मलाई दोस्रो भारतीय भाषाको सिनेमाको अफर मिलिरहेको छैन : अल्लु अर्जुन – Nepal Press

मलाई दोस्रो भारतीय भाषाको सिनेमाको अफर मिलिरहेको छैन : अल्लु अर्जुन

काठमाडौं । साउथ अभिनेता अल्लु अर्जुनको भर्खरै प्रदर्शन भएको सिनेमा ‘पुष्पा’ले धमकेदार कमाइ गर्‍योे । ‘केजीएफ’, ‘बाहुबली’ जस्ता साउथ सिनेमाले मूलधार भनिएका स्वयं बलिउडलाई नै चुनौती थपिदिएको छ र पछिल्लो चुनौती बनेर आएका छन्, अल्लु अर्जुन ! अल्लुले सानैदेखि अभिनय यात्रा सुरु गरेका थिए भने ‘गोपी’बाट मुख्य अभिनेताको रुपमा डेब्यु गरेका थिए ।

यसैबीच भारतीय पत्रिका अमर उजालाका सल्लाहकार सम्पादक पंकज शुक्लले अल्लुसँग भारतीय सिनेमाको बदलिइरहेको परिदृश्य, हिन्दी सिनेमामा उनको कदम र प्रदर्शनको तयारीमा रहेका उनका सिनेमाबारे गरेको कुराकानीलाई हामीले भावानुवाद गरेका छौं ।

‘पुष्पा’ले त्यस्तो सफलतता प्राप्त गर्‍यो, जो तपाईं चाहनुहुन्थ्यो । शानदार कमाइ गर्‍यो, अन्य भाषामा डबिङ भएर पनि धमाका मच्यायो । मलाई लाग्छ, यो तपाईंका लागि एकदमै खुसीको पल हो ।

हाे, यो सिनेमा मेरा लागि करियरकै शानदार सिनेमा रह्यो । मेरो जीवनमा एकै लक्ष्य छ, त्यो हो धेरैभन्दा धेरै दर्शकलाई मनोरञ्जन प्रदान गरुँ । मेरा दर्शकको विस्तार जति धेरै हुन्छ, मलाई त्यति नै आनन्द हुने नै भयो र एक कलाकारको हैसियतमा सबै यही नै चाहन्छन् ।

‘पुष्पा पार्ट १’ हिन्दी भाषामा रिलिज भएको पहिलो सिनेमा हो । तपाईंका ‘सन अफ सत्यमूर्ति’ तथा ‘डिजे’जस्ता सिनेमाहरुले नै दर्शकको ध्यान खिचिसकेका थिए । तपाईंका सिनेमाहरुले युट्युब र टिभी च्यानलहरुमा हंगामा मच्याउन सुरु गरिसकेका थिए । सायद, पुष्पाको सफलताको कथा यही लोकप्रियतामा छुपेको थियो कि !

पक्कै पनि । मलाई पनि लाग्थ्यो कि यति धेरै मान्छेले मलाई युट्युब र स्याटेलाइट च्यानलमा हेरिरहेका छन् । मान्छेहरु पनि मलाई सोध्थे, तपाईंका सिनेमा हिन्दी सिनेमाघरमा किन प्रदर्शन हुँदैनन् ? यही कारण हामीले पुष्पालाई हिन्दी सिनेमाघरमा प्रदर्शन गर्‍यौं ।

यो सिनेमा नै हिन्दीमा ल्याउनुका कारण चाहिँ के थियो ?

मेरो अनुमानमा यस सिनेमामा धेरै मान्छेहरुलाई आकर्षित गर्ने लक्षणहरु छन् । यसलाई बनाउने तरीका बहुत गज्जब र शैली पनि विश्वव्यापी छ । ‘अला बैकुण्ठपुरमुलू’ तेलगु केन्द्रित सिनेमा हो । पुष्पालाई पनि तेलेगु केन्द्रित सिनेमाकै शैलीमा बनाइएको छ, तर हरेक क्षेत्रको मान्छेलाई मनपर्न सकोस् भनेर बनाइएको छ ।

‘पुष्पा’ले तपाईंको ‘अला बैकुण्ठपुरमुलू’को कमाइको रेकर्ड तोडिसकेको छ । तर, ‘अला बैकुण्ठपुरमुलू’को पनि रिमेक हिन्दीमा आउँदै छ नि ?

यो त राम्रो कुरा हो । मलाई सधैं लाग्छ, हाम्रा कामहरु अघिल्लोभन्दा पछिल्लो झनै गज्जबको हुनुपर्छ । कुनै सिनेमाको रिमेक हुनु ओरिजिनल सिनेमाको कलाकारलाई मिलेको साँचो प्रशंसा हो ।

यश, प्रभास र अब अल्लु अर्जुन । तपाईंहरु आफ्नो सिनेमालाई हिन्दी मुल भाषाको साथमा हिन्दीमा डब गरेर पनि प्रदर्शन गर्न थाल्नुभएको छ । यसको मतलव दक्षिण भारतीय कलाकारलाई पूरै संसारभरका दर्शकलाई खुसी राख्ने नयाँ चुनौती थपिएको हो अहिले ?

म त यसलाई ठूलो अवसरको रुपमा देख्छु । दर्शकहरु हाम्रो सिनेमालाई हात फैलाएर स्वागत गरिरहेका छन् । दर्शकहरु भाषा, क्षेत्र भुलेर हरेक भाषाको सिनेमा हेरिरहेका छन्, यो सिनेमाका लागि स्वर्णिम समय हो । ओटीटीले पनि प्रमाणित गरेको छ कि राम्रो कथा जुनसुकै भाषाको होस्, दर्शकहरुले यसलाई हेर्नेछन्, बुझ्नेछन् ।

तपाईं हिरोको रुपमा पर्दामा देखिएको २० वर्ष हुँदैछ । अहिले हिन्दी भाषाको दर्शकका लागि पनि पर्दामा उत्रिनुभयो । के यो आवश्यक थियो ?

पुष्पालाई दोस्रो भाषाहरुमा प्रदर्शन गर्ने प्रेरणा हामीलाई टिभीको टिआरपी आँकडाबाट मिलेको हो । युट्युबमा रेकर्ड बनेको देखेर मिलेको हो । ‘अला बैकुण्ठपुरमुलू’ सबैभन्दा बढी हेरिने सिनेमाको रेकर्ड बनिसकेको छ, त्यो पनि दुई–दुई पटक । मलाई लाग्यो कि दर्शकहरु मलाई हेर्न चाहन्छन्, त्यसका लागि सिनेमालाई राम्रोसँग प्रदर्शन गर्नुपर्छ । मलाई विस्वास थियो, दर्शक मलाई हेर्न हलमा जरुर आउनेछन् र यो विश्वास सत्यमा परिणत पनि भयो ।

‘पुष्पा’को टिकट ब्ल्याकमा पनि बिक्री भए । ब्ल्याकमा टिकेट बिक्री हुनु चलचित्र उद्योगका लागि कस्तो लक्षण हो ?

हलमा दर्शकको संख्या राम्रो देखियो भने बाँकी दर्शकमा पनि हौसला बढ्छ । यस्तो अवस्थाले हिन्दी सिनेमा प्रदर्शन गर्ने निर्माता, वितरकमा भरोसा बढाउँछ कि मान्छेहरु स्याटेलाइटमा मात्रै सिनेमा हेर्न जाँदैनन्, हलमा पनि जान्छन् । यसलाई ‘पुष्पा’ले प्रमाणित पनि गरिदियो ।

तपाईंलाई विदेशी सिनेमामा प्रस्ताव आएको छ ?

मलाई मान्छेहरुले दोस्रो भारतीय सिनेमामा त प्रस्ताव गरिरहेका छैनन्, तपाईं बाहिरको कुरा गर्नुहुन्छ ।

२०२१ ‘पुष्पाा’सँगै सकियो । २०२२ को सुरुवात मा ‘आरआरआर’ र ‘राधेश्याम’ बाट हुँदै थियो, तर भएन । यी सिनेमा पनि हिन्दी सिनेमा होइनन्, तर हिन्दी भाषामा प्रदर्शन हुँदैछन् । यसको संकेत के हो ?

यसको संकेत यही हो कि अब भाषा कुनै ठूलो बाधा होइन । पहिला उत्तर भारतमा दक्षिण भारतका सिनेमा चल्दैन थियो । दक्षिणमा हिन्दी सिनेमा चल्दैन थियो । तर, अब यो सीमा सकिएको छ ।

पुष्पा पार्ट दुई यही वर्ष प्रदर्शन भएर यसपछि ‘एए २१’ प्रदर्शन हुने हो ?

होइन, अहिले त म पुष्पाको पार्ट दुईमाथि मात्रै ध्यान केन्द्रित गरिरहेको छु । यो प्रोजेक्टको काम पूरा भएपछि अन्य विकल्पबारे सोच्न सुरु गर्नेछु ।

हिन्दी सिनेमामा डेब्यु गर्ने विषयमा के सोच्नुभएको छ ?

वास्तवमा मैले हिन्दी सिनेमाका लागि ढोला खुल्लै राखेको छु । कोही हिन्दी सिनेमाका लागि शानदार प्रस्ताव लिएर आएमा काम गर्न तयार छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *