रोयल्टी समाजको दबाबपछि रचनाको गीतमा राखियो अञ्जु पन्त र जगदिश समालको नाम – Nepal Press

रोयल्टी समाजको दबाबपछि रचनाको गीतमा राखियो अञ्जु पन्त र जगदिश समालको नाम

काठमाडौं । चौतर्फी विवादपछि गायिका रजना रिमालको स्वरमा रहेको नयाँ गीत ‘न बिर्सेँ तिमीलाई’को भिडिओको विवरणमा गायिका अञ्जु पन्त र गायक जगदीश समालको नाम समेत समावेश गरिएको छ । मौलिक गीतमा नाम समावेश नगरिए कानूनी कार्वाहीमा अघि बढ्ने नेपाल रोयल्टी समाजको चेतावनीपछि अन्जु र जगदिशको नाम उल्लेख गरिएको हो ।

दशकअघिको हिट गीत ‘न बिर्सेँ तिमीलाई’को नयाँ संस्करण रचनाको स्वरमा गतसाता रिलिज भएको थियो । उक्त गीत सार्वजनिक भएपछि गायिका पन्त र गायक समालको नाम उल्लेख नभएकोमा चर्को आलोचना भइरहेको थियो ।

नयाँ थपिएको भिडिओमा उल्लेख गरिएको छ : ‘‘२०६४ सालमा रञ्जना म्युजिक इन्डष्ट्रिजबाट बजारमा आएको गीतकार विपिन किरणको गीति एल्बम ‘किरण’भित्र समावेश यो गजल हामीले रि–रेकर्ड गरेर लिएर आएका छौं । उक्त समयमा अञ्जु पन्त र जगदीश समालले गाउनुभएको यो गजलको लिंक समेत यही समावेश गरेका छौं ।’

यसैबीच, गीतकार विपिन किरणले आफ्नो एल्बममा समावेश गीतको अभिलेख राख्ने क्रममा कानुनतः रि-रेकडिङ्ग गरेको गीतको राख्नु नपर्ने भन्ने भएकाले नराखिएको उल्लेख गरेका छन् । ‘अन्यथा मेरै रचना, मेरै एल्बम अनि आफूले दुःख साथ प्रमोसन गरेर यो उचाइमा पुर्‍याएका ती गजलहरुको विवरण नराख्ने भन्ने सवाल नै हुँदैन । जुन विषयमा यहाँहरुको चासोलाई सम्बोधन गर्दै सो कुरालाई हामीले गीतको विवरणमा समावेश गरिसकेका छौं’ उनले लेखेका छन् ।

गीतकार विपिनले अब यो गजललाई किड्स भर्सन, मेल भर्सन साथै विभिन्न भाषामा अनुवाद गरेर समेत सार्वजनिक गर्ने तयारीमा रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *