‘धेरै वर्षपछि झरी पर्‍यो’ गीतमा मेरो जीवनको एउटा हिस्सा छ : यशकुमार – Nepal Press

‘धेरै वर्षपछि झरी पर्‍यो’ गीतमा मेरो जीवनको एउटा हिस्सा छ : यशकुमार

काठमाडौं । हिजोदेखि काठमाडौंलगायत देशभर वर्षा भइरहेको छ । भ्यालेन्टाइन सप्ताह पनि नजिकिँदैछ । यही सेरोफेरोमा हामीले गायक यशकुमारसँग डेढ दशकअघिको ‘धेरै वर्षपछि आज फेरि झरी पर्‍यो’ गीतको रचनागर्भबारे कुराकानी गरेका छौँ । यस गीतमा यशकुमारकै शब्द, संगीत र स्वर रहेको छ ।

‘धेरै वर्षपछि आज फेरि झरी पर्‍यो गीत मेरो सांगीतिक करिअरकै उत्कृष्ट गीत हो । जब-जब सहरमा झरी पर्छ, यो गीतलाई म सधैँसधैँ सम्झिरहन्छु । मेरो जीवनको एउटा हिस्सा पनि यो गीतमा छ ।’

यो गीतले प्रेमिका गुमाएका, प्रेमी गुमाएका सबैलाई विगतको याद दिलाउँछ । यो ममा पनि लागू हुन्छ । मेरो जीवनमा पनि मैले कोही अत्ति प्रिय मान्छेलाई गुमाउनु परेको थियो । कहिलेकाहीँ उसको बेस्सरी याद आउँदा म यही गीत सुन्ने गर्छु ।

कुनै समयमा गहिरो प्रेममा परेका प्रेमी-प्रेमिकाको प्रेमिल दिनहरूको सम्झना हो यो गीत । प्रेममा रहँदा उनीहरू सँगसँगै हिँड्थे, डुल्थे । एउटै झरीमा सँगै रुझ्थे । कुनै दिन सधैँका लागि टाढिनुपर्छ भनेर सोचेका पनि थिएनन् । तर, समयले यस्तो खेल खेल्यो कि उनीहरू छुट्टिए ।
छुट्टिएपछि प्रेमीको आफ्नै दुनियाँ बन्यो, प्रेमिकाको आफ्नै दुनियाँ बन्यो । उनीहरूले आ-आफ्नै संसार सुरु गरे । आ-आफ्नै अवस्थामा बाँच्न थाले ।

तर, पनि विगतमा सँगै डुलेको चोक, गल्ली, मन्दिरहरूको याद आइरहन्छ । कुनै ठाउँमा जाँदा सँगै बिताएको विगतलाई सम्झिन्छन् । र, अचानक एक दिन छुट्टिएको २०औं वर्षपछि एक खालको झरी पर्‍यो । त्यस्तै झरी उनीहरू सँगै हुँदा २० वर्षअघि पनि परेको थियो । यत्ति लामो वर्षपछि झरी मात्रै बर्सिएन, झरीसँगै यादहरू पनि बर्सिए । अहिले त दुवै विवाहित छन् ।

तर, केटाले गीतमा अनुमान गर्छ कि उसको ठाउँमा अहिले जुन झरी परिरहेको छ, त्यो झरी केटीको ठाउँमा पनि पर्‍यो होला । जसरी केटा रोएको छ, केटी पनि त्यसरी नै रोई होली । जसरी केटाले सम्झियो, केटीले पनि त्यसरी नै सम्झिई होली ।

यो गीत धमिलो हुँदै गएको अथवा आँसुले झण्डै बगाइसकेको विगतको सुमधुर सम्झना हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *