राजेश हमालको ‘जंगबहादुर’ अवतार : ‘वसन्ती’ रिलिजको २० वर्षपछि राणा प्रधानमन्त्रीको गेटअपमा – Nepal Press

राजेश हमालको ‘जंगबहादुर’ अवतार : ‘वसन्ती’ रिलिजको २० वर्षपछि राणा प्रधानमन्त्रीको गेटअपमा

काठमाडौं । दुई दशकअघि रिलिज भएको फिल्म ‘वसन्ती’मा राजेश हमाल गगनसिंह भूमिकामा थिए । डायमण्ड शमशेरले लेखेको पुस्तकमा आधारित उक्त फिल्मको मुख्य पात्र गगनलाई जंगबहादुर राणाबाट प्रभावित चरित्र पनि भनिन्छ ।

वसन्तीमा गगनसिंह बनेका हमालको चरित्रलाई खुबै रुचाइयो । नीर शाह निर्देशित यो बायोपिक फिल्मले समीक्षा र पैसा रामै कमायो । वसन्ती रिलिजको दुई दशकपछि म्युजिक भिडिओमै सहि, हमाल दुरुस्तै चरित्रमा फर्किएका छन् ।

सुटिङ हुन लागेको एक म्युजिक भिडिओमा हमालले राणाकालिन प्रधानमन्त्रीको झल्को दिने चरित्र निर्वाह गर्दैछन् । शनिबार बिहान इन्स्टाग्राम र फेसबुकमार्फत फस्टलुक सार्वजनिक गर्दै उनले दर्शकमाझ चाँडै आउने जनाएका छन् ।

‘म्युजिक भिडिओका लागि उहाँको गेटअप तयार भएको हो । राणाकालिन प्रधानमन्त्रीलाई विम्वपरक ढंगले प्रस्तुत गर्न लागेका हौं’ हमालका सहयोगी रोशन हमालले नेपाल प्रेसलाई भने, ‘यो भिडिओले तत्कालिन राणा प्रधानमन्त्रीको जीवनशैली र दृष्टिकोणलाई पेश गर्नेछ ।’

तर, ठ्याक्कै जंगबहादुर राणा भनेर गेटअप तयार नपारिएपनि जंगबहादुरकै गेटअपमा हमाललाई देख्न पाइनेछ । ‘वसन्ती हेरेका दर्शकले यो भिडिओमा हमाललाई त्यतिबेलाकै रुपमा महसुस गर्न पाउनुहुनेछ’ रोशनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *