प्रधानमन्त्री कपको उपाधिका लागि आज पुलिस र एपीएफ भिड्दै
काठमाडौं । पहिलो पटक ट्वान्टी-२० फर्म्याटमा आयोजना भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । विभागीय टोलीहरु नेपाल पुलिस र नेपाल एपीएफ क्लबबीचकाे खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
राष्ट्रिय तथा युवा खेलाडी सम्मिलित दुबै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । सेमिफाइनलमा पुलिसले वागमती प्रदेश र एपीएफले अर्को विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मीलाई पराजित गरेको थियो ।
१० टोली सहभागी प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा नेपाल क्रिकेट संघ (क्यान)ले यस प्रतियोगिता एकदिवसीय फर्म्याटमा आयोजना गर्दै आएको थियो ।
तर, आगामी महिना ओमानमा हुने ट्वान्टी-२० विश्वकपको ग्लोबल छनोटमा नेपालले सहभागिता जनाउने भएपछि त्यसैको तयारीस्वरुप यस प्रतियोगिता ट्वान्टी-२० फर्म्याटमा आयोजना गरिएको हो ।