बेलायतले दियो थप २१ लाख डोज कोरोना खोप – Nepal Press

बेलायतले दियो थप २१ लाख डोज कोरोना खोप

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छन् ।

मन्त्रालयमा भएको भेटमा मन्त्री खतिवडाले बेलायत र नेपालको २०० वर्षभन्दा पुरानो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै कोभिड–१९ महामारीका बेला बेलायत सरकारले गरेको सहयोगप्रति आभार प्रकट गरे ।

‘विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ विरुद्धको यो लडाइँमा बेलायत सरकारले भेन्टिलेटर, भ्याक्सिनलगायत अन्य स्वास्थ्य सामग्री सहयोगस्वरूप प्रदान गरेकामा बेलायती सरकार र बेलायती जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु’, मन्त्री खतिवडाले भने ।

नेपालको पूर्वाधार विकास, स्वास्थ्य र शिक्षा क्षेत्रको विकासका लागि बेलायत सरकारले प्रदान गरेको सहयोग उल्लेखनीय रहेको मन्त्री खतिवडाले बताए ।

सन् २००४ देखि नै नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि नेपाल स्वास्थ्य क्षेत्र रणनीति कार्यान्वयनका लागि बेलायत सरकारले गरेको योगदानको समेत मन्त्री खतिवडाले स्मरण गरे । राजदूत पोलिटले जिज्ञासाका सन्दर्भमा स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सेवातर्फका सचिव डा. रोशन पोखरेलले थप प्रष्ट पारेका थिए ।

सोही अवसरमा राजदूत पोलिटले बेलायत सरकारका तर्फबाट अस्ट्राजेनेका खोप २१ लाख मात्रा मन्त्री खतिवडालाई हस्तान्तरण गरेकी छन् । भेटघाट कार्यक्रममा सचिव पोखरेल, प्रवक्ता डा सङ्गीता मिश्रालगायतका मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *