नर्भिक अस्पताललाई टेस्ट ट्यूब बेबी सेवाको अनुमति – Nepal Press

नर्भिक अस्पताललाई टेस्ट ट्यूब बेबी सेवाको अनुमति

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल जनस्वास्थ्य सेवा नियमावली, २०७७ लागू भएपछि टेस्ट ट्यूब बेबी (आइभिएफ) सञ्चालनको इजाजत पाउने देशकै पहिलो अस्पताल बनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्भिकलाई नयाँ व्यवस्थाअनुसारको मापदण्ड पूरा गरेको आधारमा आइभिएफ सेन्टर संचालनको इजाजत दिएको हो ।

जनस्वास्थ्य सेवा नियमावली, २०७७ बमोजिम टेस्ट ट्यूब बेसी (आइभिएफ) सञ्चालन गर्ने इजाजतपत्रका लागि नर्भिकले २०७८ साउन १२ गते निवेदन दिएको थियो । २०७८ माघ २५ गते सो निवेदनउपर कारबाही भई सचिवस्तरको निर्णयबाट नर्भिकलाई आइभिएफ सेन्टर संचालनको इजाजत दिइएको हो ।

जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ बमोजिम नर्भिकलाई आइभिएफ सेन्टर संचालनको इजाजत दिइएको महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले जानकारी दिए ।

उपाध्यायका अनुसार जनस्वास्थ्य नियमावली २०७७ ले व्यवस्था गरेअनुसारको मापदण्ड पूरा गरी आइभिएफ सेन्टर संचालनको इजाजत पाउने नर्भिक पहिलो अस्पताल बनेको छ । यसअघि विभिन्न ठाउँमा संचालनमा रहेका आइभिएफ सेन्टरहरु कुनै जिल्ला, कुनै क्षेत्रबाट इजाजतप्राप्त थिए ।

नर्भिकले अस्पतालको मुख्य भवनको विपरीत दिशामा अलग्गै भवनमा आइभिएफ सेन्टरका सबै आधुनिक पूर्वाधारहरु तयार गरी परामर्श सेवा संचालन गर्दै आएको छ । सुविधासम्पन्न र आधुनिक आइभिएफ सेन्टरमा जेनेटिक ल्याबसहितको अत्याधुनिक उपचार सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *