‘न बिर्सें तिमीलाई…’ को नयाँ भर्सनबारे अञ्जु पन्तले भनिन्- रचना छोरीसमान, तर दु:खी छु – Nepal Press

‘न बिर्सें तिमीलाई…’ को नयाँ भर्सनबारे अञ्जु पन्तले भनिन्- रचना छोरीसमान, तर दु:खी छु

काठमाडौं । कालजयी गजल ‘न बिर्सें तिमीलाई…’ को नयाँ भर्सनलाई लिएर उत्पन्न विवादमा गायिका अञ्जु पन्तले मुख खोलेकी छन् । रचना रिमालको स्वरमा पुनः रेकर्ड गरिएको गीतप्रति उनको असन्तुष्टी देखिएको छ ।

हाल अमेरिकामा रहेकी अञ्जुले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गरेकी हुन् ।

फेसबुकमा उनले लेखेकी छन्, ‘उही संगीत, उही एरेन्जमेन्ट, नयाँ भर्सनमा ओरिजिनल गायक–गायिकाको नाम उल्लेख नगरी अफिसियल भनेर सार्वजनिक हुनु दुःखद र अन्यायपूर्ण कुरा हो,’ उनले लेखेकी छन् ।

अञ्जुका अनुसार यो गजल नयाँ एरेन्जमा उनकै आवाजमा रेकर्ड गर्ने तयारी गरिएको थियो । सोही अनुसार एरेन्जर महाराज थापाले गरेको नयाँ एरेन्ज आफूलाई पठाइएको र समय मिलाएर पुनः रेकर्ड गर्ने योजना रहेको उनले बताएकी छन् ।

‘अहिले नयाँ भर्सनमा गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ । मेरी छोरी समानकी रचना नानु लगायत सबै नवआगन्तुक कलाकारप्रति सधैं स्वागत, आशिर्वाद र धेरै माया छ,’ उनले भनेकी छन् ।

उनी थप्छिन्, ‘के र कुन उद्देश्यका लागि यस्तो भयो भन्ने मलाई थाहा भएन । म एक व्यक्तिको कुरा भन्दा पनि यो चलनले भोलिका दिनमा संगीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार नै पो भुल्न लागिरहेका छैनौं भन्ने चिन्ता लागेको छ । ’

सम्वन्धित पक्षले यो विषयलाई दर्शक स्रोताको मागअनुसार समाधानको उपाय निकाल्ने उनले आशा व्यक्त गरेकी छन् । भविष्यमा कोही पनि कलाकार अपमानित र अन्यायमा परेको अनुभूति गर्नै दिन कहिल्यै नआओस,’ अञ्जुले भनेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *