रविको दुईगोलमा पुलिस विजयी, च्यासललाई थप रेलिगेशनको चिन्ता – Nepal Press

रविको दुईगोलमा पुलिस विजयी, च्यासललाई थप रेलिगेशनको चिन्ता

काठमाडौं । रवि शंकर पासवानको दुई गोल प्रेरित नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल युथ क्लबलाई २‍‍–१ गोलको नतिजामा पराजित गरेको छ ।

बुधबार दशरथ रंगशालामा भएको नवौं चरणको खेलमा च्यासललाई जित दिलाउन रविले दुई गोल गरे । भने, च्यासलका लागि मोउसा आबागानाले सान्त्वना गोल गरे ।

खेलको ३७औं मिनेटमा रविले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । उनले निर कुमार राईको पासमा बक्स भन्दा ठिक बाहिरबाट गोल गरेका थिए । रविले सुमन लामालाई पास गरेको बल च्यासलका गोलकिपर अर्पन कार्कीले अगाडी बढेर रोक्न खोज्दा बलले पोष्टको दिशा लिएको थियो ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको पुलिसले अग्रता जोगाउन नसक्दा ५३औं मिनेटमा गोल खाएको थियो । पुलिसका कप्तान सुमन सुवेदीले पेनाल्टी एरियामा मिडफिल्डर रुमेश बर्तौंलालाई फाउल गरेपछि च्यासलले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमा मोउसा आबागानाले बराबरी गोल फर्काएका थिए ।

यस्तै, ७०औं मिनेटमा रविले सुमन लामाको क्रसमा व्यक्तिगत दोस्रो गोल गर्दै पुनः पुलिसलाई अग्रता दिलाएका थिए ।

च्यासलले ८३औं मिनेटमा बराबरी गोल गर्ने सुन्दर मौका खेर फालेको थियो । डिफेन्डर कमल श्रेष्ठको कर्नरमा अभिषेक लिम्बुको हेडर तेज पुलिसका मिडफिल्डर तामाङले गोल लाइनबाट क्लियर गरिदिएका थिए ।

खेलको निर्धारित समयसम्मपनि दुवै टोलीले पाएका अवसरहरु सदुपयोग गर्न नसक्दा थप गोल हुन सकेन ।

पुलिस जितसँगै ९ खेलबाट १०अंकसहित तालिकाको दशौं स्थानमा उक्लिएको छ । पराजित च्यासल रेलिगेशन क्षेत्रमा छ । पराजित भएसँगै च्यासललाई रेलिगेसनको थप दबाब बढेको छ ।

लिगमा योसँगै नवौं चरणको खेलहरु सकिएका छन् । नवौं चरणको समाप्तिमा सविक विजेता मछिन्द्र फुटबल क्लब तालिकाको शीर्ष स्थानमा छ । दशौं चरणका खेलहरु शुक्रबारबाट सुरु हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर