आयरल्यान्डविरुद्ध इतिहास रच्न चुकेको नेपाल : बलरले बनाएको अवसर ब्याट्सम्यानले खेर फाले – Nepal Press

आयरल्यान्डविरुद्ध इतिहास रच्न चुकेको नेपाल : बलरले बनाएको अवसर ब्याट्सम्यानले खेर फाले

काठमाडौं । कुनै पनि खेलमा आफूभन्दा बलियो टोलीलाई हराउनु सजिलो हुँदैन । तर कहिलेकाहीँ तुलानात्मकरुपमा कमजोर टोलीहरुले पनि विपक्षीलाई दबावमा राख्न सफल हुन्छन् । त्यो दबावको अवस्थालाई जितसम्म लैजान चाहिँ बलियो आत्मविश्वास र फिनिसिङ रणनीति चाहिन्छ ।

क्रिकेटमा नेपालभन्दा बलियो राष्ट्र हो, आयरल्यान्ड । टेस्ट मान्यता पाएको आयरल्यान्डलाई पहिलोपटक पराजित गर्ने अभूतपूर्व मौका हिजो नेपालले सिर्जना गरेको थियो, जुन खेर गयो । नेपाली बलरहरुले १२७ रनमा आयरल्यान्डलाई समेटेर जितको आधार सिर्जना गर्न सफल भए तापनि ब्याट्सम्यानहरुले बाँकी जिम्मेवारी निभाउन सकेनन् ।

समकालिन टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १२८ रनको लक्ष्यलाई मामुली मानिन्छ । २ सयभन्दा बढीका स्कोरहरु पनि चेज हुन थालेका छन् । साथै, नेपालको ब्याटिङ स्तर पनि पछिल्लो समयमा उकासिएको छ । यसर्थ हिजो नेपालले दोस्रो इनिङमा ब्याटिङ थाल्दा ऐतिहासिक जितको आशा गरेका थिए समर्थकहरुले ।

एक वर्षअघि नेपालमै आयोजित त्रिकोणात्मक टि–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा बलियो टोली नेदरल्यान्ड्सलाई नेपालले २ सय ३९ रनको लक्ष्य दिएको थियो । लगातार तीनवटा खेलमा २ सयभन्दा बढी रन बनाएका थिए नेपाली ब्याट्सम्यानले । नेपालले आयरल्यान्डविरुद्ध पहिलो रोजाइको टिम उतारेकाले पनि १ सय २८ रनको लक्ष्य सजिलै पुरा हुन सक्ने अनुमान थियो ।

नेपालको तल्लो क्रमसँग ब्याटिङ गर्न सक्ने क्षमताका खेलाडीहरु थिए । आसिफ शेख र कुशल भुर्तेलको ओपनिङ जोडी शानदार फर्ममा चलिरहेको थियो । मध्यक्रममा दिपेन्द्र सिंह ऐरीले एकपछि अर्को म्याचमा आफ्नो उत्कृष्टता देखाइरहेका थिए । ज्ञानेन्द्र मल्ल र शरद भेषावकरको अनुभव तथा लोकेश बम र कुशल मल्लको आक्रामकताले नेपालको ब्याटिङ सन्तुलित देखिएको थियो । अनि पछिल्लो क्रममा आवश्यक पर्दा कमलसिंह ऐरी र सन्दिप लामिछानेले पनि ठूला सटहरु खेल्न सक्छन् । तर, आयरल्यान्ड विरुद्धको म्याचमा नेपालको सबै अस्त्र फेल खाए ।

आयरल्यान्डसँगै अफगानिस्तानले सन् २०१७ मा मात्र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) बाट टेस्ट मान्यता पाएका हुन् । त्यसअघि उनीहरु पनि नेपाल झैँ एसोसिएट सदस्य थिए । एसोसिएट भएपनि अन्तर्राष्ट्रिय क्रिकेटमा उनीहरुको स्तर नेपालभन्दा केही माथि थियो ।

यसपटक तोकिएको समयभित्र विश्व वरियताको शीर्ष १२ भित्र नरहेकाले आयरल्यान्डले विश्वस्तरको छनोट खेल्नु परेको हो । आगामी साता ओमानमा सुरु हुने विश्वस्तरको छनोटअघि आयोजित यो शृंखला सहभागी चारवटै टोलीसामू आफूलाई परिक्षण गर्ने गतिलो अवसर थियो ।

पछिल्लो समय एसोसिएट टोलीमध्ये सबैभन्दा बलियो देखिएको ओमानलाई पहिलो खेलमा ६ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा यूएईसँग २५ रनले पराजित भएको थियो । आयरल्यान्डल‍े पनि पहिलो खेलमा ओमानलाई हराएको थियो भने दोस्रो खेलमा यूएईसँग पराजित भएको थियो ।

विश्वकप छनोटको पूर्वसन्ध्यामा आयरल्यान्डलाई हराउँदा नेपालसामू दुईवटा अवसर थिए, एउटा शृंखलाको उपाधि जित्ने र अर्को टेस्ट टोलीलाई हराउने । टेस्ट टोलीलाई हराउनु आईसीसीबाट टेस्ट मान्यता पाउने एउटा महत्वपूर्ण आधार मानिन्छ ।

उपाधि जित्नका लागि नेपालले १४ औँ ओभरभित्र लक्ष्य पुरा गर्नु पथ्र्यो । शृंखला जित्नुभन्दा टेस्ट टोलीलाई हराउनु नेपालका लागि अझै ठूलो सफलता हुने थियो । शृंखला जित्न नेपालले औसतमा प्रतिओभर १० रन बनाउनु पर्ने थियो । आयरल्यान्डलाई हराउन मात्र नेपालले प्रतिओभर औसत करिब ६.५ रन बनाए पुग्थ्यो ।

तर सामान्य लक्ष्य पछ्याउँदै मैदान उत्रिएको नेपाल खराब सटहरुको शिकार बन्यो । ब्याट्सम्यानको सुरुवाती शैली हेर्दा उनीहरु १४ औँ ओभरभित्र लक्ष्य पुरा गरेर शृंखला जित्न चाहेको भान हुन्थ्यो । नेपालले सुरुका चार ओभरमा विकेट नगुमाई २६ रन जोडेको पनि थियो । तर पाचौँ ओभरको पहिलो बलमा ‘स्कुप’ सट प्रहार गर्दा खोज्दा भुर्तेल बोल्ड भए । भुर्तेल आउट भएसँगै नेपालका ब्याट्सम्यान तासको घर झैं धराशयी हुँदै गए ।

छैटौं ओभरको चौथो बलमा खराब सट खेलेर लोकेश बम क्याच आउट भए । आठौँ ओभरको दोस्रो बलमा आसिफ पनि बमकै शैलीमा पेभेलियन फर्किए । नेपालले १० ओभरमा ५९ रन जोड्दा ३ विकेट गुमाएको थियो ।

१२ औँ र १३ औँ ओभरमा दुई अनुभवी ब्याट्सम्यान ज्ञानेन्द्र र शरद आउट भए । सबैभन्दा बढी भरोसा गरिएका दिपेन्द्र ऐरी १७ औँ ओभरको दोस्रो बलमा आउट हुँदा पनि नेपालको आशा मरेको थिएन । कुशल मल्ल र कमल ऐरी बाँकी नै थिए ।

नेपाललाई अन्तिम दुई ओभरमा २४ रन चाहिएको थियो तर १९ औँ ओभरको दोस्रो र तेस्रो बलमा कुशल र कमल लगातार आउट भए । यसरी पहिलोपटक टेस्ट टोलीलाई हराउने मौका नेपालले खेर फाल्यो ।

स्ट्राइक रोटेट गरेर खेल्दा पुग्ने अवस्थामा नेपाली ब्याट्सम्यानहरु चौका र छक्कामा बढी केन्द्रीत हुन खोज्दा नेपाल दबावमा परेको थियो । ज्ञानेन्द्रले १२ बल खेलेर ५ रनमात्र जोडे । चौका र छक्का प्रहार गर्न सकेनन् ।

यसैगरि महत्वपूर्ण समयमा क्रिजमा पुगेका कुशल बढी डिफेन्सिभ देखिए । उनले‍ १६ बलमा ९ रन मात्र जोडे भने एउटा पनि छक्का चौका प्रहार गर्न सकेनन् । भुर्तेल, आसिफ र कमलको स्ट्राइक रेट मात्र एक सयभन्दा माथि रह्यो ।

आयरल्यान्डसँगको म्याचपछि कप्तान सन्दीपले हतार गर्दा हार ब्यहोरेको भन्दै कमजोरी स्वीकार गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर