान्ड र यूएई सेमिफाइनलका दावेदार हुन् । यी दुवै नेपालका लागि कठिन प्रतिद्वन्द्वी हुन् । यसर्थ सेमिफाइनल नै गर वा मरको खेल हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर