पर्यटनमन्त्री प्रेम आलेलाई लिएर ‘क्वाइन’ भैरहेको बलिउड फिल्म ‘नायक’ के हो ? – Nepal Press

पर्यटनमन्त्री प्रेम आलेलाई लिएर ‘क्वाइन’ भैरहेको बलिउड फिल्म ‘नायक’ के हो ?

समीक्षक भन्छन् : जनताले वास्तविक नायक खोजिरहेका छन्

काठमाडौं । आफ्नो प्रधानमन्त्रीत्व कालमा बाबुराम भट्टराई काठमाडौं उपत्यकाको साँघुरो सडकलाई फराकिलो बनाउन सक्रिय भए । उनको यो सक्रियतालाई धेरैले सन् २००१ मा रिलिज भएको बलिउड फिल्म ‘नायक : द रियल हिरो’को मुख्यपात्र शिवाजी रावसँग तुलना गरे ।

पर्यटनमन्त्री प्रेम आले अहिले नारायणहिटी दरबार संग्रहालय परिसरमा बन्दै गरेको क्याफेटेरिया निर्माण स्थगन गरेर पुनः चर्चामा छन् । पशुपति धर्मशालादेखि गुह्येश्वरी मन्दिरमा समेत आलेले सक्रियता देखाएका छन् ।

मन्त्री आलेको यो सक्रियतालाई पनि सामाजिक संजालमा धेरैले बलिउड फिल्म ‘नायक’सँगै तुलना गरिरहेका छन् । इन्टरनेट संजालमा आलेलाई फिल्मका नायक अनिल कपुरसँग दाँजेको पनि पाइन्छ ।

काठमाडौंको राजनीति उथलपुथल हुँदा बारम्बार चर्चामा आउने भारतीय फिल्म ‘नायक ः द रियल हिरो’ खासमा के हो ? राजनीतिक घटनाक्रमसँग यो फिल्मको सम्बन्ध के छ ? पछिल्लो छिमलका दर्शकले यसबारे बुझ्नु महत्वपूर्ण हुन आउँछ ।

एकदिनको मुख्यमन्त्री

एस शंकर निर्देशित हिन्दी भाषाको उक्त फिल्मलाई पल्टिकल ड्रामा जानरामा राख्न सकिन्छ । अनिल कपुर, रानी मुखर्जी, अमरिस पुरी, परेश रावल, जोनी लिवर मुख्य भूमिकामा छन् । यो फिल्म सन् १९९९ को तामिल फिल्म मुधावनको रिमेकसमेत हो ।

यो फिल्म शिवाजी रावको भूमिकामा देखिएका अनिल कपुरकै वरपर फन्को मार्छ । टेलिभिजन क्यामेराम्यान र प्रस्तोता हुँदै ऊ कसरी एकदिनको लागि मुख्यमन्त्री बन्छ र चुनौतिलाई स्वीकार्छ भन्ने कथावस्तु यसमा छ ।

उक्त पात्रले एकदिन कलेजका विद्यार्थी र बस ड्राइभरबीचको झडपको घटनालाई लिएर महाराष्ट्रको मुख्यमन्त्री बलराज चौहान (अमरिस पुरी) प्रहरीसँगको संवाद सुनेर रेकर्ड समेत गर्छ । उक्त रेकर्ड टिभीमा प्रसारण भएपछि चौहानले रावलाई मुख्मन्त्री बनेर काम गर्न चुनौति दिन्छ । चौहानको उक्त चुनौतिलाई शिवाजी रावले स्वीकार गर्छ ।

एकदिनको मुख्यमन्त्री बनेको अवसर पाएको शिवाजी रावले दिनको सुरुआत जनताको दैनिकीबाट थाल्छ । उसले खाँचो परेकालाई उपयुक्त आवास र रोजगारीको प्रबन्ध पनि गर्छ । असक्षम र भ्रष्ट सरकारी कर्मचारीलाई निलम्बन गर्छ । दिनको अन्तिम कार्यको रुपमा उसले भ्रष्टाचारको मूल कारण बताउँदै चौहानलाई पक्राउ गर्छ ।

फिल्ममा कपुरको अभिनयलाई समीक्षकले रुचाएका थिए । तर, अधिकांश समीक्षकले चाहिँ फिल्मलाई मिश्रित प्रतिक्रिया दिएका छन् । यद्यपी, फिल्मै सहि, भद्रगोल राजनीतिमा मुलुकले खोजिरहेको नायक दिलाएको भन्दै फिल्मको प्रशंसा समेत भएको छ ।

देशले नायक खोजिरहेको छ

नेपाली फिल्म समीक्षक मनोज पण्डित नेपाली राजनीतिमा पटक–पटक बलिउड फिल्म ‘नायक’को चर्चा हुनुलाई देशले असल नायक खोजिरहेकोरुपमा ब्याख्या गर्छन् । ‘अहिले देशलाई चाहिएको नायक हो । राजनीतिमार्फत जनताले त्यो नायक नपाएपछि फिल्ममार्फत भएपनि पाएका छन् र त्यसमा उनीहरुले आफ्ना नेताको छवि खोज्नु स्वभाविकै हो’ पण्डितले नेपाल प्रेससँग भने, ‘देशले खोजिरहेको नायकको स्वरुप फिल्ममा हेर्नुलाई मैले स्वभाविकरुपमा लिएको छु ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *