पारिश्रमिक विवादमा फिल्म ‘गाउँ आएको बाटो’ : सुटिङ बीचमै छाडेर छायांकार अमेरिका फर्किए – Nepal Press

पारिश्रमिक विवादमा फिल्म ‘गाउँ आएको बाटो’ : सुटिङ बीचमै छाडेर छायांकार अमेरिका फर्किए

काठमाडौं । नवीन सुब्बाको निर्देशनमा छायांकन भैरहेको फिल्म ‘गाउँ आएको बाटो’ पारिश्रमिक विवादमा तानिएको छ । विवादकै कारण छायांकार मार्सिन क्याप्रोन प्रोजेक्ट छाडेर अमेरिका फर्किएका छन् ।

क्याप्रोनले सुटिङको बीचमै हात झिकेपछि अर्का अमेरिकी सिनेम्याटोग्राफर जोस हेर्मनले प्रोजेक्ट ज्वाइन गरेका छन् । छायांकन पुरा नहुँदै क्याप्रोनले सम्झौताअनुसारको पुरै पारिश्रमिक मागेपछि विवाद सिर्जना भएको हो ।

२० हजार अमेरिकी डलर पारिश्रमिक दिने सर्तमा निर्माता र छायांकार क्याप्रोनबीच सम्झौता भएको थियो । तर, फिल्म छायांकन २५ प्रतिशत सकिने वित्तिकै क्याप्रोनले पारिश्रमिक मागेका थिए ।

सम्झौतामा प्रोजेक्टको थालनीमा कूल पारिश्रमिकको २५ प्रतिशत रकम (पाँच हजार डलर)मात्र उपलब्ध गराउने सहमति छ । निर्माताले सम्झौताअनुसार दिनुपर्ने कूल पारिश्रमिकमध्ये ६ हजार डलरमात्र उपलब्ध गराएको छ ।

प्रोजेक्ट छाडेर अमेरिका पुगिसकेका छायांकार क्याप्रोनले नेपाल प्रेसलाई पठाएको विवरणमा सम्झौताअनुसारको पारिश्रमिक नपाए कानूनी उपचारमा अघि बढ्ने र रिलिज रोकिदिने धम्की दिएका छन् । निर्माता र निर्देशकले ‘ढाँटेको’ आरोप उनको छ ।

साथै, १ लाख ४० हजार अमेरिकी डलर बराबरको छायांकन उपकरण आफ्नै खर्चमा न्यूयोर्कबाट नेपाल ल्याएपनि निर्माताले यी उपकरणको बीमा सुनिश्चित गर्न नसकेको आरोप पनि उनले लगाएका छन् ।

तर, निर्माता आमोद राईले छायांकार क्याप्रोनका कतिपय आरोपहरुलाई अस्वीकार गरे । ‘प्रोजेक्ट नै सम्पन्न नभैकन पुरै पारिश्रमिक मागेपछि समस्या आएको हो’ राईले नेपाल प्रेसलाई भने, ‘साथै, निर्देशकसँग उहाँको क्रिएटिभ मामिलामा मतभिन्नता आएकाले पनि समस्या भएको हो । हामीले सम्झौताअनुसार प्रोजेक्टको सुरुआतमा दिनुपर्ने भनिएको २५ प्रतिशत रकम उहाँलाई उपलब्ध गराएका छौं ।’

निर्माता राईले छायांकार क्याप्रोन कानूनी प्रक्रियामा अघि बढे आफूहरु पनि कानूनी लडाइमा जाने बताए ।

छायांकार क्याप्रोनले पठाएको विवरणमा निर्देशक सुब्बासँग सिर्जनात्मक मतभिन्नतालाई लिएर पनि विवाद देखिन्छ । यो आरोपलाई निर्माता राईले पनि स्वीकार गरे ।

दयाहाङ राई र पशुपति राईको मुख्य भूमिका रहेको फिल्म ‘गाउँ आएको बाटो’को ५० प्रतिशत छायांकन सकिएको छ । अहिले भोजपुरको बालंखामा फिल्म सुटिङ भैरहेको छ ।

नुमाफुङ र गुडबाइ काठमाण्डू फेम्ड निर्देशक नवीन सुब्बा यही फिल्ममार्फत कमब्याक गर्ने तयारीमा छन् । मेन्छेम पिक्चर्सले यो सोसल ड्रामा फिल्मको निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *