ओमानमा चल्लान् नेपालका ‘बिग हिटर्स’ ? – Nepal Press
टी-२० विश्वकप छनोट

ओमानमा चल्लान् नेपालका ‘बिग हिटर्स’ ?

काठमाडौं । टी-२० क्रिकेटलाई ‘पावर गेम’ पनि मान्ने गरिन्छ । ठूला र कडा सट प्रहार गर्न सक्ने ब्याट्सम्यानले एक-दुई ओभरमै खेलको दिशा बदलिदिन सक्छन् ।

जोखिम मोलेर छक्का प्रहार गर्न सक्ने क्षमता भएका खेलाडीलाई ‘पावर हिटर’, ‘बिग हिटर’, ‘पिन्च हिटर’ जस्ता अनेक नाम दिने गरिन्छ । विगतमा नेपाली क्रिकेट टिममा यस्ता खेलाडीहरूको खडेरी थियो । ठूला सट हान्ने क्षमता भएका खेलाडीले पनि जोखिम मोल्न चाहँदैन थिए । छक्का-चौका हान्नेभन्दा दौडेर रन लिनलाई नै प्रशिक्षकले प्रेरित गर्थे ।

तर, केही समयदेखि नेपालको ब्याटिङ शैली बदलिएको छ । खासगरी, टी-२० मा ब्याट्सम्यानहरूले खुलेर खेल्न थालेका छन्, जसले गर्दा स्ट्राइकर रेटमा सुधार भएको छ । साथै, ठूला सटहरू प्रहार गर्न सक्ने खेलाडी अहिलेको टिममा खचाखच छन् । नेपालले टी-२० विश्वकपको लागि छनोट खेलिरहँदा यी खेलाडीहरूले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् ।

को-को हुन् त बलिया पाखुरा भएका ब्याट्सम्यान ?

१. शरद भेषवाकर

नेपाली टिमका सर्वाधिक अनुभवी ब्याट्सम्यान शरद भेषवाकरले ‘पावर हिटर’ को छवि कहिल्यै बनाएनन् । प्राय उनी संयमित भएर सुस्त गतिमा ब्याटिङ गर्ने गर्छन् । तर, उनीसँग विष्फोटक ब्याटिङ गर्ने क्षमता छ ।

सन् २०१४ को टी-२० विश्वकपका लागि भएको विश्वस्तरको छनोटअन्तर्गत केन्याविरुद्धको म्याचमा पहिलोपटक शरदको आक्रमक शैली देखिएको थियो । उक्त म्याचमा शरदको ब्याटले नेपाललाई हारबाट जोगायो ।

पहिला ब्याटिङ गरेको केन्याले एक सय ८३ रनको विशाल लक्ष्य दिएको थियो । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले त्यसअघि यति ठूलो लक्ष्य कहिल्यै पछ्याएको थिएन ।

नेपाललाई अन्तिम ओभरमा १७ रन चाहिएको थियो । स्ट्राइकमा थिए, शरद । चर्को दबाबबीच शरदले ‘फियरलेस’ ब्याटिङ गरे । उनले २० औँ ओभरको सुरूका चार बलमा ३ छक्कासहित २० रन जोड्दै केन्यालाई स्तब्ध बनाए । नेपालले ठुलो लक्ष्य पनि भेट्टाउन सक्छ भन्ने आत्मविश्वासको विजारोपण भएको खेल थियो त्यो ।

सोही प्रतियोगिताको क्वाटरफाइनलमा हङकङविरुद्ध पनि शरदले उत्कृष्ट फिनिसिङ गरे । यही खेलले नेपाललाई पहिलोपटक विश्वकपमा पुर्‍याएको थियो । अन्तिम ओभरमा १३ रन चाहिएको अवस्थामा शरदले एक छक्का र एक चौका प्रहार गर्दै टिमलाई सनसनी जित दिलाएका थिए ।

२. करण केसी

नेपाली टोलीले ब्याटिङमा ‘दम’ देखिएको अर्को एक खेल हो- आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन-२ अन्तर्गत सन् २०१८ को फेब्रुअरीमा क्यानडाविरुद्ध भएको खेल । १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले १ सय ४४ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो । क्रिजमा थिए करण केसी र सन्दीप लामिछाने ।

क्यानडाले खेल जित्ने लगभग शतप्रतिशत स्थिति थियो । खेल हार्दा नेपाल एकदिवशीय विश्वकपको विश्वस्तरको छनोटमा पुग्ने थिएन । नेपाल हारको संघारमा पुगेको सो म्याचमा करणले अविश्वसनीय व्याटिङ गरे । उनले ३१ बलमा तीन चौका र चार छक्कासहित नटआउट ४२ रन बनाएर नेपालको अविस्मरणीय जित दर्ता गरे ।

अन्तिम ओभरमा नेपाललाई ८ रन चाहिएको थियो । करनले सुरूका चार बलमा रन जोड्न सकेनन् । तर, पाचौँ बलमा छक्का प्रहार गर्दै करणले माहोल नेपालको पक्षमा ल्याए । अर्को बल क्यानडाले वाइड फ्याँक्यो । अन्तिम बलमा एक रन जोड्दै करणले नेपाललाई विश्वस्तरको छनोटमा पुर्‍याएका थिए । विश्वस्तरको छनोटमार्फत नेपालले पहिलोपटक एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता प्राप्त गरेको थियो । नेपाली ब्याटिङले थपेको अर्को परिचय थियो- पछिल्लाक्रमका ब्याट्सम्यानले पनि रन बनाउने क्षमता राख्छन् ।

दुब्ला पातला खेलाडीहरूको बाहूल्य रहेको टिममा गठिलो ज्यानका करण शक्तिशाली प्रहारका लागि चिनिन्छन् । उनी रनिङ विटविन दि विकेटमा त्यति विश्वास गर्दैनन् । प्राय जोखिम मोलेर छक्का हान्न खोज्दा चाँडै विकेट पनि गुमाउँछन् ।

यदि विकेटमा केही समय टिके भने विपक्षीको हातबाट नतिजा खोस्न सक्ने खतरनाक क्षमता करणमा छ । यो घरेलु क्रिकेटमा मात्रै नभएर अन्तर्राष्ट्रिय क्रिकेटमा पनि बारम्बार देखिएको छ । त्यसैले पहिले विशुद्ध बलरका रूपमा टिममा समावेश गरिएका करण अहिले बलिङ अलराउन्डरका रूपमा चिनिन थालेका छन् । नेपाललाई तीव्र गतिमा रन चाहिएको बेला प्रशिक्षकले उनलाई क्रिजमा धकेल्न रुचाउँछन् ।

३. दीपेन्द्रसिंह ऐरी

नेपाली क्रिकेट टिमका भरपर्दा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी सबैखाले ‘सिचुयसन’ मा आफूलाई ढाल्न सक्ने ब्याट्सम्यान हुन् । उनी आक्रामक वा रक्षात्मक कुनै पनि शैलीमा खेल्न सक्छन् ।

नेपाली टिममा पारस खड्का हुँदासम्म नेपालको ब्याटिङ उनमा धेरै निर्भर थियो । पारसको अनुपस्थितिमा उत्पन्न भएको रिक्ततालाई पूर्ति गर्न सबैभन्दा बढी ऐरीबाटै आशा गरिएको छ । उनले आफूलाई त्यही ढंगले निखार्दै पनि गइरहेका छन् ।

दीपेन्द्रले धेरैपटक अन्तर्राष्ट्रिय म्याचमा आफ्नो उत्कृष्टता प्रस्तुत गरिसकेका छन् । उनी प्राय सकारात्मक अन्दाजमा खेल्ने गर्छन् । विकेटमा आफूलाई व्यस्त राख्छन् र कुनै पनि तरिकाबाट रन बटुल्न खोज्छन् । आवश्यकता अनुसार ठूला शट खेलेर विपक्षी बलिङको तेजोबध गर्न सक्ने क्षमता पनि दीपेन्द्रमा छ ।

यसअघि नेपाली टिमका उपकप्तान रहेका ऐरीलाई हालै नेपाल क्रिकेट संघले कारवाही गर्दै उपकप्तान खोस्यो । यसले उनलाई केही निराश अवश्य तुल्याएको छ । यद्यपि, टिमका महत्वपूर्ण सदस्यका रूपमा उनले योगदान दिने अपेक्षा छ । मध्यक्रममा दीपेन्द्रको उपस्थितिले नेपाली टिम बलियो बनेको छ ।

दीपेन्द्रले अहिलेसम्म २६ टी-२० खेलमा एक अर्धसतकसहित ४७७ रन बनाएका छन् । उनको स्ट्राइक रेट १२६.८६ छ ।

४. कुशल मल्ल

नेपाली टिमले धेरै आशा गरेका ब्याट्सम्यानमा पर्छन् कुशल मल्ल । तथापि, पछिल्लो समयमा उनी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खराब फर्मबाट गुज्रिरहेका छन् । यद्यपि, घरेलु क्रिकेटमा देखाएको गज्जबको प्रदर्शनका कारण उनी टिममा पर्न सफल भए ।

कुशल पनि आक्रामक ब्याटिङका लागि चिनिन्छन् । उनले सबैभन्दा कम उमेरमा एकदिवसीय क्रिकेटमा अर्धसतक बनाउने खेलाडीको विश्वकिर्तिमान समेत राखेका थिए । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तरगत अमेरिका विरुद्ध ४९ बलमा अर्धसतक प्रहार गर्दा कुशल १५ वर्ष ३४० दिनका लागि । सो म्याचमा उनले तीन छक्का प्रहार गरेका थिए ।

नेपाली क्रिकेट टिमले गत असोजमा गरेको ओमान भ्रमणमा भने कुशलले बिर्सनलायक प्रदर्शन गरेका थिए । ५ वटा म्याच खेल्दा उनले केवल सात रन बटुलेका थिए । उनको उच्च स्कोर थियो- ४ रन । पपुवा न्युगिनी, अमेरिका र ओमानविरुद्धका खेलहरूमा कुशलको आत्मविश्वास नराम्ररी डग्मगाएको थियो ।

यद्यपि, त्यसयता भएको घरेलु क्रिकेटमा कुशलले आफ्नो गुमेको आत्मविश्वास फर्काएका छन् । बायाँ हाते ब्याट्सम्यानसँग रक्षात्मक व्याटिङको कौशल कमजोर छ । जसले गर्दा उनी बारम्बार ‘फेल’ हुन पुग्छन् ।

आसन्न ओमान भ्रमणका लागि छनोट भएको टिममा परे पनि अन्तिम ११ मा स्थान बनाउन भने कुशलका लागि सहज छैन । मध्यक्रममा नेपालसँग धेरै ब्याट्सम्यानहरू छन् । शरद भेषावकर, आरिफ शेख, प्रदीप ऐरी, लोकेश बमजस्ता खेलाडीहरूसँग उनले आफ्नो स्थानका लागि प्रतिस्पर्धा गर्नुपर्ने छ । यद्यपि, बलिङको पनि क्षमता भएकाले त्यो उनका निम्ति प्लस प्वाइन्ट बन्न सक्छ ।

५. लोकेश बम

युवा खेलाडी लोकेश बमले अन्तर्राष्ट्रिय क्रिकेटमा आफूलाई प्रमाणित गर्न बाँकी नै छ । घरेलु क्रिकेटमा उनको विष्फोटक ब्याटिङ शैलीलाई अन्तिम समयमा ओमान जाने टिममा समावेश गरेका छन् । ओमानमा उनको ब्याट चल्यो भने त्यो नेपाली टिमका लागि वरदान हुन सक्छ ।

लोकेशलाई टी-२० स्पेसलिस्ट ब्याट्सम्यानका रूपमा हेरिएको छ । घरेलु क्रिकेटमा उनले आफूलाई विष्फोटक ब्याट्सम्यानका रूपमा चिनाइसकेका छन् । हालै सम्पन्न भएको प्रधानमन्त्री कप क्रिकेटमा उनले प्रेरणादायी प्रदर्शन गरेका थिए । सोही प्रदर्शनको बलमा उनले राष्ट्रिय टिममा स्थान बनाएका हुन् ।

सशस्त्र प्रहरी बल एपीएफलाई उपाधि विजेता बनाउन लोकेशको महत्वपूर्ण भूमिका थियो । सेमिफाइनलमा उनले सनसनीपूर्ण ब्याटिङ गर्दै १८ बलमै ९ छक्का र २ चौकासहित अविजित ६६ रन बनाएका थिए । फाइनलमा पनि १५ बलमा तीन छक्कासहित २७ रन जोडेका थिए ।

त्यसअघि समूह चरणको खेलमा पनि लोकेशको ब्याटबाट एउटा विष्फोटक पारी निस्केको थियो । उनले २४ बलमा १ छक्का र १० चौका प्रहार गर्दै अर्धसतक बनाएका थिए ।

विष्फोटक शैलीमा खेल्ने प्राय ब्याट्सम्यानको समस्या हुन्छ, प्रदर्शनमा एकरूपता नहुनु । जोमिखयुक्त सट खेल्ने हुँदा चाँडै आउट हुने खतरा धेरै हुन्छ । लोकेशको समस्या पनि यही हो । उनको प्राकृतिक शैली भनेको आट्याकिङ हो । तर, कहिलेकाहीँ परिस्थितिको मागअनुसार सम्हालिएर ब्याटिङ गर्नुपर्ने हुन्छ । त्यसका लागि एक-दुई रन बटुल्ने कला चाहिन्छ । यो पक्षमा पनि सुधार गरे भने लोकेश लामो रेसको घोडा बन्न सक्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर