आईसीसी वरीयतामा दीपेन्द्रको फड्को, रिसभ पन्त र पोलार्डलाई पछि पारे – Nepal Press

आईसीसी वरीयतामा दीपेन्द्रको फड्को, रिसभ पन्त र पोलार्डलाई पछि पारे

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी आईसीसीको टी–२० ब्याटिङ वरीयतामा एकैपटक उत्कृष्ट ५० नजिक पुगेका छन् ।

ओमानमा हालै खेलेका ३ म्याचमा उत्कृष्ट प्रदर्शनसँगै उनले ५२ औं वरीयता हासिल गरेका हुन् । यो कुनै पनि नेपाली खेलाडीको अहिलेसम्मकै उच्च वरीयता हो ।

यसअघि दीपेन्द्र आईसीसीको टप १०० वरीयतामै थिएनन् । बुधवार आईसीसीले सार्वजनिक गरेको ब्याटिङ वरीयतामा उनले थुप्रै विश्वस्तरीय व्याट्सम्यानलाई पछि पारेका छन् ।

भारतीय ब्याट्सम्यान रिसिभ पन्त, वेस्ट इन्डिजका काइरन पोलार्ड, ईंग्ल्यान्डका मोइन अलि, बंगलादेशका सकिब अल हसन, अष्ट्रेलियाका मार्कस स्टोइनिसजस्ता ब्याट्सम्यानहरु उनीभन्दा पछाडि छन् ।

हालै ओमानमा सम्पन्न चारदेशीय टी–२० श्रृंखलामा दीपेन्द्रले उत्कृष्ट प्रदर्शन गरेका थिए । तीन खेलमा कुल १ सय ४२ रन बनाएका दीपेन्द्र दुईपटक म्यान अफ द म्याच भएका थिए । उनले आयरल्यान्डविरुद्व उत्कृष्ट बलिङ गर्दै चार विकेटसमेत लिएका थिए ।

यसअघि नेपालबाट कुशल भुर्तेल ५५ औं स्थानमा थिए । अहिले उनी ६५ औं स्थानमा झरेका छन् । यी दुई बाहेक अरु नेपाली ब्याट्सम्यान वरीयतामा परेका छैनन् ।

बलिङतर्फ नेपाली टिमका कप्तान सन्दीप लामिछाने ६३औं वरीयतामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर