आइतबारदेखि फिल्म हलहरु खुल्ने : चल्दाचल्दै रोकिएका फिल्मलाई पुनः प्रदर्शन तयारी – Nepal Press

आइतबारदेखि फिल्म हलहरु खुल्ने : चल्दाचल्दै रोकिएका फिल्मलाई पुनः प्रदर्शन तयारी

काठमाडौं । कोरोनाभाइरस तेस्रो लहरको कारण बन्द रहेका काठमाडौंका फिल्म हलहरु फागुन १ गतेदेखि संचालनमा आउने भएका छन् ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसमा काठमाडौैं, भक्तपुर र ललितपुरका तीन सीडीओको संयुक्त बैठकले फिल्म हल, रात्रीकालिन व्यवसाय र विद्यालयलाई आगामी आइतबारदेखि संचालन अनुमति दिने निर्णय गरेको हो ।

प्रशासनको निर्णयसँगै हल संचालकले फागुन १ गतेदेखि सेवा संचालन गर्ने तयारी थालेका छन् । काठमाडौं उपत्यका बाहिरका फिल्म हल संचालनको निर्णय चाहिँ सम्बन्धित जिल्ला प्रशासनहरुले गर्नेछन् ।

मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले तेस्रो लहरमा चल्दाचल्दै रोकिएका फिल्मलाई रिलिज गर्ने जनाएको छ । स्पाइडरम्यान, पुष्पा, कठ्पुतली, जापानी सुपरहिरो फिल्म एनिमे र चपली हाइट ३ चल्दाचल्दै रोकिएका थिए ।

नयाँ फिल्म रिलिज नहुने भएपछि फागुन २ गते परेको भ्यालेन्टाइन्स डे रित्तै हुने भएको छ । कोरोना महामारीअघिका वर्षमा भ्यालेन्टाइन डेमा फिल्म हेर्न दर्शकको घुइँचो लाग्थ्यो ।

एप्पल इन्टरटेनमेन्टले हलिउडको बहुप्रतीक्षित फिल्म किंग्सम्यानलाई फागुनको पहिलो शुक्रबारदेखि रिलिज गर्ने भएको छ जसले गर्दा हल खुलेलगत्तै किंग्सम्यान आउनेछैन ।

वितरक मनोज राठीले १ गतेसम्मको अवस्था हेरेर रवि तेजा स्टारर फिल्म ‘खिलाडी’ रिलिज वा नगर्ने निर्णय हुने बताए । भारतमा ११ फेब्रुअरीमै रिलिज हुने भएपनि नेपालमा चाहिँ यसबारे टुंगो लागिसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *